डाइरेक्टर

विगत १० वर्षको अवधिमा योगेश र मैले यो अस्ट्रेलियामा कति दुःख खेप्यौं र कति हण्डर खायौं भन्ने कुराको कुनै लेखाजोखा छैन। हुन त विदेशको ठाउँ सोचे जस्तो कहाँ हुन्छ र? न सुत्ने ठेगान, न खाने। यति हुँदाहुँदै पनि दिनरात नभनी काम गरेँ, कमर्सियल कुकरी पढेँ र पीआर लिएँ। योगेश मेरो डिपेन्डेन्टमा मसँग विवाह गरेर सिड्नी आएको थियो। उसको र मेरो सँगै पीआर भयो।

सिड्नीको वर्षैपिच्छे परिवर्तन भईरहने नियमले कतै मेरो पीआर नहुने पो हो कि भन्ने डर लागेको थियो। तर मैले काम गर्ने एउटा रेस्टुरेन्टले मलाई स्पोन्सर गरेर सजिलै पीआर भयो। पीआर भईसकेपछि योगेशले आईटी कम्पनीमा काम सुरु गर्‍यो। मैले सिड्नीको पिटरसम भन्ने ठाउँको एउटा नाम चलेको क्याफेमा मेनेजरको रूपमा काम सुरू गरेँ। सबै कुरा राम्रै हुँदै गयो। योगेश मेरो सबैभन्दा बलियो साहरा बन्यो।

योगेश मेरो बुवाको साथीको छोरा। पहिल्यैदेखि हाम्रो चिनजान थियो। हामी एकअर्काको घरमा जाने आउने गर्थ्यौं। त्यसैले पनि होला योगेश र मेरो परिवारको ईच्छा थियो कि, हामी विवाह गरौं। मेरो बाल्यकालको साथी श्रीमानमा परिवर्तन भयो। विवाह गर्ने बेला मैले भखैर १२ कक्षा सकेर बसेकी थिएँ। खासै विदेश आउने मन त थिएन। तर योगेश र उसको परिवारको ईच्छा पूरा गर्न पनि मैले एप्लाई गरेँ। अन्तत विवाह भएको एक वर्षमा हामी सिड्नी आईपुग्यौं। नेपालमा पनि होटल म्यानेज्मेन्ट लिएर पढेकाले मलाई यहाँ पनि कुकरी नै पढ्ने ईच्छा जाग्यो।

योगेश र मेरो दुबैजनाको विकेण्ड अफ हुन्थ्यो। एक दिन शनिबार बसेर सँगै खाना खाँदै थियौं। योगेशलाई नेपालबाट फोन आयो। योगेशको आमाको फोन रहेछ। ‘बाबु अपेक्षासँग कुरा भयो त? अब आफ्नो बारेमा नि सोच्नुपर्छ, मर्ने बेलामा त नातिको मुख हेर्न पाउनुपर्‍यो नि मैले,’ योगेशको आमाले फोनबाट भनेको कुरा प्रस्टसँग मेरो कानमा पर्‍यो। खाना खाँदै गर्दा मलाई विष खाएँ झैं भयो। न निल्न सकेँ न ओकेल्न। विवाह भएपछि एउटा बच्चा जन्माउने ईच्छा मेरो पनि थियो नि। तर कति चेकअप गर्दा पनि बच्चा हुन नसकेपछि योगेश र मैले यो ईच्छा यतिकै मारेका थियौं। योगेश मलाई सधैं साहनुभूति दिन्थ्यो ‘हाम्रो बच्चा नभए पनि के भो त हामी कुनै बच्चा एडप्ट गरौंला। नभए पनि तिम्रो म र मेरो तिमी त छौ नि।’ उसको यही कुराले त मैले बाँच्ने आधार पाएकी थिएँ। तर आज योगेशको आमा र उसको फोनमा र्वातालापले मेरो मन छिया छिया भएको छ।

परिवारले जे सुकै गरे पनि योगेशले त मलाई साथ देला जस्तो लागेको थियो तर उसको त योजना नै अर्कै रहेछ। योगेशको कारणले पहिलो पटक मलाई सबै केटा मान्छेप्रति वितृष्णा जाग्यो। योगेश आमासँग कुरा गरेर आयो। थालको खाना सेलाईसकेको थियो। केही थाहा नपाए जस्तो गरेर आँशु पुछेँ र मन नलागी नलागी योगेशसँग गफ गर्दै मुखमा गाँस हालेँ।

