गएको माघमा श्रीमतिसहित मातृभूमि नेपालमा छुट्टी मनाउन गएको थिएँ। मेरो जन्मथलो नेपाल। स्थायी घर रूपन्देहीको ज्योतिनगर (वुटवल) मा छ। विसं २०५२ मा यता आएदेखि हङकङ मेरो कर्मथलो बनेको छ।
कहिलेकाहिँ गम्भीर भएर सोच्छु, पिरले सताउँछ। स्वदेशमै मनग्गे रोजगारीको अवसर भइदिएको भए म जस्ता हजारौं नागरिकले विदेशीनुपर्ने थिएन होला!
हङकङको व्यस्त जीवन त्यसै पनि भीडभाड र कामको दौडधुपले प्रायः जिन्दगी बित्ने गर्छ। मेरा लागि नेपाल जन्मभूमि मात्र होइन, थकान मेटाउने र शान्तसँग आराम गर्ने उत्तम गन्तव्य पनि हो।
नेपालमा लकडाउन दिनचर्या
छोरो पहिले नै नेपाल गएको थियो। दुई साता बसेर फर्कने योजनाले श्रीमतीसँगै नेपाल गएँ। त्यतिबेला नै कोरोना भाइरसका समाचार फैलिरहेका थिए। हङकङमा बस्दा पनि नेपालका खबर अपडेट थिएँ।
महामारीहरू बेलाबेलामा आइरहन्छन्। सन् २००२–२००४ को सार्स महामारीले हङकङलगायत संसारका २८ राष्ट्रका करीब ८ हजार जति संक्रमित भएका थिए भने ७७४ जनाले ज्यान गुमाएका थिए। यो महामारी मैले प्रत्यक्ष भोगेको थिएँ।
हालको कोरोना भाइरस त्यो भन्दा डरलाग्दो देखिँदै गयो, दिन प्रतिदिन भाइरस तिव्ररूपमा फैलिँदै गयो। नेपालमा पनि चैत ११ देखि लकडाउन गरियो। एक्कासी साँझ नेपाल सरकारले लकडाउन सुरु गरेको समाचार सुनेँ। यस्ता महामारी हङकङमा भोगेकाले त्यति डर भएन, केही दिन पछि खुल्ला भनेर ढुक्क भएँ।
दिनप्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका समाचार आउन थाले। उता हङकङमा पनि अफिस बन्द भएका खबर सुनेँ, कम्पनीले आधा मात्र तलब दिने सूचना पाएँ। लकडाउन निरन्तर बढ्दै गयो।
नेपालमा लकडाउन हुनुअघि दिनहरू राम्रैसँग वितिरहेका थिए। कलेजका पुराना साथीसँग भेटियो। नजिकका ठाउँमा हाइकिङ गइयो। मित्रहरू महेश थैव, सन्तोष श्रेष्ठ, चमन राना, विष्णु पौडेल, कुमार पुनसँग भेटेर पुराना दिन सम्झियौं। सुख र दुःखका भावना साट्यौं।
हङकङको व्यस्त जीवन। सधैं भागदौड जिन्दगीबाट केही महिना रमाइलो गरी परिवार, साथिसँग वुटवलमा बनाउन पाएँ। यस अर्थमा भाइरसले गर्दा मेरो नेपाल बसाए लम्बियो। उनीहरूसँग घुमघामको अवसर पाइयो।
हङकङसँग नेपालको साइनो
आधिकारिक रूपमा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्रका रूपमा चिनिन्छ हङकङ। चीनको पर्ल नदी डेल्टा र साउथ चाइना सागरको दक्षिणी कुनामा अवस्थित यो एक स्वायत्त प्रदेश हो। यसको क्षेत्रफल ११०४ किमि छ र जनसंख्या ७२ लाख। हङकङ संसारकै सबैभन्दा बढी जनघनत्व भएको महानगर मध्ये एक हो। गगनचुम्बी भवन र प्राकृतिक बन्दरगाहका लागि प्रसिद्ध हङकङ प्रमुख एशियाली वित्तीय केन्द्र पनि हो।
