राज्य व्यवस्था तथा सुशासन समितिकाे प्रस्ताव: विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ। 

नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पास भए लगतै नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी छ। 

त्यसअनुसार सभापति शशी श्रेष्ठले मंगलबार बैठक बोलाएकी छन् र विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश गरेकी छन्।

समितिको तर्फबाट पेश गरिएको प्रस्तावमा ७ वर्ष स्थायी रुपमा नेपालमा बसेको वडाको सिफारिस र अन्य मुलुकको नागरकता वा राष्ट्रियता खुलेको कुनै प्रमाणपत्र लिएको भए त्याग गर्ने प्रक्रिया चलाएको वा नलिएको भए त्यसको प्रमाण पेश गरेपछि वैवाहिक अंगीकृत नागरिकता लिने बाटो खुल्नेछ।

वैवाहिक नागरिकता पाउनुअघिको अवधिका लागि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थानीय आवासीय अनुमति दिने समितिको प्रस्ताव छ।

हाल नेपाल नागरिकसँग विवाह गरेपछि विदेशी महिलाले अंगीकृत नागरिकताका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: : 2020-06-16 15:25:50

प्रतिकृया दिनुहोस्