आमासँग जे जस्तो कुरा भए पनि योगेशको बानीमा कुनै परिवर्तन थिएन। ऊ जसरी पहिला मसँग बोल्थ्यो त्यसरी नै बोलिरहेको थियो। एक दिन बिहान मर्निङ वाक गर्न जान्छु भनेर योगेश तयार हुँदै थियो। ठ्याक्कै उसको मोबाईलमा म्यासेज आयो। ‘बेबी छिटो आउ है, म पर्खिरहेको छु,’ योगेशको मोबाईलमा देखेको त्यो म्यासेजले मलाई रिंगटा लाग्न थाल्यो। बिना कारण कुनै केटीले कुनै केटालाई बेबी किन भन्थी र? फेरि म्सासेज अपेक्षा भन्नेकै नामबाट आएको थियो जसको बारेमा केही दिन अगाडि योगेश र उसको आमाको कुरा भएको थियो। योगेश बाथरूमबाट निस्किनु अगाडि मैले उसको मोबाईल जहाँ थियो त्यही राखिदिएँ। मेरो मानसपटलमा मैले कहिले नदेखेकी अपेक्षा नामको केटी घुमिरही। योगेश मलाई हग गरेर काममा गयो। सबैभन्दा बितृष्णा ऊ प्रति जाग्यो जो घरमा श्रीमती हुँदाहुँदै पनि बाहिर केटीसँग अफेयरमा छ तै पनि केही नभए जस्तो गरेर मसँग प्रेमको नाटक गरिरहेको छ।

सिड्नी आएदेखि योगेश र मेरो बैंक अकाउन्ट पनि एउटै थियो। एक दिन काम सकेर घर फर्कर्दै थिएँ। बैंकबाट ३ हजार डलर झिकेको म्यासेज आयो। मैले त कुनै पैसा झिकेको थिईनँ पक्कै योगेशले झिकेको होला। तर यत्रो पैसा उसले किन झिक्यो त्यो पनि मलाई एकपटक उसले सोध्न जरूरी ठानेन। सोचेँ, ‘हामी नेपाली जहाँसुकै जाउँ हाम्रो मानसिकता कहिल्यै परिवर्तन हुँदैंन। यदि त्यो पैसा मैले झिकेको भए उसलाई खबर गर्नु मेरो कर्तव्य हुन्थ्यो तर यो पैसा मेरो श्रीमानले झिकेको थियो त्यसैले यसको जानकारी मलाई दिन उसले जरूरी ठानेन।’ त्यसदिन केही गर्न मन लागेन। घर पुग्नासाथ सुतेँ। टाउको दुखिरहेको थियो।

५ बजे काम सकिने योगेश राति ९ बजेमात्रै घर आयो। आजभोलि यसै पनि ऊ कहाँ जान्छ भन्नेबारे मलाई जानकारी हुन छोडेको छ। एउटै घरमा एउटै छानामुनि बसेर पनि अपरिचित झै छौं हामी। योगेशले मेरो निधार छाम्यो। मलाई झनक्क रिस उठ्यो उसको देखावटी प्रेम देखेर।  मुख खोल्न बाध्य भएँ। ‘स्टप दिस ननसेन्स, आई ह्याभ बिन सफरिङ अ लट,’ सायद योगेशलाई कुनै अनुमान थिएन कि म किन त्यसो भनिरहेकी थिएँ। मैले यसबीचमा उसको र अपेक्षाको बिचमा भएको सबै म्यासेज सेभ गरेर राखेकी थिएँ। त्यो सबै योगेशलाई देखाईदिएँ। मन त थियो कि उसको आमाबुवासँग पनि नेपालमा फोन गरेर झगडा गरौं। तर सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह गरेको श्रीमानलाई त मेरो मतलव थिएन भने उसको परिवारसँग मेरो के गुनासो? त्यस रात मेरो र योगेशको ठूलो झगडा पर्‍यो। उसले सजिलै भनिदियो, ‘मैले मेरो घरको वंश धान्न पनि अर्को विवाह गर्नैपर्छ।’ रीस उठ्यो आफैंसँग छोरी भएर जन्मेकोमा अनि आफ्नै बुवाआमासँग जसले मलाई छोरीको रूपमा यस धर्तीमा जन्माए। किन मारिदिएनन् मलाई गर्भमै? कमसेकम यो अवस्था त आउँदैन थियो आज।