सन् १९४७–१९९७ सम्म अशान्त हङकङको सीमा सुरक्षा गर्न ब्रिगेड अफ गोरखाको महत्वपूर्ण योगदान छ। फर्केर हेर्दा ब्रिटिसको उपनिवेशबाट भारतले सन् १९४७ मा स्वतन्त्र भएपछि ४ वटा गोर्खा रेजिमेन्ट मलेसियामा स्थानान्तरण गरियो। हङकङ आएको पहिलो टोली २६ औ गोर्खा ब्रिगेड टोली हो। उनीहरूलाई ह्वाइटफिल्ड ब्यारेक (हालको कोलुन पार्क) मा राखिएको थियो। सन् १९५६ को डबल टेन दंगा, सन् १९६६ को स्टार फेरी दंगा, र सन् १९६७ को शा ताउ कोक घटनामा गोर्खा सैनिकले महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए।
सन् १९६६–१९७६ को चीनको सांस्कृतिक क्रान्तिका बेला यसको सिमा जोगाउन पनि गोर्खा सैनिकको महत्वपूर्ण भूमिका थियो। हङकङमा कार्यरत गोर्खा सैनिक करीब १० हजार जति थिए भने सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गर्नु पूर्व यसको संख्या घटाएर ३६०० बनाएको थियो।
यसरी हेर्दा हङकङमा नेपालीको आगमन ब्रिटिश सेनामा कार्यरत रहँदादेखि सुरु भएको देखिन्छ। वेलायतले उपनिवेशका रुपमा करीब १५६ वर्षसम्म शासन गरेको थियो। सन् १९९७ मा मात्र हङकङ टापू चीनलाई हस्तान्तरण गरेको हो। हस्तान्तरण गर्नु केहीअघि सन् १९९० को दशकदेखि ब्रिटिश सेनामा कार्यरत रहँदा जन्मिएका सन्तानलाई हङकङमा स्थानीय बसोबासको अधिकार दिन थालियो। हाल हङकङमा करीब ३० देखि ४० हजार जति नेपाली भाषीको बसोबास छ।
हङकङमा क्वारेन्टाइन लाइफ
दुई साताका लागि भनेर नेपाल गएको, तीन महिना वितिसकेको थियो। लकडाउन लम्बिरहेको थियो, खुल्ने लक्षण थिएन। लकडाउनले अड्किएका बिभिन्न देशका कुटनीतिक नियोगले आफ्ना देशका नागरिकलाई चार्टर्ड फ्लाइटद्वारा धमाधम लगिरहेका थिए। अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, जापानलगायत देशले आफ्ना नागरिक लगेका समाचार हेरिरहेको थिएँ।
यही सिलसिलामा नेपाल सरकारले हङकङ, जापान र कोरियाबाट छुट्टिमा परिवार भेट्न नेपाल आएका नागरिकलाई फर्काउने समाचार सुनेँ। एकातिर हङकङ फर्केर काममा फर्कन पाउने आशाले खुशी थिएँ भने आफ्नो देश छाडेर जान लाग्दा मनमनै खिन्न पनि बनेको थिएँ। तर पनि कर्मभूमि त जानैपर्ने भएकाले उडानको तयारीमा लागेँ। साधारण ३३ हजार रूपैयाँ पर्ने टिकट ९८ हजार रूपैयाँ तिर्न राजी भयौं। म जस्ता नेपालमा विभिन्न जिल्लाका करीव ५८२ जना पहिलो लटमा जाने भयौं।
