नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न आज संसदमा मतदान हुँदै

नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न ल्याइएका संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा आज (शनिबार) मतदान हुँदैछ।

संघीय संसद सचिवालयले जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो। हिजोसम्म संशोधन दर्ताको समय थियो।

संशोधनको अवधि सकिएलगत्तै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो।

संघीय संसद सचिवालयको आज १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।

विधेयकमा दफाबार छलफलपछि पारित गर्ने प्रक्रिया अघि बढ्नेछ। हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संविधान संशोधन विधेयक पारित हुनेछ।

संंसदमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन्।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो। निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो।
 

प्रकाशित मिति: : 2020-06-13 07:02:54

प्रतिकृया दिनुहोस्