पाकिस्तानद्धारा भारतको जासुसी ड्रोन झारेको दावी

बिएल संवाददाता

इस्लामावाद

पाकिस्तानी सेनाले हालै भारतीय एक जासुस ड्रोनलाई सीमा नजिकै झारेको दावी गरेको छ। 

पाकिस्तानी सेनाका मेजर जर्नेल बाबर इख्तियारले आइतबार यसको पुष्टी गर्दै एलओसी (लाइन अफ कन्ट्रोल) मा भारतीय जासुस ‘क्वाडकोप्टर’ लाई गिराएको बताएका छन्। 

उनले ट्वीट गर्दै एलओसीदेखि ८ सय ५० मिटर भित्र प्रवेश गरेको भारतीय ड्रोनलाई झारेको बताए। ‘यो वर्ष पाकिस्तानी सेनाले भारतको नवौं क्वाडकोप्टर झारेको छ,’ उनले भनेका छन्। 

पाकिस्तानले भारतमाथि सीमा नजिक उत्तेजना फैलाएको र शान्ति सम्झौंताको मर्म विपरित जासुसी ड्रोन आफ्नो सीमा रेखाभित्र प्रवेश गराउन खोजेको आरोप लगाएको छ। 

पाकिस्तानी सेनाले आजाद काश्मिरको सीमा रेखामा ड्रोन झारेको दावी गरेको हो। भारत–चीनबीच सीमा विवाद चुलिएको बेला यो घटना दोहरिन थालेपछि पाकिस्तानले पनि सीमा रेखामा सुरक्षा व्यवस्था बाक्लो पारेको बताएको छ।

जुन १५ मा लद्दाखको गलवान उपत्यकामा चीन र भारतबीच झड्प हुँदा २० भारतीय सेनाको ज्यान गएको थियो। 

भारत र पाकिस्तानबीच काश्मिरको विवादलाई लिएर पछिल्लो समय अगस्टदेखि तनावको स्थिति छ। 

भारतले मुस्लिम बाहुल्य भएको काश्मिरमा ३ सय ७० को प्रावधानलाई हटाएर केन्द्र शाषित राज्य बनाएपछि पाकिस्तानले चर्को विरोध गर्दै आइरहेको छ।
 

प्रकाशित मिति: : 2020-06-29 15:37:48

प्रतिकृया दिनुहोस्