दोहोरो आर्थिक दुष्चक्र

पहिलो विश्व युद्व (१९१४–१९१८) सम्म कृषिमा आधारित नेपाली अर्थतन्त्र पूर्ण आत्मनिर्भर थियो। कृषि र पशुपालनको प्रचुर उत्पादनले अर्थतन्त्रमा निर्यातको हिस्सा बलियो थियो। नेपालको कृषि उपज तात्कालिन बेलायती औपनिवेशिक भारत र तिव्वत दुवै तर्फ निर्यात हुन्थ्यो। पहिलो विश्वयुद्वमा २ लाख उर्जाशिल युवा बेलायती सेनामा भर्ती भए। युद्वपछि १ लाख युवा ज्याला दिएर फर्काइए। ३०–४० हजार मारिए। फर्किएका लाहुरे युवा कृर्षि पेशामा फर्किएनन्। कोही बसाइ सरे, कोही जुवा, सुधा, सुन्दरीको लतमा फसे। तात्कालिन जाहानीया शासकले एक जवान बराबर एक राइफल र निश्चित निजी स्वार्थको लागि युद्वमा होमी दिए पौरखी युवालाई। करिव ५४ लाख हाराहारीको तात्कालीन कूल जनसंख्याको २ लाख उर्जाशिल र वलिष्ठ युवाको बिदेश पलायनसंगै हाम्रो कृषि अर्थतन्त्र थला पर्‍यो। त्यहीबाट सुरु भयो नेपाली अर्थतन्त्रको दोहोरो आर्थिक दुष्चक्रको वियोगान्तक किस्सा। हाल करीव ६० लाख नेपाली युवाशक्ति सैनिक, गैरसैनिक बैदेशिक रोजगारीमा संलग्न रहेको तथ्याङ्कले देखाउ छ। शासकको स्वार्थबाट आरम्भ यो बिदेश यात्रा रहर, लहड, वाध्यताहुँदै आज नेपाली समाजको संस्कृति नै बनिसकेको छ। आज विश्वका ११० भन्दा बढि मुलुकमा आफ्नो मलिलो पसिना बगाइरहेका छन् नेपाली युवाशक्ति।  

आदिम कालिन मानव समाज र सभ्यतामा उत्पादनको प्रत्यक्ष सम्बन्ध तात्कालिन आवश्यकता र आत्मनिर्भरतासँग थियो। उद्विकास (ईभोलुशन) को क्रममा मानव समाज र सभ्यता परिस्कृत र आधुनिक बन्दै गयो। मानवको ज्ञान, चेतनाकोस्तरसंगै आवश्यकता र उत्पादन प्रविधि दुबैमा व्यापक परिवर्तन आयो। संसारका हरेक मुलुक विश्व व्यवस्थामा बाँधिए। आत्मनिर्भर समाज र राष्ट्रहरु परनिर्भर र अन्तरनिर्भर बन्दै गए। आज उत्पादन, व्यापार, नाफा, श्रम सम्बन्ध एक राष्ट्रिको अर्को राष्ट्रिमाथिको प्रभुत्वको कडी बनेको छ। धनी राष्ट्रले गरिव राष्ट्रिमाथि चरम शोषण गरिरहेका छन्। सस्तो श्रम र कच्चा पदार्थ निर्यात गर्ने अर्ध–मोफसल (सेमी–पेरिफेरी) र मोफसल (पेरिफेरी) राष्ट्रहरु केन्द्र (कोर) राष्ट्रका आर्थिक शोषणको दुष्चक्रमा फसिरहेका छन्। विश्वका विभिन्न राष्ट्रहरूबीच असमान सम्बन्ध स्थापित छ। धनी राष्ट्र झनझन धनी र गरिब राष्ट्र झनझन गरिवीको चपेटामा परिरहेका छन्। जसको वस्तुपरक विश्लेषण विश्व व्यवस्था सिद्धान्तका प्रतिपादक अमेरिकी समाजशास्त्री इम्यान्युएल वालरस्टिनले गरेका छन्।

