गुञ्जी, नाभी र कुटीका तीन हजार बासिन्दाले ‘अब नेपाली नागरिकता लिन सक्छन्’

नेपाल खबर

काठमाडौं

भारतीय अतिक्रमणमा रहेका गुञ्जी, नाभी र कुटी गाउँ नेपालले आफ्नो नक्सामा समेटेसँगै त्यस क्षेत्रका बासिन्दाले नेपालको नागरिकता लिने बाटो खुलेको छ।

अब अतिक्रमित गाउँका तीन हजार बढी बासिन्दाले नेपालको नागरिकता लिन पाउने संविधानविद् पूर्णमान शाक्य बताउँछन्।

‘सो क्षेत्रमा बासिन्दाले नेपालको नागरिकता लिन चाहेमा सरकारले नागरिकता उपलब्ध गराउनु पर्छ। त्यसका लागि उनीहरुले त्यस क्षेत्रमा बस्दै आएको प्रमाण पेस गरे पुग्छ,’ अन्तर्राष्ट्रिय कानुनका विज्ञ शाक्यले भने, ‘अहिले उनीहरुसँग भारतको आधार कार्ड होला। तर, त्यो जमिन नेपालको हो। त्यस क्षेत्रमा मानिस नेपाली नै हुन्। अन्य क्षेत्रका बासिन्दा सरह अब उनीहरुले पनि नागरिकता पाउँछन्।’

नेपाल सरकारले लिम्पियाधुरासहितको क्षेत्र समावेश गरेर अध्यावधिक नक्सा जारी गरिसकेको छ। नयाँ नक्सालाई संविधानको निशान छापमा राख्न प्रस्तुत गरिएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाले सर्वसम्मतिमा पारित समेत गरिसकेको छ।

भारतीय नियन्त्रणमा रहेको सो क्षेत्र नेपालको राजनीतिक नक्सामा व्यास गाउँपालिका वडा नम्बर १ मा पर्छ। अहिले नक्सामा समेटिएको त्यस क्षेत्रमा गुञ्जी, नाभी र कुटी नाम गरेका तीन वटा गाउँ छन्।

प्रकाशित मिति: : 2020-06-15 08:12:08

प्रतिकृया दिनुहोस्