सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्केका नागरिकलाई कोरोना भाइरस परीक्षण नगरी घर पठाइने भएको छ।
प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव भएकाले १४ दिन क्वारेन्टाइनमा बसेकालाई परीक्षण बिनै घर पठाइन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
‘१४ दिन क्वारेन्टाइनमा बसेकामा कुनै लक्षण नदेखिए मापदण्डअनुसार ‘होम क्वारेन्टाइन’ बस्ने गरि पठाउँछौं।’
उनका अनुसार प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै पीसीआर परीक्षण गर्न सकिने छ।
तर भारतबाट फर्किएर प्रदेशका ९ वटा जिल्लामा हाल ६६ हजार जना क्वारेन्टाइनमा बसेकोले ती व्यक्तिको परीक्षण गर्न आरडिटी किट अभाव छ।