भेडाको ठूलो बथान उकालो लाग्दैछ। केही दिनदेखि हिमालतिर नियमित यस्ता दृश्यहरु देखिरहेका छन्। गर्मी सुरु भएसँगै पाटन उक्लने भेडा पालक किसानहरुको नियमितता नै हो।
हरेक वर्ष जुम्ली भेडाहरुले भोट मधेस गर्दै एक चक्र पूरा गर्छन्। खासगरी चिसोमा पालिने जुम्ली भेडा बेसीमा गर्मी चडेसँगै उकालो लाग्छन्। गर्मी छल्न उक्लेका भेडाहरुलाई चार महिना पाटनका चरन क्षेत्र पालिन्छन्। असोजमा चिसो सुरु भएसँगै भेडाहरु ओराल्ने गरिन्छ।
बर्खामा आफ्ना हिमाली चरन क्षेत्रको यात्रा गर्नु जुम्लाका भेडी गोठालाहरुको परम्परागत चलन नै हो। यतिबेला हरियो पाटनमा सेता काला भेडाका चरेका अद्भुत दृश्यहरु देखिन्छन्। जसले पाटन असाध्यै रमाइला देखिन्छन्।
हुन त भेडा परम्परागत यातयातका साधन पनि मानिन्छन्। सिंजा राज्य ताका जुम्ली भेडाहरु अन्न लिएर तिब्बत जाने र त्यहाँबाट नुन लिएर आउने गरेको बुढापाकाहरु बताउँछन्।
भारतसँगको व्यापार सुरु भएसँगै हिउँदमा मधेस झर्ने र बर्षामा पाटन चर्ने भेडाहरु बर्खा लागेसँगै उकालो लाग्छन्।
भेडाका बथान अघि कुकुर र केही ग्वालाहरु लागेका हुन्छन्। उनीहरुको साथमा बर्खाभरीलाई पुग्ने चामल, पिठो, आगो सल्काउने झरो लगायत बस्तु हुन्छन्।
यस्तै तयारीमा छन्, तातोपानी ७ का मुनबहादुर रावत। यो भेडीगोठहरु खर्कतिर सार्ने उपयुक्त समय हो। त्यसैले आफूलाई चटारो बढेको उनले बताए।
‘पाटनमा हाम्रा पहिले देखिका खर्कहरु हुन्छन्। खर्क भनेका हाम्रा वस्तुभाउ राख्ने ठाउँ हुन्,’ उनले बिएल नेपाली सेवालाई भने, ‘पाटनमा हरियाली हुन सुरु भइसक्यो, सबैले आ-आफ्नो खर्कमा भेडा पुर्याउँदैछन्।’
बर्खायाम सुरु भएसँगै पाटनमा बुकी पलाउन थाल्छ। भेडाका लागि बुकी सबैभन्दा मिठो र औषधीय खान भएकोले पाटन लिने चलन पिता पुर्खाहरुले चलाएको रावलले थपे।
यसरी पाटन चर्ने भेडाको मासु खाँदा विभिन्न प्रकारका रोगहरु निको हुने जनविश्वास छ। खुट्टा तथा टाउकाको झोल खानाले शरीरमा ताकत थपिने उनले सुनाए।
हिमाली हावा, खनिज तथा पौष्टिक तत्वले भरिएका घाँस खाएका, चिसो पानी पिएका भेडाहरुको मासु बढी रुचाइने गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका पशु विकास अधिकृत गोबिन्दबहादुर महतले बताउँछन्।
भेडा जुम्ली किसानको प्रमुख आयमुलक पेसामा पर्छ। भेडा पाल्नेहरु मध्यम वर्गमा गनिन्छन्।
‘यहाँका बासिन्दाले परापूर्वक कालदेखि भेडा पाल्दै आएका छन्। तर, केही समय यता भेडा पालक किसान घट्न थालेका छन्। नयाँ पुस्ताप्रति भेडा पालनको विकर्षण देखिएको छ,’ तातोपानी ७ कै अर्का भेडा पालक किसान प्रेम बहादुर रावलले भन्छन्।
सरकारी आँकडाअनुसार भेडा पालक किसान घटेपनि भेडाको संख्या भने घटेको छैन। पशु अस्पताल तथा पशु सेवा कार्यालय तथ्यांकअनुसार हाल जुम्लामा ७४ हजार भेडा रहेका छन्।
‘आम्दानी राम्रो छ। भेडा स्रख्या घटेको छैन। तर, दुःख धेरै हुने भएकाले भेडा पालक किसान घटेका छन्,’ महतले भने।
पाटनमा पानी र असिनासँग भिज्दै, अनि घाममा सेकिदै भेडाको रेखदेख गर्नुपर्ने अर्का भेडापालक किसान कमल कुँवरले बताउँछन्।
‘आम्दानी त राम्रै छ। तर दु:ख साह्रै हुन्छ। हिउँद भेडालाई तातो गर्न मधेस झर्नुपर्छ। अहिले मधेसमा पनि भेडा चराउने ठाउँ पाइदैन। बर्खामा पाटन चढ्नपर्छ। हाम्रो बसेरो एकै ठाउँमा कहिले हुँदैन। अनि बल्ल पैसा हात लाग्छन्,’ उनले भने।
तर अहिले बढ्दो जनसंख्याले वन फँडानी र बनपाखामा खेतीपातीको विस्तार हुँदा चरन क्षेत्र घटिरहेका छन्।
चरन क्षेत्र र पाटनमा समस्या हनु थालेपछि सरकारी तवरबाट पनि कृषकलाई उत्साह दिने काम भइरहेको छ। जिल्लाको पाँचसय र माझ पाटनमा भेडालाई ओतलाग्ने चारवटा गोठ निर्माण गरिएको अधिकृत महतले जानकारी दिए।
भेडा पालनमा जोखिम पनि उत्तिकै छ। असिना र चट्याङको सिकार भेडा हुन्छन् भने मालिकहरुलाई त्यसैबाट घाटा लाग्छ।
जुम्लामा २०७० सालमा नितरन्तर परेकोे असिना, पानी र हावा हुरिले ७०० भेडा मरेका थिए।