‘सुन राधा! आजबाट तिमीले मुहार पुस्तिकामा यस्ता वियोगान्त गजलहरू पोस्ट गर्ने छैनौं। मैले भनि सकेकी छु। फेरि पनि घरिघरि भन्नु नपरोस्’, आदर्शको म्यासेज आयो। उनको म्यासेज पढेर मैले मुस्कानको इमोजी पठाएँ। जब जब मैले वियोगका गजल मुहार पुस्तिकामा पोस्ट गर्छु तब आदर्शबाट यहीँ म्यासेज आउनेगर्छ।
अनि मैले सोधेँ, ‘किन नि आदर्श। मेरो गजलमा के त्यस्तो खराबी छ र! भन त?,’ उनले जवाफ दिए, ‘किनकि मलाई पटक्कै मन पर्दैन त्यस्ता गजलहरू।’ उनको म्यासेज पढेर भित्री वेदनाहरू लुकाएर म हाँस्छु, ‘हा हा..त्यसो भए अब मैले कस्ता गजल लेख्नु त नि?’ ‘मात्र प्रेमिल जगल लेख। प्रेम मिलनको गजल लेख। त्यस्ता वियोगका गजल कहिल्यै नखेल है’, आदर्शले गम्भीर भएर भने, ‘तिम्रा वियोगान्त गजल पढेपछि मनमा एक प्रकारको भावना उठेर आउँछ। कतै हाम्रो प्रेम कहानीमा पनि त्यही गजलका शेरहरूकै असर पर्छ कि भन्ने शंका लाग्छ राधा। तिम्रा गजलले मेरो सुन्दर कल्पनाहरू जलाउन खोज्छन्।’
आदर्शका म्यासेज पढेर म एकछिन टोलिन्छु। मैले हिजो मुहार पुस्तिकामा एउटा गजल पोस्ट गरेकी थिएँ। ‘वियोगमा दुई थोपा आँशु बगाउँदै छु म
दर्द लुकाई ओठमा मुस्कान बसाउँदै छु म।’
गजल आदर्शले भनेझैँ दुई मुटुको वियोग वेदना भरिएको थियो। तर आदर्शलाई के थाहा यो भाव त मन र कलमको मिलन थियो। तर उनले त्यसलाई वियोगको नाम दिन्छन्। मन न हो कहिले कस्तो कहिले कस्तो। एकछिनपछि मैले आदर्शलाई भने, ‘तिमी त्यस्तो केही पनि नसोच न। विधिको विधानमा जे लेखिएको हुन्छ, त्यही भएर जान्छ आदर्श। भविष्य भनेको कसले पो देखेको छ र? जे छ, जो छ अहिले वर्तमानमा छ। तिमी छौं, म छु। भोलिको कुरा नगर। भोलि म हुन्छु या हुन्न। तिमी हुन्छौ या हुन्नौ।’
मेरो म्यासेज पढेपछि उनले रिसाएको इमोजी पठाए। अनि ‘तिमी जहिले पनि त्यसैगरि मेरा कुराहरू अर्कै तिर घुमाउन खोज्छौ। मलाई थाहा छ राधा! तिमीले मलाई माया गर्दिनौं भनेर। तर के गरौं, म तिमीबाहेक अरू कसैलाई माया गर्न सक्दिनँ। म जति तिमीलाई गहिरिएर प्रेम गर्छु, तिमी त्यति नै मेरो भावनाहरुलाई सतहमा बगाइदिन खोजिरहेकी हुन्छौ। किन राधा! किन? के तिमी मलाई विश्वास गर्दिनौ र.? तिमी मेरो जिन्दगीको एउटा अहम भूमिका हौं राधा। तिमी मेरो साथी मात्र नभएर मेरो लागि एक गुरू पनि हौ। म मेरो घरबाट टाढा यो राजधानीमा आफू आफैंलाई एकलोपन महसुस गरेको बेला मैले तिमीलाई भेटेँ। मेरा मनका दहहरु पोख्न पाएँ। म कहिले कहीँ कुनै कुराहरुको अन्योलमा पर्दा, मार्ग भड्किँदा तिमी नै त हौ मलाई सहि मार्ग देखाउने। त्यसैले म तिमीलाई आदर पनि गर्छु राधा। हो .. तिमीले भने झैँ ....भविष्य अनिश्चित छ। भविष्य एउटा अनिश्चित यात्रा हो। तर पनि सबै कुरालाई भाग्य कै निर्भरमा थुपारेर पनि त हुँदैन है राधा। हाम्रो चाहत साँचो भए मिलन पनि त अवश्य होला नि... हैन त ! यदि भाग्यको खेलमा हाम्रो हार भएछ भने पनि तिमीले भने झैँ मिलन मात्र कहाँ हो र प्रेमको परिभाषा म तिम्रा गजलका शेरहरू पढेर मनलाई सम्झाउनेछु राधा। मनलाई बुझाउनेछु।’ आदर्शको म्यासेज पढेर मेरा परेलीहरू चिसिएर आए। मुटु दुखेर असह्य भयो। अनि मैले भनेँ, ‘हो नि आदर्श मिलन मात्र कहाँ हो र प्रेमको परिभाषा,’ आँखाबाट दुई थोपा आँशु गुडेर आउँछन्। त्यसपछि मैले आदर्शका म्यासेज पढ्ने हिम्मत गरिनँ।