नेपालमा आज पनि राज्य नै युवाशक्तिको विदेश पलायनमा सहजकर्ताको भूमिका खेल्दै आएको छ। देश मै युवा ज्ञान, सिप र श्रमको उपयोग नगरेर वैदेशिक रोजगारीको प्रवर्धनको नीति लिदै आएको छ। हाम्रो आन्तरिक लगानी उत्पादनशिल क्षेत्रमा भन्दा गैरउत्पादनशिल क्षेत्रमा छ। उद्योगमा भन्दा व्यापारमा छ। व्यापारमा आयातित वस्तुको वर्चस्व छ। राजस्वको ठूलो हिस्सा पनि आयातबाटै संकलन हुने गर्छ। मुलुकमा उपलव्ध श्रम र कच्चा पदार्थको चासो र चिन्ता व्यापारीको प्राथमिकता पक्कै पर्दैन्। देशका शिर्ष नेतृत्वले तिनै व्यापारीसँगको मिलोमतोमा आर्थिक नीति र रणनीति निमार्ण गर्दै आएको बिभिन्न घटना क्रमले पुष्टि गरिसकेको छ। सीमिति नवधनाढ्य र व्यापारीको स्वार्थ र लाभ अनुकूल वातावरणका कारण उत्पादनशिल क्षेत्रले लगानीको प्राथमिकता पाउन सकेको छैन्। रोजगारीको अवसर फराकिलो बन्न सकेको छैन्। युवा बिदेशिने क्रम झन बढ्दो छ। देशमा भित्रिने सम्पूर्ण विप्रेषण वस्तु आयात मै सकिन्छ। तथ्याङ्कले देखाएको विप्रेषणको २८ प्रतिशत बचतको अधिकांश हिस्सा पनि त्यही नवधनाढ्य र व्यापारी वर्गको पोल्टो जाने गरेको छ। तसर्थ जसरी देश बाह्य आर्थिक दुष्चक्रमा फसेको छ त्यसै गरी आन्तरिक चक्रव्यूहमा पनि भासिएको छ। यो लेख त्यही आन्तरिक स्वार्थी समूह र तिनले रचेका आर्थिक चक्रव्यूह र शोषणको विश्लेषणमा केन्द्रीत हुने छ।

असक्षम नेतृत्वको स्वार्थः हरेक राजनीतिक आन्दोलन र क्रान्तिका निर्णायक शक्ति हुन्-देशका युवाशक्ति। हरेक दलले युवा रोजगारीलाई प्राथमिकतामा राख्दै आएका छन्। तर, त्यो प्राथमिकता दल र नेताका आन्दोलन, क्रान्ति र चुनावमा युवाशक्तिको उपयोग गर्ने रणनीति मात्र सावित हुँदै आएको छ। दल र नेताका रोजगारीका योजना र वास्तविक अवस्था असाध्यै बिडम्वनापूर्ण छ। उपलव्ध सीमित रोजगारीको अवसर पनि आम युवाको पहुँच भन्दा वाहिर छ। फलतः राज्यसत्ता देशको समृद्धिको लागि स्वदेश मै युवा जनशक्तिको उपयोग गर्नु पूर्ण रुपमा चुक्दै आएको छ। वैदेशिक रोजगारीमा म्यानपावर कम्पनीले झै सहजकर्ताको भूमिका निभाइरहेको छ। अप्रत्यक्ष रुपमा म्यानपावर कम्पनीले झै बिदेशिने युवासँग विप्रेशण रुपी रकम असुलिरहेको छ। श्रम स्वीकृति र नविकरण मार्फत वर्षिक अरबौं राजश्व उठाइरहेछ। युवाहरु बिकल्पहिन बनेर बिदेशिन विवस छन्। हाल ६० लाख युवा विश्वका ११० भन्दा बढी मुलुकमा बैदेशिक रोजगारीमा संलग्न रहेको तथ्याङ्कले देखाउँछ। एक पटक सोचौं–त्यो ६० लाख युवा देशभित्रै बेरोजगार अवस्थामा हुन्थे भने हमेसा सत्ता र शक्तिको चरम मोज लुट्दै आएका शीर्ष दल र नेताहरु दुवैको राजनीतिक भविष्य चरम खतरामा पर्थ्यो। देशमा नयाँ सशक्त राजनीतिक शक्तिको उदय हुन्थ्यो। विद्यमान शक्ति भित्रै पनि युवा पुस्ता अगाडि बढ्ने वातावरण बन्थ्यो। देशको राजनीति त्यता जान्थ्यो जता ती युवाशक्ति चाहन्थे। देशमा फरक राजनीति संस्कार बस्थ्यो। तसर्थ हाम्रा दल र नेताहरु स्वदेशमा रोजगारी सृजना गर्न भन्दा फ्री भिसा र फ्री टिकटको नीति (यद्यपि यो हाल कार्यान्वयनमा आएको छैन) ल्याएर भए पनि युवालाई बिदेश पलायनमा म्यानपावरले झै सहिजीकरण गर्ने नीति लिइरहेका छन्। यसले एकातिर नेताको असक्षमतामा मुखुण्डो पहिराएको छ, अर्कोतिर ६० लाख युवा जनशक्तिप्रतिको दायित्व र जिम्मेवारबाट नेतृत्वलाई छुटकारा मिलेको छ। यति ठूलो जनसंख्याप्रतिको सेवा, सुविधाको भारमुक्त भइरहेछ राज्य सरकार। एवं रीतले न गाई पाल्ने झन्झट, न त घास, भकारोको टण्टा विप्रेषण रुपी पोशिलो दूग्धजन्य पदार्थ नियमित सेवन गर्न पाइएकै छ। साथै विदेशमै दल निकट संघ, संगठन खोलेर नेताहरुले विदेश भ्रमण र आफ्ना अभीष्ट अनुकुल उपयोग गर्न पाइएकै छ। अनि त दल र नेताले स्वदेश मै रोजगारी सृजना गरेर युवालाई विदेश पलायनबाट रोक्ने प्रश्नै आउदैन नि होइन र ?

