शार्दूलविक्रीडित छन्द
ए मान्छे, तँ त बुद्धिमान जन होस् भन्ने म ठान्थें सदा
हाम्रो रक्षण गर्न खातिर यहाँ आइस् म मान्थें सदा
यै विश्वास छुरा भएर तनमा धर्स्यो बडो बेसरी
आफ्नो ज्यान बचाउनै सकिनँ लौ बच्चा बचाऊ हरि॥१॥
बल्दो बारुदको धुलो कुजनले पस्क्यो सिधा गाँसमा
मायाको मुखुटा धरेर छलले ल्यायो दुवै हातमा
ख्वायो अन्न पिशाचले खुरुखुरू फाट्यो भुँडी चर्चरी
आफ्नो ज्यान बचाउनै सकिनँ लौ बच्चा बचाऊ हरि॥२॥
साह्रै दुख्दछ पेट भत्भति पुरै के पापको हो फल?
बुझ्नै सक्दिन राइँदाइँ यसतो के नै गरेकी छु र ?
स्वार्थी निर्ममता भए जन सबै जाऊँ कहाँ के गरी
आफ्नो ज्यान बचाउनै सकिनँ लौ बच्चा बचाऊ हरि॥३॥
हे आमा तन सल्कियो अनलले के मृत्युसंकेत हो ?
ख्वै गल्ती त थिएन तापनि अहो कस्तो महाखेद हो
भन्दै बालक रुन्छ है धुरुधुरू आँखा पुछूँ के धरी
आफ्नो ज्यान बचाउनै सकिनँ लौ बच्चा बचाऊ हरि॥४॥