कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तीन वर्षमा कृषि क्षेत्रलाई सुधार गर्ने योजना अनुसार मन्त्रालय अघि बढेको बताएका छन्।
शनिबार १७ औं राष्ट्रिय धान दिवसको अवसरमा एसोसिएसन अफ नेपाली एग्र्रिकल्चरल जर्नालिष्ट (अनाज) ले आयोजना गरेको ‘कोभिड-१९ कृषिमा संभावना र चुनौती’ विषयक अन्तरक्रियामा मन्त्री भुसालले विगत ४० वर्षदेखि बिग्रिएको नेपालको कृषि क्षेत्रलाई आगामी तीन वर्षभित्र सुधार गर्नु चुनौतीपूर्ण भए पनि मन्त्रालय लागि परेको बताएका हुन्।
‘पछिल्लो ३०/४० वर्ष बिग्रिएको कृषिलाई तीन वर्षमा सपार्न खोजिएको छ’, मन्त्री भुसालले भने, ‘नयाँ कृषि व्यवस्थामार्फत कृषि क्षेत्रको सुधारका लागि मन्त्रालय लागिपरेको छ।’
तर मन्त्री भुसालले मन्त्रालयको पहलमा कृषि क्षेत्रको सुधारका लागि प्रदेश, स्थानीय तह, समुदाय, सहकारीलगायत सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको पनि बताए।
कृषिलाई बजारको जिम्मा छोडिदिने विगतको प्रवृत्ति कृषि क्षेत्रको विकासमा बाधक बनेको उनको भनाइ छ। यस्तै उनले कोरोना महामारीका कारण अन्य क्षेत्र धरासायी भएपनि कृषि क्षेत्र निरन्तर चलायमान रहेकै कारण खाद्यन्न अभावको अवस्था भोग्नु नपरेको बताए।