कपन खरिबोट नजिकैको सडक पेटीमा धुँवाको मुस्लो उडेको टाढैबाट देखिन्छ। दिउँसो ३ बजे त्यहाँ पुग्दा ४० वर्षीय पार्वती काफ्लेले प्लास्टिकको बोराबाट हरियो मकै निकालेर पोल्ने तयारी गर्दैथिइन्।
केहीबेर अघिको वर्षाले भिजेका दाउरा राम्रोसँग नबलेपछि फलामको पाताले हम्किँदै र मुखले फुक्दैछिन् उनी। जब आगो राम्रोसँग बल्न थाल्यो अनि चुल्हो वरपर मकैका घोगा सेकाएपछि बल्ल बोल्ने फुर्सद मिल्यो पार्वती काफ्लेलाई।
पेटीमा बसेर मकै पोल्न थालेपछि चर्को घाम र आगोको रापले अनुहारभरि खलखली पसिना बगेको उनलाई प्रवाह छैन। पोलेको मकै खान आउने ग्राहकको ‘अर्डर’ अनुसार छानेर मकै पोलिदिन थालिन्।
बिहान सबेरै चावहिल पुगेर मकै ल्याउने, दिनभर सडक पेटीमा बसेर ठेलामा मकै पोल्ने र साँझ ठेला धकेल्दै कोठा फर्कने उनको दैनिकी हो।
आजभोलि उनी दिउँसोको २ बजेपछि मात्रै गाडामा मकै पोलेर बेच्ने गरेकी छन्। 'मान्छे नै नआएपछि छिट्टै आएर पनि के गर्नू?,' उनले भनिन्’, हिजो आज सडकमा मान्छे पनि त्यति आउँदैनन् त्यसैले दिउँसो आउँछु।’
विगत ५ महिनादेखि मकै पोल्दै आएकी पार्वतीको अचेल कमाई घटेको छ। विगतका दिनहरुमा मकै बेचेर नै तिरिरहेको ५ हजार कोठा भाडा अहिले तिर्न सकस परिरहेको उनले गुनासो गरिन्।
लकडाउन अगाडि मिहेनत गरेअनुसार उनले आम्दानी पनि राम्रै गरिरहेकी थिइन्। राम्रो व्यापार भए खर्च कटाएर दिनमा ७ सयदेखि हजार रुपैँयासम्म आम्दानी हुने गरेको उनले विगत सम्झिइन्। तर अहिले मुश्किलले ४ सय हुने बताइन्।
‘सरकारले कोरोना भाइरसबाट बच्न गरेको लकडाउनले म माथि भारी पर्यो,' उनले भनिन्, ‘पहिले दिनमै १०० केजीसम्म मकै बेच्थेँ अहिले त ५० केजी ल्याए पनि ३/४ दिनसम्म पुग्छ।’
‘कसैको चोर्न र अरुलाई ठग्न पो हुँदैन त, दुःख गरेर खान जे काम गर्दा पनि हुन्छ नि’, आफ्नो कामप्रति गर्व गर्दै उनले भनिन्, ‘गरेर खानेलाई धेरै छ, नगर्नेलाई केही छैन। तर लकडाउनले बर्बाद पार्यो’
अरूले जस्तो धेरै फाइदा राखेर उनी मकै बेच्दिनन्। घोगाको १५ रूपैयाँमा किनेर उनले २० रूपैयाँमा बेच्ने गरेकी छन्। 'हरियो काँचो मकै २० रूपैयामा बेच्ने गरेकी छु। तर पोलेको मकै भने २५ रुपैयाले बेच्ने गर्छु,' उनले भनिन्। 'अरु मकै बेच्नेले एउटा पोलेको मकैको ३० रुपैया लिने गर्छन्। तर मलाई बढी फाइदा राख्न मन लाग्दैन। आफूले गरेको लगानी उठे पुग्छ,' उनले भनिन्।
मकै पोलेर बेच्ने काम हेर्दा सामान्यझैँ लागे पनि वास्तविकता मुश्किल रहेको उनले बताइन्। 'चर्को घाम र पानी नभनी मकै पोल्नुपर्छ। त्यसैमाथि दाउरा छुट्टै किन्नुपर्छ, बर्खामा भिजेका दाउरा पनि महंगोमा किन्नुपर्ने हुन्छ।' मकै पोल्न उनी २० रूपैयाका केजीका दरले दाउरा ल्याउने गरेको बताइन्।
यही व्यवसायबाट उनले दुई छोराछोरीलाई हुर्काइरेकी छन्। ‘पछिल्लो समय ब्यापार छैन, घर भाडा तिर्नै मुस्किल भइरहेको छ, छोराछोरीलाई कसरी पढाउने चिन्ता थपिएको छ’, उनले भनिन्।
‘यो समयमा राम्रै जागिर खानेले त काम छोड्नु परिरहेको छ। काम पाउने ठाउँ कहिँकतै छैन। मकै बेचेर जति आउँछ। त्यतिले नै टार्नुपर्छ। मुश्किल छ,' उनले भनिन्।
श्रीमान मुक्तिनाथ काफ्ले २ वर्ष अगाडि रोजगारिका लागि साउदी गएका थिए। सुरुमै राम्रै कमाइ भए पनि श्रीमानको पनि अहिले काम नभएको गुनासो गरिन्।
'अहिले श्रीमानको पनि कमाई छैन्। उहाँले काम गर्ने क्यान्टिन नै बन्द भएको छ रे। खान र बस्न कम्पनीले नै दिए पनि नियमित तलब रोकिएको छ’, उनले सुनाइन्।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले थला परेको व्यवसाय चाडै खुल्नेमा उनी आशावादी छिन्।
ठूलो आम्दानी नभए पनि मेहनतअनुसारको फल पाउँदा खुसी लाग्ने गरेको उनको भनाइ छ।
चर्को गर्मी होस् वा बादल गर्जेर वर्षा भइरहेको अवस्था होस्। काम नगरी जीवन गुजारा गर्न गाह्रो छ, उनलाई। ‘खुला आकाशमुनि मकै पोलेर जीवन कटाउनु कम्ती त गाह्रो छैन,’ उनले भनिन्। टन्टलापुर घाममा पनि आगोको रापमा, पुस माघको कठ्याङ्ग्रिने जाडोमा पनि मकै पोलेर जीवन धान्दै आइरहेकी छन्। आधा उमेर गए पनि भर्खर युवाजस्तै कर्मप्रतिको उनको लगाव र जाँगर भने उस्तै छ।
समय फेरियो तर, ठाउँ फेरिएन। मकै खाने मान्छे कति फेरिए उनलाई थाहा छैन। तर पनि उनीहरुले मकै पोल्ने ठाउँ फेरेका छैनन्। मकै पोलेर कमाएको पैसाले घर चलाउँदै आएकी छन्। मकै पोल्न तगारीमा सल्किँदै गरेको अगुल्टोको आगो ठोस्दै उनी भन्छन्, ‘हाम्रो जीवन हरियो मकैले धानेको छ। लकडाउनले थप समस्या पारेको छ।’