मजस्तो ‘नन प्रोफेसनल’ लेखकले प्रायः आफ्नो मोजमस्ती, आमोदप्रमोद, भावना र अभिव्यक्ति सम्प्रेषण हेतु लेख्छन्। यसको पहिलो लक्ष्य एवं सर्त ‘स्वान्त सुखाय’ नै हुन्छ।
चीन-भारत र विश्वका अन्य कतिपय शक्तिशाली राष्ट्रहरुको काम कारवाहीले वर्तमानको परिदृश्य भीषण युद्ध उन्मुख हुँदै गइरहेको यथार्थलाई नजरअन्दाज गर्न सकिन्न। चीन- भारत बीच लद्दाखको गलवान घाटीमा भएको हिंस्रक भिडन्त विश्व शान्ति हरण गर्ने दिशाको संकेत होइन भन्ने आशा र विश्वास राख्नु सहज एवं बुद्धिमत्तापूर्ण आँकलन हुन सक्दैन।
यसै प्रकरणबारे एकजना पत्रकार मित्रसँग गफ हुँदा उहाँको अभिव्यक्तिले मलाई यसबारे लेखन विवश तुल्यायो। निश्चय पनि युद्ध विषयक लेख्दा मलाई कुनै सुखद अनुभूति हुँदैन।
निकट भविष्यमा चीन समावेश रहेको कुनै युद्ध भएको खण्डमा पहिलो कुरा त त्यसको श्रेय कोरोना भाइरसलाई जान्छ। चीनमाथि कोही जाइलागे अथवा चीन कसैमाथि जाइलागे ‘विवेक र प्रज्ञारहित’ इतिहासले त्यसको मूल कारणमा कोरोना भाइरस रहेको प्रमाणित गर्न किञ्चित पनि धक् मान्दैन।