आदर्श र मेरो मित्रता ६ महिनादेखिको हो। यही मुहार पुस्तिकाको माध्यमबाट बनेको हाम्रो मित्रता सागर झैँ निकै गहिरो हुँदै गयो र स्वच्छ पवित्र हिमाल झैँ अटल पनि। उनी साहित्यकार नभए पनि साहित्यलाई माया गर्ने एक साहित्यप्रेमी हुन्। मेरा लेख रचनाबाट प्रभाभित भएर म सम्म आइपुगेका कुरा भन्थे मित्रताको पहिलो दिनमा। उनी सिभिल ईन्जिनियर हुन्, काठमाडौंको न्यू लाइट कन्सट्रक्सन कम्पनीमा सुपरभाइजरको काम गर्छन्।
हामीले एक अर्काका तस्बिरबाहेक प्रत्यक्ष देखभेट गरेका छैनौ। तर हामी एक अर्कालाई मनका आँखाले देखिसकेका छौं। आदर्श एक असल व्यक्ति हो। मान्छेको बोलीबाट नै उसको चरित्रको छवि देखिन्छ भन्छन्। मैले पनि आदर्शलाई उनको बोली व्यवहारबाटै चिनेकी छु। उनी कसैको पनि अविश्वासका पात्र हुन सक्दैनन्।
उनले हाम्रो मित्रताको केही दिनमा नै मलाई प्रेम प्रसताव राखेका थिए। तर मैले आजसम्म त्यो प्रस्ताव स्वीकार गर्न सकेकी छैन। मलाई माफ गर आदर्श। मेरो कारण तिम्रो मुटुमा कुनै चोट नपरोस्।
आदर्शको ‘के तिमीले मलाई विश्वास गर्दिनौं राधा?’ भन्ने म्यासेजले मेरो मन चस्क्क हुन्छ। ‘मैले तिमीलाई पूर्ण विश्वास गर्छु। अनि माया पनि एक साथीको नाताले। तिमीलाई मैले गरेको प्रेम निःस्वार्थ छ आदर्श। मलाई तिमीबाट कुनै कुराको अपेक्षा छैन। किनकि म अब यो दुनियाँमा केही महिनाकी अतिथि मात्र हुँ। अनि म तिमी र तिम्रो संसारबाट पदचापका बिना आहटहरूसँगै कतै दूर..कतै टाढा जानेछु। तिमीलाई थाहा छैन....म एक क्यान्सरकी बिरामी हुँ। मेरो परिस्थिति अन्तिममा पुगिसकेको छ। तर म विवस छु आदर्श, तिमीलाई यी कुराहरू भन्न सक्दिनँ। किनकि, म बाँचुन्जेल तिम्रो न्यानो माया र तिमी जस्तो असल मित्र गुमाउन चाहन्न। मलाई डर लाग्छ आदर्श कतै तिमीलाई मेरो परिस्थिति थाहा भइसकेपछि हाम्रो सम्बन्ध नै तोडिदिन्छौंकि? मलाई डर लाग्छ आदर्श। तिमी मेरो काल्पनिक संसारबाट हराउँछौं कि भन्ने। त्यसैले मैले यी कुराहरु तिमीलाई भन्न बारबार टाइप गर्छु अनि फेरि मेटाइदिन्छु। फेरि टाइप गर्छु, फेरि मेटाइदिन्छु। म यी कुराहरू तिमीलाई भन्न सक्दिनँ।
आदर्श तिमीले आउँदो दसैँको छुट्टिमा मलाई भेट्न आउने बाचा गरेका छौ है। मन परेका पुस्तक पनि लिइसकेका छौ रे! म कति खुसि थिएँ। तर..मेरा खुसीहरू हिउँ झै पग्लिएर गए। मलाई उपचारको कुनै असर लागेन। अब मैले बाँच्ने अधिकार गुमाइसकेकी छु आदर्श। तिमीलाई के थाहा... म आजबाट मात्र दुई महिनाकी अतिथि हुँ यस् संसारमा।
तीतो यर्थाथबाट निचोडिएका विषालु थोपाहरू पिउँदै म मन मनै बोलिरहेछु।