संसारकै अग्लो स्थानमा धान फल्ने भनेर जुम्ला जिल्ला चिनिन्छ। तर यहाँका धेरै जसो अग्लो स्थानमा धान फल्दैन। यहाँ धान भन्दा पनि फापर धेरै ठाउँमा फल्ने भएकाले फापर खेती नै महत्वपूर्ण मानिन्छ। तसर्थ हाल जुम्लामा फापरको खेति समूह मार्फत गरिएको छ।
जुम्लामा प्रचलित चालचलन अनुसार धान भन्दा धेरै अगाडि फापरको खेती सुरु भएको भेटिन्छ। जुम्लामा मात्र होइन, दक्षिण एसियामा धानको आविष्कार सात हजार वर्ष अगाडि सुरु गरिएको तथ्यांकहरु पाइन्छन्। तर फापरको हालसम्म लिखित तथ्य नभेटिए पनि यसको उत्पत्ति हजारौं वर्ष पहिले एसियामा भएको र पछि युरोप, अमेरिका लगायतका पश्चिमी मुलुकहरुमा लोकप्रियता बढेको भन्ने सुनिन्छ।
फापरमा प्रशस्त मात्रामा रेसादार तत्व, भिटामिन बि–१, बि–२ र बि–६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ। प्रोटिनको ठूलो स्रोत भएको फापर शाकाहारी भोजन गर्नेहरुका लागि उपयुक्त मानिन्छ।
यस विषयमा जापानी अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार प्रोटिनयुक्त फापरको पिठोमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण त हुन्छ नै साथै यसको सेवनबाट मोटोपन पनि कम हुन्छ। मधुमेह, उच्च–रक्तचाप, कब्जियत र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुने समेत बताइन्छ।
एक अध्ययनले भन्छ, एक सय ग्राम फापरमा ७१ दशमलव ५ ग्राम कार्वोहाइडेड, दश ग्राम फाइबर, ३ दशमलव ४ ग्राम फ्याट, १३ दशमलव २५ ग्राम प्रोटिन र ३ सय ४३ क्यालोरी पाइने भएकाले यो बहुगुणी छ।
मानव समाजको विकासलाई हेर्दा जुन वस्तुले मानिसको हित गर्छ त्यसको पूजा गर्दैआएको देखिन्छ। जस्तो, आगो, पानी अनाज आदि। अत्यन्तै लाभदायक मानेको फापरलाई पनि खस सभ्यताको विकास हुँदै गर्दा शुभ कार्यमा उच्च सम्मानस्वरुप निधारमा सिउरिने गरिन्छ। जस्तो, जन्म, बिहे, औपचारिक परीक्षा उत्तीर्ण, सरकारी जागिर, स्वदेश विदेश आवतजावत आदि इत्यादिमा निधारमा पिठा लगाउने चलन आजसम्म निररन्तर छ।
समग्र लेपालले नेपालीको महान पर्वलाई विजया दशामी भनेर मनाउछ। तर जुम्लाले केही समय पहिलेसम्म त्यसलाई ‘शिउरी पिठा’ भनेर मनाउथ्यो। दशैमा चामलको टिका लगाउने चनल त जुम्लामा निकै पछि मात्र भएको देख्न सकिन्छ।
लामो इतिहास बोकेको गुणैगुणले युक्त फापरको सामुहिक खेती जुम्लाको तिला गाउँपालिकास्थित घोडे गाउँमा गर्न थालिएको छ। लकडाउनले आम मान्छेलाई अन्य कामबाट फुर्सदिलो बनाइदिए पछि फापरको सामुहिक खेतीको गर्नुपर्छ भन्ने अवधारणा आएको स्थानीय जंग बहादुर रोकायाले बताए।
विगत केही वर्षयता सदरमुकाम खलंगामा होटल व्यवसाय चलाउँदै आएका उनी लकडाउन भएसँगै गाउँ फर्किए। गाउँलेसँगै उनले आफ्नो अन्य बालीको खेतीपाती सके। त्यस पश्चात फुर्सद भएका गाउँलेहरु सामुहिक फापर खेतीका सम्बन्धमा जंगबहादुरले बनाएको अवधारणामा सहमत भए। फलस्वरुप झण्डै ५० हजार हेक्टर क्षेत्रफलमा फापर खेती थालिएको छ।
फापर खेतीका लागि गाउँलेहरुको जम्मा ६ वटा समूह बनेको छ। प्रति समूहले न्युनतम पाँच हजार वर्गमिटर देखि दश हजार वर्गमिटरसम्म जग्गामा फापर खेती गरेको छ।
‘लकडाउनमा एक गाउँदेखि अर्को गाउँ आउजाउ गर्न पुरै रोकियो। फुर्सदिला गाउँलेहरु मिलेर समूह बनाएर बाँझो जग्गाको उपयोग गर्न सामुहिक फापर खेती थालियो,’ जंगबहादुरले भने, ‘हामीले बाँझो जग्गा खन्यौं। पोषणयुक्त रैथाने बालीको संरक्षण गर्ने काम पनि भयो।’
