सरकार यतिबेला आर्थिक संकटमा रहेको विषय अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत भनाइले पुष्टि गरिसकेको छ । जेठ १५ गते बजेट ल्याएका अर्थमन्त्रीले त्यसको १५ दिनपछि सरकारलाई दैनिक खर्च धान्नै समस्या परेको अभिव्यक्ति दिए लगतै बजेटमा खर्च कटौती गर्ने ठाउँ हुँदा हुँदै अनावश्यक शीर्षकमा बजेट विनियोजन गरेर अर्थमन्त्रीले गम्भीर गल्ती गरेको आरोप लाग्न थालेको छ ।
यद्यपि अझैपनि अर्थमन्त्रीले निर्मम भएर खर्च कटौती गर्नसक्ने ठाउँ रहेको विज्ञहरु बताउँछन् । अर्थमन्त्रीले सरकारको खर्च मासिक ४० अर्ब र आम्दानी औसतमा १५ अर्ब रहेको अभिव्यक्ति दिएका थिए । यो सँगै सरकार गम्भीर संकटमा परेको विषयले चर्चा पाउन थालेको हो । संकटमा रहेको सरकारले बजेटमा सम्बोधन गर्न नसकेपनि अझैपनि निर्मम खर्च कटौती गरेर झण्डै ३ खर्बको हाराहारीमा खर्च जोहो गर्न सक्ने ठाउँ रहेको प्रा.डा डिल्लीराज खनाल बताउँछन् ।