कतार एयरवेजले सन् २०२० तथा २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापी संकट उत्पन्न हुँदा माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँग यसअघिको अर्डर पनि खारेज गरेको छ ।
कतार एयरवेजको २३४ वटा विमान रहेको छ । यसले विश्वका १७० भन्दा बढी गन्तव्यमा उडान भर्दै आएको छ । कतार एयरवेजले कोरोनाका कारण विमानस्थलहरु बन्द तथा यात्रा प्रतिबन्धका कारण ठूलो समस्यासँग जुध्नुपरेको बताएको छ ।
यसअघि अन्तर्राष्ट्रिय हवाई यात्रा संघले गत अप्रिलमा मध्यपूर्व र उत्तर अमेरिकाको हवाई यात्रामा यस वर्ष आधाभन्दा बढीले कमी आउने चेतावनी दिइसकेको छ ।
कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल–बाकरले नयाँ विमान खरिदका आदेशहरु रद्द गरिएको जानकारी दिए । उनले कम्पनीका तर्फबाट सन् २०२० र अर्को वर्ष पनि नयाँ कुनै विमान खरिद नगर्ने बारेमा बोइङ र एयरबसलाई जानकारी गराइसकिएको बताए ।
अल–बाकरले अर्को दुई वा तीन वर्षभित्र खरिद गर्नेगरी दिइएको अर्डर पनि अब ८ देखि १० वर्ष पछि सारिएको बताए । तर सोचेभन्दा चाँडो परिस्थितिमा सुधार भए हवाई जहाज खरिदमा पुनर्विचार गरिने उनले स्पष्ट पारे ।
कतार एयरवेजले अहिले वित्तीय संकटको सामना गर्नुपरेको बताएको छ । मार्च २०१९ सम्ममा कम्पनीले करिब ६४ करोड अमेरिकी डलर नोक्सानी व्यहोरिसकेको छ ।
- रासस–एएफपी