विदेशबाट आउनेहरु होम क्वारेन्टाइनमा बस्न पाउने

सरकारले विदेशबाट आउनेहरू होम क्वारेन्टाइनमा बस्न चाहे त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिएको छ।

सोमबार कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले मापदण्डअनुसार होम क्वारेन्टाइनमा बस्न चाहनेलाई सहयोग गर्न निर्देशन दिएको हो। 

‘होटलमा भन्दा कोही व्यक्तिले घरमै क्वारेन्टाइन बस्दा सुरक्षित ठानेमा त्यसका लागि समेत अनुमति दिने तयारी भएको छ,’प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले भने,‘त्यसका लागि स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाउँछ।’

उनले घरमै व्यवस्थित तरिकाले बस्न सक्ने व्यक्तिलाई सुरक्षा निकाय र स्थानीय तहको निगरानी गर्ने समेत जानकारी दिए। 

यस्तै उनले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आए र होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको पनि जानकारी दिए। हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने गुरागाइँले बताए। 

त्यस्तै, सिसिएमसीले विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई भनेको छ।

‘धेरै भीड नहुनेगरी भाषा परीक्षा दिने व्यवस्था मिलाउनका लागि शिक्षा मन्त्रालयलाई भनिएको छ,’ सचिव गुरागाईंले भने,‘टोफेल आइएलटिएसको परीक्षा गर्नका लागि निर्देशिका तयार पार्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ।’

यता सीसीएमसीले क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ।

यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ। 

यस्तै आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न सीसीएमसीले मन्त्रिपरिषदलाई सिफारिस गर्ने भएको छ। 

प्रकाशित मिति: : 2020-06-29 18:12:17

प्रतिकृया दिनुहोस्