हङकङ जान भन्दै मैले छोरोको पनि चाँजोपाँजो मिलाउन लागेँ, श्रीमति पछिल्लो लटमा परिन्। मे ९ मा उड्ने भनेको मे १६ का लागि सर्यो। फेरि सरेर जुन १ मा चै उड्ने पक्का भयो।
भैरहवा जिल्ला प्रशासन कार्यालयमा निकै सास्ति खेपेर बल्ल बल्ल काठमाडौं जाने गाडीको पास मिलाए। त्यति गर्न दुई दिन लाग्यो। त्यसपछि बेलुकाको उडान समात्न त्यही दिन बिहान हतारहतार गरि गाडीमा काठमाडौं हिँड्यौं। सधै भिडभाड हुने राजमार्ग सुनसान थियो, काठमाडौं पनि सुनसान थियो। पसल, गाडी र मान्छेको चहलपहल थिएन। बिच बिचमा सुरक्षाकर्मीले सोध पुछ गरेका थिए।
हामी सोझै विमानस्थलतिर लाग्यौं। एयरपोर्टमा नेपाल एयरलाइन्सका ३ वटा जहाज, २ न्यारो र १ वाइड बडी उड्न तयार थिए। हामी ५८२ जना हङकङ उडान गर्ने यात्रु थियौं।
त्रिभुवन विमानस्थलमा हाम्रो तापक्रम लिइयो र चेक इनतिर लाग्यौं। बेलुकी ८:४५ को फ्लाइट ११ बजे मात्र उड्यो। बिहान ५ बजे हङकङ एयरपोर्टमा अवतरण भयो। निकै नौलो लाग्यो, सधैं व्यस्त एयरपोर्ट यतिबेला सुनसान थियो।
हङकङ एयरपोर्ट अवतरण गर्नासाथ स्वास्थ्य विभागका कर्मचारीले सिधै रिसिभ गरेर, स्वास्थ्य परीक्षण गरे। स्वाब संकलन गरे। लगत्तै हामी सबैलाई १४ दिन सरकारी अपार्टमेन्टको क्वारेन्टाइनमा राख्ने जानकारी गराए। उनीहरू यहाँका सामान्य नियम बताइदिए। नियममा क्वारेन्टाइनको नियम तोडेर भागेमा २५ हजार डलर जरिवाना र ६ महिना जेल जानुपर्ने भन्दै सचेत गराए।
सामाजिक दूरी पालनाका साथ शटल बसमा राखेर सरकारी अपार्टमेन्टमा पुर्याइयो। ती कर्मचारीले कोभिड–१९ का सबै नियम बताए। म र छोराका लागि छुट्टै कोठा थियो, अन्य एकल महिलालाई छुट्टै कोठा र परिवारलाई पनि त्यही अनुसार छुट्टा छुट्टै कोठामा राखियो।
सरकारी अपार्टमेन्टका कोठा सफा थिए। सफा सौचालय, सफा बाथरूम। कोठामा आवश्यक पर्ने सावुन, टावल, ब्रस, सेम्पु, चप्पलसहित सफा वेड थियो। कुनै सामान आवश्यक परे व्हाट्सएपको नम्बरमा सम्पर्क गर्न भनियो।
३ टाइम खाना ब्रेकफास्ट, लञ्च र डिनर । रोटी, तरकारी, जुस, फलफूल, दालभात, मासुको परिकारका साथै कन्टिनेन्टल र चीनीयाँ खाना मन परे फेर्न पनि पाइन्थ्यो। मदिराबाहेक सबै स्वास्थ्य खाना ठीक समयमा आइपुग्थ्यो। दैनिक तापक्रम नाप लिएर रिपोर्ट राख्थे। समयसमयमा डाक्टर र नर्सको टिम नियमित स्वास्थ्य जाँच गर्न आइपुग्थ्यो। २ दिन अगाडि गरेको टेष्टमा हामी सबैको रिपोर्ट नेगेटिभ आयो। हामी सबैलाई त्यहाँ राम्रो व्यवहार गरियो।
