नरेश फुयाँल
स्वास्थ्य मन्त्रालय नागरिकलाई कोरोनाको औषधि, उपचार, सर्ने कारण र जोगिने उपायहरु बताइरहेको छ । कोरोना यसरी निको हुन्छ रे भनेर आएका भ्रमलाई चिर्ने प्रयास गरिरहेको छ । तर तपाईं (प्रधानमन्त्री) स्वयम् भने स्वास्थ्य मन्त्रालयले जसलाई भ्रम भनेर जनतालाई नपत्याउन आग्रह गरिरहेको छ, त्यसैलाई उपचारको विधिका रुपमा जनतालाई टिप्स दिइरहनु भएको छ । त्यो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सदस्यहरुमार्फत् । देशबासीका नाममा सम्बोधन पनि यस्तै गरिरहनु भएको छ ।
‘कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छ्युँ गर्नुपर्छ । तातोपानी खाएर निको पार्छ भन्ने सोच्नुपर्छ । कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ,’ तपाईंले प्रधानमन्त्रीका हैसियतले बिहीबार राष्ट्रियसभा बैठकमा भन्नुभयो ।