उनीहरुले फाफर खेतीका लागि बनाएको प्रति समूहमा पन्ध्र सदस्यीय रहेको छ भने फापर खेतीका लागि चयन गरिएको बाँझो जग्गा निकै उर्बर छ। त्यहाँ स्थानीयले पहिले पनि फापर खेती गरी प्रसस्त लाभ लिएका थिए।
पछिल्लो समय आयतित खाद्यान्नले स्थानीय बाली संकटमा परिरहेको बेला लकडाउनले त्यसलाई संकट हुन नदिने र बालीनाली संरक्षण गर्ने अवसर मिलेको स्थानीय चुम्म रोकायाले बताए।
‘लकडाउनले कृषि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने चेतना दियो। अहिले सबै गाउँलेमा स्थानीय बाली संरक्षण गर्ने भावना पलाएको छ,’ उनले भने। अघिल्लो वर्ष केहीले फापर लगाए पनि अधिकांश बाँझो जग्गामा गत वर्षहरुमा झारपात उम्रन्थ्यो। यो वर्ष फापर उम्रेर हरियो भइसकेको रोकायाले थपे।
फापर तीन दिनमै उम्रने र चाँडो हुर्कने बालीमा पर्छ। फापरको उम्राइ बारे जुम्लामा प्रचलित एउटा किस्सा छ। किस्सामा ‘किसानले बारीमा फाफर छरेर जोत्दा जोत्दै उम्रिन थाल्छ। त्यति चाँडै फापर उम्रिएको देखेको किसान रिसाएर फापरलाई गोरु चुट्ने लौरोले तीन चोटसम्म हान्छ। त्यसपछि फापर तीन दिनमा उम्रने भयो।’
यसले फापर चाँडै उम्रिन्छ भन्ने देखाउँछ। खेती गर्न पनि सहज हुन्छ भने बजारको माग राम्रो भएको र बजार भाउ पनि उच्च भएकाले किसानका लागि यो एकदम लाभदायिक छ।
गाउँको नागी, तिलचौर र कोटघरालगायतको बाँझो जग्गामा फापर खेती गरिएको हो। लामो समयदेखि साझा रहेको जग्गा बाँझो थियो। यतिबेला गाउँलेमा बाँझो जग्गाको भरपुर उपयोग गर्ने सामुहिक भावना पलाएको छ।
माओवादी युद्वको बेला आधार भूमी मानिएको उक्त क्षेत्रमा कम्युन र जनसत्ताको अभ्यास पनि भएको थियो। तर माओवादी सहर पसेपछि ती सबै विगठन भए। अहिले कम्युन नै नभए पनि सामुहिक भावनाले काम गरेको जंग बहादुरले भने।
यही बीचमा कर्णाली प्रदेश सरकारले पनि बाँझो जग्गा उपयोग गर्ने नीति अंगालेको छ। प्रदेश सरकारको नीतिलाई घोडे गाउँले भरपुर उपयोग गरिरहेको छ।
गाउँलेहरुले सामुहिक फापर खेतीबाट भएको आम्दानी समूहमा बचतका रुपमा राख्ने योजना बनाएका छन्। गाउँमा दुखी बिरामीलाई कम ब्याजमा ऋण दिने र आर्थिक अवस्था हेरेर सहयोग गर्ने लक्ष्य रहेको छ। यसले जुम्लामा परम्परागत रुपमा प्रचलित धर्म भकारीको काम गर्ने गाउँलेहरुले बताएका छन्।
उक्त घोडे गाउँ फापर उत्पादनको लागि उर्भर भूमी हो। घोडेबाट गत वर्ष मात्रै उक्त ४० क्वीन्टल फापर बिक्री भएको कृषि विकास कार्यालयले जुम्लाले जनाएको छ।
गाउँका ८० घरधुरीले सामुहिक फापर खेतीमा संलग्न छन्। ‘यो पटक उत्पादन भएको फापर बेच्ने र त्यस लगत्तै गहुँ लगाउने योजना छ,’ स्थानीय भन्छन्, ‘अब यो जग्गालाई कहिल्यै पनि बाँझो राख्ने छैनौं।’
जेठमा लगाइएको फापर आगामी असोजमा भित्र्याइन्छ। यतिबेला खेती किसानी गर्नेहरुको संख्या बढेको छ। गाउँबाट नाग्म बजार नजिकै भएको हुनाले निर्यात गर्न सहज हुनेछ। खाद्यन्न संकट हुने अवस्था भोगिसकेका स्थानीयले रैथाने बालीको उत्पादन र संरक्षण गर्दा भोको नपरिने सोचेका छन्।
देशले कोराना भाइरसबाट पार पाउन गरेको लकडाउनको अत्याधिक उपयोग हुँदा जुम्लाका अधिकांश बाँझो जग्गा उपयोग भइरहेको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा गत वर्ष भन्दा बाँझो जग्गा उपयोग गर्ने क्रम बढिरहेको बताउँछन्।
‘किसानहरु बाँझो जग्गाको उयोग गर्ने कामको सुरुवात भएको छ,’ उनले भने, ‘यहाँको कृषि क्षेत्रको उन्नतिको लागि हामी किसानहरुको साथमा छौं।’ यस वर्ष जुम्लामा २ सय १० हेक्टर जग्गा बाँझो छ। बाँझो जग्गामा किसानले फापर, सिमी र तोरी खेति गरीरहेका छन्।