 योगेशले भोलिपल्टै डिर्भोस पेपर लिएर आयो मैले केही नसोची हस्ताक्षर गरिदिएँ। सोच्नु के नै थियो र? नाटकीय मायामा बाँच्नुभन्दा बरू एक्लै बाच्छु भन्ने सोचेँ। काममा फोन गरेर दुई-तीन दिन अफ लिएँ। रातभरी आँखा झिमिक्कै नगरी बिहान भयो। योगेश सधैं जसो निस्किसकेको थियो। सुटकेशमा आफ्नो लुगाहरू हालेँ र निस्केँ गन्तव्यविहिन यात्राको लागि। जाने ठाउँको कुनै टुंगो थिएन। ट्रेन स्टेशन पुग्नै लागेकी थिएँ कसैले हर्न बजाएर म झस्केँ। ‘हे आकृति,  हाउ आर यू,’ कारबाट कालो चश्मा लगाएको कोही निस्किदैं मलाई बोलायो। देखे देखे जस्तो लाग्यो। निकैबेर हेरिसकेपछि याद आयो ऊ रोहन रहेछ।

मेरो स्कूल पढ्दाको साथी जसले मलाई आफूभन्दा बढी माया गर्थ्यो। तर हाम्रो बिचमा बाहुन र क्षेत्रीको जात पर्खाल बनेर यसरी उभिएको थियो कि त्यो पर्खाललाई मैले न नाघ्न सकेँ न भत्काउन।  ऊ क्षेत्रीको छोरो अनि  म बाहुनकी छोरी। त्यसैले बुवाले रोहनलाई छोडेर योगेशलाई छान्नुभएको थियो मेरो लागि

‘आर यू अल राईट?’ रोहनले माथिदेखि तलसम्म मलाई निहालेर हेरेपछि सोध्यो। ‘आई एम ओके,’ मैले जवाफ फर्काएँ। उसले सँगै कफि पिउने प्रस्ताव राख्यो। म उसको कारमा बसेँ। करीव १५ मिनेटको ड्राईभपछि एउटा क्याफेमा पुग्यौं। उसले गाडी रोक्यो। क्याफेमा सँगै बसेर कफी पिउँदै मैले उसलाई आफ्नो मिठो विगतदेखि तितो वर्तमानको बारेमा सबै सुनाएँ। बोल्दा बोल्दै कतिखेर आँशु झर्‍यो थाहै पाईनँ। रोहनले  मेरो आँशु पुछ्दै भन्यो, ‘यदि तिमी अनुमति दिन्छौ भने म तिमीसँग विवाह गरेर बाँकी जीवन बिताउन चाहन्छु। तिमी सिड्नी छौ भन्ने थाहा पाएर म पनि यहाँ आएँ। आईटी पढेँ र अहिले यहीको एउटा कम्पनीमा डाइरेक्टर छु। यति सबथोक हुँदाहुँदै पनि विवाह गर्ने सोच कहिले आएन सायद आज तिमीसँग भेट्न लेखेकोले होला।’ उसले बोल्दै मेरो हात समात्यो।

१५ वर्षपछि रोहनसँगको मिलनले मलाई भावुक बनाईरहेको थियो। आफूलाई यति धेरै माया गर्ने मान्छेलाई मैले चिन्न नसकेर झण्डै दलदलमा फस्न आँटेकी थिएँ। त्यतिखेरै कसैले रोहनलाई बोलायो। ‘सर त काम र घर बाहेक अन्य कुनै ठाउँमा नजाने मान्छे आज अचानक यहाँ यो क्याफेमा कसरी?,’ चिरपरिचित आवाज मेरो कानमा ठोक्कियो। पछाडि फर्केर हेरें, उही थियो जसको लागि मैले मेरो जीवनको अमूल्य समय बर्बाद गरेकी थिएँ। अनि आजसम्म मलाई यो थाहा थिएन कि रोहन नै योगेशको डाइरेक्टर हो।

अविश्वासपूर्वक मैले दुई जनाको आँखामा हेरिरहेँ। रोहनको आँखामा मप्रति प्रेम छचल्किरहेको थियो अनि योगेशको आँखामा अविश्वासको रेखा।

प्रकाशित मिति: : 2020-06-27 10:10:29

प्रतिकृया दिनुहोस्