चीनले अनुदान दिएको ३० हजार किट प्रयोग गर्न नमिलेर गोदाममा, सेनाले ६ करोड खर्चेर त्यही कम्पनीको २८ हजार किट ल्यायो

अर्जुन अधिकारी

साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययनसमेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको छ ।

कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा ‘वान एमएल’ र ‘थ्री एमएल’का भिटिएम पद्धति हुन्छ । हाल नेपालमा ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन हुँदै आएको छ । थ्री एमएलभन्दा वान एमएल आफैँमा कम गुणस्तरको हो । सेनाले ल्याएको किट ‘वान एमएल’ भिटिएममा मात्र प्रयोग हुन्छ । ‘गुणस्तर मात्र होइन, सेनाले ल्याएको यो किट प्रयोग गर्ने पद्धति हामीसँग मिल्दैन,’ जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झा भन्छिन् । 

दुई महिनाअघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ । ‘चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो । त्यसवेला हामीले पिसिआर किट प्रयोग ग¥यौँ, तर एक्स्ट्र्याक्सन किट प्रयोग गरेनौँ । किनकि त्यो एक्स्ट्र्याक्सन किट हामीले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन,’ डा. झा भन्छिन्, ‘ एक्स्ट्र्याक्सन किट र भिटिएम फरकफरक कम्पनीको हुँदा परीक्षणको नतिजा गलत आउने समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि हामीले परीक्षण रोकेका हौँ । तर, सेनाले फेरि त्यही किट ल्यायो, त्यसैले समस्या भयो ।’

प्रकाशित मिति: : 2020-06-27 08:24:22

प्रतिकृया दिनुहोस्