ललितपुरको बंगलामुखी मन्दिर नजिकै बम राखेर भाग्ने क्रममा प्रहरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गरेको छ।
बंगलामुखी मन्दिर नजिकै इखाछेँमा राखिएको बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ।
घरेलु बम डिस्पोज गराउने क्रममा उक्त एरियामा ठूलो आवाजसमेत आएको थियो। यसैबीच बम राखेर भाग्दै गरेको अवस्थामा प्रतिबन्धित नेकपा स्थानीय नेता सानुराजा बज्राचार्य पक्राउ परेका छन्।
ललितपुर-११ निवासी उनी विप्लव समूहका जिल्ला सदस्य रहेको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीका अनुसार बज्राचार्यको साथबाट एउटा कटुवा पेस्तोल र तीन थान घरेलु बम बरामद भएको छ।
बरामद बम भने घरेलु भएकाले तत्कालै डिस्पोज गराइएको कार्कीले बताए। बज्राचार्यसँग अहिले सोधपुछ भइरहेकाले विस्तृत विवरण भोलि मात्रै खुल्ने कार्कीले बताए।
उनको साथबाट पक्राउ बरामद गरिएको सकेट बम नेपाली सेनाको टोलीले लगेर सकेट बम डिस्पोज गरेको समेत एसएसपी राईले जानकारी दिए। वज्राचार्यलाई हातहतियार तथा खरखजान मुद्दामा अनुसन्धान सुरू गरिएको बताए।