राप्रपा मकवानपुरको समायोजन, मधु अधिकारीकाे नेतृत्वमा ८३ सदस्यीय जिल्ला समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रमा पार्टी एकता भए सङ्गै जिल्ला र स्थानीय तहको संरचना समायोजनलाई महत्त्वका साथ अघि बढाएको छ । यस क्रममा राप्रपा अध्यक्ष कमल थापाकाे गृहजिल्ला मकवानपुरमा राप्रपा र तत्कालीन राप्रपा (संयुक्त) बीच आज समायोजन सम्पन्न भएको हो ।

जिल्ला तहको समायोजन पश्चात राप्रपा मकवानपुरको अध्यक्षमा मधु अधिकारी चयन भएका छन् । अधिकारी यस अघि पनि राप्रपा अध्यक्ष नै थिए । यसैगरी उपाध्यक्षमा तत्कालीन राप्रपा (संयुक्त) का अध्यक्ष ज्ञानेन्द्र ढुङ्गेल चयन भएका छन् ।

राप्रपाको साबिक जिल्ला कार्य समितीलाई कायम राख्दै राप्रपा (संयुक्त) का तत्कालीन जिल्ला समितिलाई समावेश गर्ने सहमती भएको अध्यक्ष अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै अधिकारिले अहिलेको मार्गचित्रबाट देश डरलाग्दो भड्खालोमा जाने भन्दै अबको बिकल्प राप्रपा भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले मुलुकलाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आबश्यक भएकोले त्यसको परिपुर्तिको निमित्त पार्टी एकता गरिएको बताए । हिजोको टुटफुटको घटना अब एकादेशको कथा हुने भन्दै बर्तौलाले अहिलेको एकता भावनात्मक र चिरस्थायी भएको दाबी गरे ।

'एकताको जग बलियो छ, अब हल्लिदैन।हिजोको त्रुटि, कमजोरीबाट पाठ सिकेका छौं'। सच्चिदै अघि बढ्छौँ । राप्रपालाई इमानदार कार्यकर्ताको बलमा जुरुक्क उठाउछौँ,' घोषणा कार्यक्रममा बोल्दै बर्तौलाले भने ।

कार्यक्रममा नेताहरु रामहरि न्यौपाने , ज्ञानेन्द्र ढुङ्गेल, बद्री अधिकारी र सागर थापाले पार्टी एकताले कार्यकर्ता तहमा मात्र नभई जनतामा पनि सकारात्मक सन्देश गएको भन्दै अब संगठन निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

अब राप्रपा मकवानपुर जिल्ला समिति ८३ सदस्यीय बनेको छ ।

प्रकाशित मिति: : 2020-06-22 22:19:11

प्रतिकृया दिनुहोस्