अनुभूति
त्यो समय हाम्रो गाउँमा पढेलेखेका मान्छे पाउनै मुस्किल थियो। त्यसैले गाउँमा शिक्षक पाउन सजिलो थिएन। मैले दूधपोखरी माध्यमिक विद्यालयबाट एसएलसी दिएलगत्तै गाउँमै पढाउन थालें। यो कुरा २०४३ सालको।
एसएलसीको परीक्षाफल आउँदा म उर्तीण भएँ। एसएलसीपछि कलेज जीवन शुरू गर्नु थियो। एक मनमा पढाइ सकेर स्थायी जागिर खान पाए हुन्थ्यो भन्ने थियो। अर्को मनमा बुबा जस्तै मलायाको लाहुरे बन्ने हुटहुटी चल्दै थियो। मनमा बरोबर कुरा खेलिरहन्थ्यो।
मैले आफ्नो विद्यालय जीवन सम्झें। गाउँबाट सोंधामा ओर्लेर मावि पढ्न गर्नु परेको संघर्ष, उकालीओराली, बर्खाको दुःख, मादीको चोयाको पुल सबै सम्झें। सम्झँदासम्झँदै आफ्नै मनसँग भनें, ‘हाम्रो गाउँमै माध्यमिक कक्षा चलाउनुपर्छ। गाउँका भाइबहिनीले ताङतिङमै पढ्न पाउँदा कति राम्रो हुन्थ्यो होला !’
त्यो बेला पोखराको बगरमा पृथ्वीनारायण क्याम्पस मात्र थियो। जुन क्याम्पसको विकासमा स्थापनाकालदेखि नै शिक्षाविद् जोर्ज जोन र डा. एलियाम्मा जोनको अतुलनीय योगदान छ। विसं २०१७ भदौमा खुलेको क्याम्पसमा लामो समय शिक्षा दान गरेका उहाँहरू यतिबेला रिटायर्ड लाइफ बिताउँदै हुनुहुन्छ।
भारतको केरलामा जन्मेहुर्केको जोन दम्पक्ति समग्र पश्चिमाञ्चल क्षेत्रको उच्च शिक्षाको ज्योति बनेर उभिनुभयो। सबैको प्रेरणापुञ्ज बन्नुभयो। बुढ्यौलीमा पनि उहाँहरू विभिन्न कार्यक्रममा उपस्थित भएर ज्ञानज्ञुन बाँड्नुहुन्छ। नेपाललाई कर्मभूमि बनाउनु भएका उहाँहरू पोखरामै बस्नुहुन्छ। उहाँहरूलाई देख्दा श्रद्धाले शीर निहुरिन्छ।
बुबाआमासँग सल्लाह गरी तीनै जोन दम्पत्तिको पसिनाले सिंचित क्याम्पसमा भर्ना हुन पोखरा झरें। विसं २०४४ को साउने झरीमा रुझ्दै विजयपुर खोला तरेर काहुँखोलामा पुगें। पोखरामा बस्नलाई रानीपौवास्थित मामा गमबहादुर र फुपू नौमायाले ज्यादै सहयोग गर्नुभयो। पछि आइए दोस्रो वर्षमा फूलबारीस्थित माइला मामा टंकप्रसाद र फुपू शिरकाशीले पनि गुन लगाउनुभयो।
सेती किनारमा रहेको क्याम्पसमा ं२०४४ देखि २०४६ सालसम्म आईए पढें। बडो मेहेनत गरेर उर्तीण भएँ।
खासमा हामीलाई क्याम्पस अचम्मको लाग्थ्यो। देशभरबाट हजारौँ विद्यार्थी पढ्न आउँथे। पढाइका साथसाथै अन्य कार्यक्रम पनि गरिन्थ्यो। गीतसंगीत, चेतनामूलक प्रहसन, राजनैतिक गतिविधि, खेलकुद आदि।
क्याम्पसको पढाइ राम्रो थियो। विद्यार्थीले भरिएका कोठामा प्राध्यापकहरू राम्रोसँग पढाउँथे। हामी विद्यार्थी लगनशील थियौं। अध्ययनशील पनि। फुर्सदमा हामी क्याम्पसको पुस्तकालयमा धाउँथ्यौं। पाठ्यक्रमका विषय बाहेक पुस्तकालयमा कथा, उपन्यास, कविता र पत्रपत्रिका पढ्थ्यौं। आफ्नो ज्ञानको क्षितिज फराकिलो बनाउँथ्यौं। पुस्तकालय व्यवस्थित र शान्त थियो।
त्यतिबेलाका सहपाठीहरूमा याङ्जाकोटका लेखबहादुर गुरुङ, राजेन्द्र गुरुङ, गणेश गुरुङ, सिक्लेसका जितबहादुर गुरुङ, तप्राङका इमान गुरूङ, लमडाँडाका धर्मेन्द्र गुरुङ, खिलाङका चेतबहादुर गुरुङ, तारकाङका बिष्णु सापकोटा ,ताङतिङकै परशुराम गुरुङ, कुमानसिंह गुरुङ लगायत थिए। हामी बाँझापाटन, माटेपानी, रानीपौवा क्षेत्रमा बस्थ्यौं। त्यहीँबाट क्याम्पस आउजाउ गथ्र्यौं।
हामी क्याम्पसमा पढेका कुरा राम्रोसँग मनन गर्ने, सन्दर्भ सामाग्री किन्ने, कक्षामा छलफल गर्ने र आपसमा सहयोग गर्ने गथ्र्यौं।