सुरुका केही दिन दिन क्वारेन्टाइनका दिन विताउन मुश्किल भयो। तर विस्तारै बानी पर्दै गयो। दिनभर मूभि हेर्ने, साथीसँग फोन र मेसेन्जरमा कुरा गर्ने, नेपालमा आमा र श्रीमतिसँग कुरा गर्ने, देशविदेशका खबर टिभी र इन्टरनेटबाट अपडेट रहने गर्न थालेँ, यसरी नै दिन बिताउन थाले।
विस्तारै क्वारेन्टाइनका दिन सकिँदै गर्दा, कामका कुरा सोच्दै र साथीसँग कुराकानी गर्दै वित्न थाल्यो।
जुन २ तारिखदेखि क्वारेन्टाइनमा बसेको १५ तारिखको राति ११:५९ बजे सकिने दिन नजिकिँदै गयो। मुक्त हुने एक दिन अघि सूचना आयो। १४ दिनको पिंजडाको जीवन सकिँदै गर्दा खुसी पनि लागेको थियो। अर्कोतिर भावुक पनि। सुरूमा निकै सकस भएका दिन सहज बन्दै थियो।
नियमित स्वास्थ्य परीक्षण, मिठो खानपिन र सफा बासमा कमि थिएन।
क्वारेन्टाइन छाड्ने अन्तिम दिन साढे दश बजे नै हामीले कोठा छोड्दै गर्दा लिफ्टमा भीड थियो। ३७ तलाको विल्डिङमा हामी ३६ औं तलाबाट झर्दा झण्डै १ घण्टा लाग्यो ग्राउण्ड फ्लोर पुग्न।
छुट्टिने समयमा क्वारेन्टाइन सर्टिफिकेट र प्रत्येकलाई गिफ्ट झोला थमाइदियो। भित्र स्यानिटाइजर प्याक, थर्मोमिटर र गिफ्ट रहेछ।
चौधौं दिन फलोअप चेक अप हुने जानकारी गराए। पछि कन्ट्याकट ट्रेसिङमा सहयोग हुने गरी शूक्ष्म तरिकाले पछ्याउने पनि बताए।
मैले एक स्वास्थ्य सहयोगीलाई जिज्ञासा राखेँ, ‘कोरोना भेटिए हाम्रो नेपालमा हस्पिटल नै सिल हुन्छ। यहाँको चलन के छ?’, उनले मुस्कुराउँदै जवाफ दिए, ‘यहाँ त्यस्तो हुँदैन। अबका दिनमा सतर्कता अपनाउनू र आफ्नो सुरक्षा आफैं गर्नू।’
त्यहाँ धमाधम शटल बस लागिरहेको थियो। भौतिक दूरि कायम गरेर एउटा ८०-९० जना अटाउने बसमा जम्मा हामी ६–७ जनालाई राखेर एमटिआरतिर हुइँकियो।
जाँदै गर्दा २ साता विताएको ३७ तलाको क्वारेन्टाइन भवनतिर नजर लगाएँ। छुट्कारासँगै घर पुगेर लगेज राखेँ। क्वारेन्टाइनको ह्याङ ओभरबाट मुक्त हुन रातभर ३ बजेसम्म साथीसँग बिताए।
क्वारेन्टाइन भत्ता ४२०० ऐचके डलर नेपाली करिब ६५ हजार रकमको प्रोसेस हुँदै गरेको जानकारी मोबाइलको एसएमएसमा पहिले नै आएको थियो। साथै हाम्रो कम्पनीका तर्फबाट पनि ९ हजार डलर पाउने जानकारी पाएको थिएँ। यस्तै हङकङ सरकार कोरोना महामारीको राहत सहयोग रकम स्वरुप १० हजार एचके डलर पनि छिट्टै पाइने जानकारीसमेत पाएँ।
क्वारेन्टाइनभर सहयोग गर्ने स्वास्थ्यकर्मी र हङकङ सरकारलाई धन्यवाद!
थप तस्बिरहरू
सुरेन्द्र रानासँगको कुराकानीमा आधारित