लकडाउन कहर, कोरोनाको जहर

रातोपाटी

काठमाडौँ

खगेन्द्र संग्रौला

यो ट्वीटमा ट्वीटे लताको ट्वीटरको निशाना कोही छ कि यो केवल एउटा ब्ल्याङ्क फायर हो म जान्दिनँ । रोचक कुरा, ओली सरकारको बुद्धि खसोखास यो ट्वीटको तीर ताकिन लायक छ । लकडाउन खुकुलो पार्ने योजनाको ऐनामा सरकारको यो सुगामार्गी चरित्र प्रस्टैै देखिन्छ । र, मुख छोपेर भन्न मन लाग्छ— कठै ! कत्ति न जान्ने हुँ भन्ने ओली सरकार माने  खसोखास सुगा सरकार ! मौलिक चिन्तन, नूतन परिकल्पना र विशिष्ट योजनाशून्य  । कहिले माथिकाको सुगा, कहिले तलकाको सुगा, कहिले परकाको सुगा । सदैव स्वत्व र निजत्वशून्य नक्कले सुगामात्र ।

कोरोनाकालीन लकडाउनको प्रयोजन एउटा थियो, सरकारले गर्‍यो अर्थोकै । यसले प्रायः सुकाम होइन केवल नकाम गर्‍यो । र, यसले दुनियाँको लिनुविधि हुर्मत लियो । नागरिकलाई घरघरमा थुनेर चाल पाइने गरी यसले घुस र कमिसन कुम्ल्यायो । यसले सडकमा नागरिकका थाप्लामा अनाहकमा लाठा बजार्‍यो । कोरोना माहामारीमा सीमापारिबाट घर आउन आतुर नागरिकहरुलाई यसले त्यतै बस, त्यतै मर भन्यो । आखिरमा चौतर्फी आक्रोश, निन्दा र विरोधपछि लम्बेतान लकडाउन खुकुल्याउन यो बाध्य भयो । तर लकडाउन खुकुल्याउनु के छ, यी अभागी आँखाले सरकारको बुद्धि खुकुलिएको पो देख्नुपर्‍यो ।

प्रकाशित मिति: : 2020-06-15 08:03:47

प्रतिकृया दिनुहोस्