मुलुकमा पञ्चायती व्यवस्थाको राज थियो। बेलाबेलामा विद्यार्थी सङ्गठनबीच सामान्य झडप भैरहन्थ्यो। तिनले कहिलेकाहीँ क्याम्पस बन्द पनि गराउँथे। क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ हुनुहुन्थ्यो। स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा झलक सुवेदी (हालका बुद्धिजीवी एवं विश्लेषक) हुनुहुन्थ्यो र रविन्द्र अधिकारी (स्व. पर्यटन मन्त्री) स्ववियूमा सदस्य हुनुहुन्थ्यो।
यसरी ज्ञानको महासागर पृथ्वीनारायण कलेजमा गएर अध्ययन गर्दा धेरैतिरबाट आएका साथीहरूसँग अन्तक्र्रिया भयो। सामीप्य बढ्यो। सकारात्मक सोचसहितको सिकाइले आफ्नो समाज, देश र विश्वमै योगदान पु¥याउने भावना विकास गरायो।
विसं २०४६ मा देशमा राजनैतिक परिवर्तन भयो। त्यही वर्ष मैले आइए गरें। स्नातकोत्तरसम्म पढ्ने धोको थियो। त्यसैले अर्को वर्ष स्नातक तहमा भर्ना भएँ।
पहिला सँगै पढेका धेरै साथीसँगी विदेसिइसकेका थिए। जीवनमा सबैका आआफ्ना सपना, लक्ष्य र समस्या हुन्छन्। लाहुरे बन्ने सपनासँगै हुर्केको म। ठूलो हुँदै जाँदा लाहुरे नै बन्नुपर्छ भन्ने भावना कम हुँदै गयो। यद्यपि भर्तीका लागि छातीमा फित्ता नापियो तर मनबाटै तयारी गरिनँ।
मनले आफ्नै गाउँ ताङतिङमा मावि तह खोल्ने निर्णय गरिसकेको थियो। बेलायती सेनाका रिटायर्ड मामा गमबहादुरले भर्तीमा जान निकै प्रेरणा दिनुभयो। उहाँले सहयोग पनि गर्नुभयो। लाहुरे बन्न भनेर म ब्रिटिस क्याम्प, पोखरामा दुई पटक पसें। अन्तरआत्माबाट तयारी नगरेकाले भर्तीमा सफल भइनँ। त्यसपछि भारतीय सेनामा भर्ती हुने वा वैदेसिक रोजगारमा जाने विकल्प पनि खोजिनँ।
स्नातक पढ्दै थिएँ। गाउँमा शिक्षकको आवश्यकता परेकाले २०४८ साल कात्तिकमा अस्थायी नियुक्ति लिएर ताङतिङ फर्कें। पहिला पनि ८ महिना जति पढाएको र आफूले ७ कक्षासम्म पढेको विद्यालयमा पढाउने मौका मिल्यो।
मैले अध्ययन–अध्यापन सँगसँगै लगें। स्वाध्ययनमा जोड दिएर २०५१ सालमा स्नातक गरें। त्यसपछि शिक्षाशास्त्रबाट २०५४ ताका शैक्षिक प्रशासन र विद्यालय व्यवस्थापनमा पृथ्वीनारायण क्याम्पसबाटै स्नातक (एक वर्षे बिएड) गरें। त्यही वर्ष मेरो सपना पूरा भयो–मैले भूगोल विषयमा एमए पूरा गरें।
मलाई सहपाठीहरूले गुन लगाएका थिए जुन यो जीवनमा चुकाउनै सक्दिनँ होला ! असारसाउनमा हामी यसरी पढ्थ्यौं कि घाम कताबाट उदायो र कता पुगेर अस्तायो भेउ नै पाउँदैनथ्यौं। अध्ययनमा चुर्लुम्म डुब्थ्यौं।
यसरी उच्च शिक्षा प्राप्त गरेर गाउँ फर्कें। मैले स्नातकोत्तर गरेकै वर्ष अर्थात् २०५४ सालमा पढाइरहेकै विद्यालयमा प्रधानाध्यापकको नियुक्ति पाएँ। पछि २०७० मा छात्रवृत्तिबाट कोरियास्थित युगनाम विश्वविद्यालयमा पार्क चुङ हि स्कुल अफ समुल एण्ड पोलिसीबाट समुदायको नीति, नेतृत्व र आर्थिक विकासमा दोस्रो स्नातकोत्तर गर्ने अवसर पनि मिल्यो।
डबल डिग्री गर्न पाउँदा हर्षित छु। तर सत्य कुरा किताबी ज्ञानबाट लिइएको डिग्रीभन्दा व्यावहारिक अभ्यासबाट प्राप्त ज्ञान धेरै महत्वपूर्ण हुन्छ।
पाहार ट्रस्ट नेपालले २०५७ सालमा हाम्रो विद्यालय भवन बनाउन सहयोग ग¥यो। त्यसपछि हामी गाउँमा माध्यमिक विद्यालय खोल्न सफल भयौ। परिणामः हामीले जसरी ताङतिङे बालबालिकाले मावि पढ्न सोंधा वा पोखरामा धाउनु परेन।
गाउँमै मावि खुल्यो। मनमा आत्मसंतोष बढ्यो। आज पनि म यहीँ विद्यालयमा बसेर प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै छु। जति बाँच्छु त्यतिञ्जेसम्म आफूलाई शैक्षिक उन्नयनमा समर्पित गर्ने छु।
(हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख ‘ताङतिङ मेरो गाउँ’ पुस्तकको एक अंश।)