‘शत्रु देशले सृजना गरेको आर्थिक दबाब र महामारीका कारण इरान खराब स्थितिबाट गुज्रिरहेको छ’

ईरानका राष्ट्रपति हसन रुहानीले इरानले अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

आइतबार टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति रौहानीले कोभिड–१९ को महामारी र अमेरिकाले लगाएको कडा प्रतिबन्धका कारण ईरान निकै खराब स्थितिबाट गुज्रिरहेको बताएका हुन्।

उनले भने, ‘कोरोना महामारीका कारण अर्थव्यवस्थामा निकै ठूलो चुनौती देखा परेको छ। त्यसमाथि शत्रु देशले सृजना गरेको आर्थिक दबाबका कारण यो वर्ष इरानका लागि सबैभन्दा कठिन स्थितिबाट गुज्रिरहेको छ।’

ईरान चीनपछि र युरोपभन्दा पहिले कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको छ।

 ईरानी स्वास्थ्य विभागकी प्रवक्ता सिमा सादतकाअनुसार अहिले त्यहाँ २ लाख २२ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० औं हजार जनाको संक्रमणका कारण मृत्यु भएको छ। 

राष्ट्रपति रौहानीले भीडभाड भएका स्थान र रेड जोनहरुमा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सन् २०१८ मा अमेरिका र इरानबीचको आणविक सम्झौता भङ्ग भएको थियो। त्यसलगत्तै अमेरिकाले ईरानमाथि प्रतिबन्ध लगाएको थियो।

अमेरिकाले अहिले पनि प्रतिबन्धलाई निरन्तरता दिँदै आएको छ। उनले इरानका लागि सन् २०१८ बाट बढेको आर्थिक दबाब अहिले आएर झन् बढेको बताए।

प्रकाशित मिति: : 2020-06-29 06:13:18

प्रतिकृया दिनुहोस्