रियल स्टेट र व्याजमा लगानी गर्ने मालामालः कसैको विवसता कसैको निम्ति स्वर्णिम अवसर बन्दै आएको छ। एकथरीलाई हातमुख जोड्नै मुस्किल, एकथरी रातारात अकुत सम्पत्ति जोडेर नवधनाढ्यको रुपमा स्थापित हुँदैछन्। जसले बैदेशिक रोजगारीमा जाने गाउँघरका युवाहरूलाई ऋण लगानी गरेर चर्को व्याज असुलिरहेका छन्। धितो बन्धकीबाट सुन फल्ने जमिन हत्याइरहेका छन्। जुन तथ्यलाई देशमा भित्रने विप्रेषणको २५.३ प्रतिशत ऋण तिर्नमा खर्च हुने तथ्याङ्कले पूष्टि गर्छ। अन्तर्राष्ट्रिय आप्रवासनका साथै आन्तरिक आप्रवासनमा समेत बैदेशिक रोजगारीको निर्णायक प्रभाव रहदै आएको छ। बैदेशिक रोजगारीमा आश्रित परिवारहरू प्रायः आफ्नो थातथलो छोडेर मुख्य सहर वा सदरमुकाममा बसाइ सर्ने प्रवृत्ति छ। घर, जग्गा, अपार्टमेन्ट जोड्ने गरेका छन्। मुलुक भित्रने कूल विप्रेषणको ३ प्रतिशत सम्पत्ति खरिदमा खर्च हुने गरेको तथ्याङ्क छ। यसले प्रत्यक्ष रूपमा रियल स्टेट व्यापार फस्टाउन प्रत्यक्ष मद्दत पुग्दै आएको छ। सहरमा घर जग्गा खरिद गर्न नपुग रकम जोहोको लागि गाउँको पुर्खौली सम्पत्ति पनि बिक्री गर्ने चलन देखिन्छ। धन्याढ्यले कौडीको भाउमा उर्वर जमिन खरिद गरेर नाफा कमाउन सफल हुँदै आएका छन्। देशका बिभिन्न स्थानमा गरिव युवाका खेतीयोग्य जमिन यीनै व्यापारी लगानीकर्ताको मुनाफाको लागि टुक्रिदै गएको छ। उद्योगमा भन्दा ठूला भवन निमार्ण गरेर भाडा खान पल्किएका सहरी पैसावाल पनि बैदेशिक रोजगारीमा आश्रित परिवारबाट पोसिदै आएका छन्। प्रायः रियल स्टेट व्यापारमा पनि केही नेता उच्चपदस्त कर्मचारी लगायत अवैध सम्पत्ति आर्जन गर्नेको समेत संलग्नता रहेको देखिन्छ। यस्ता व्यक्तिलाई यो धन्दाबाट अबैध सम्पतिलाई वैध बनाउने अवसर पनि मिल्ने गरेको छ। यसरी वैदेशिक रोजगारीमा जाने युवाका पुर्खौली सम्पत्ति र पसिनाको आर्जन दुवै अन्ततः सीमित वर्गकै पोल्टोमा जाने गरेको छ। तसर्थ राज्य सरकार रोजगारी सृजना गरेर युवालाई देशमै रोक्न पटक्कै गम्भीर नहुने गरेको छ।

निजी शैक्षिक संस्था र अस्पतालको व्यापारिक लाभः विप्रेषणको ९.७ प्रतिशत शिक्षा र स्वास्थ्यमा खर्च हुने गरेको छ। बैदेशिक रोजगारीमा आश्रित परिवार आर्थिक हिसावले तुलनात्मक रुपमा सक्षम  हुन्छन् र शिक्षा र स्वास्थ्यमा सचेत पनि। जसका कारण पनि वैदेशिक रोजगारीमा आश्रित परिवार सदरमुकाम वा सहरी क्षेत्रतर्फ वसाइ सर्ने गर्छन्। निजी शैक्षिक संस्था र निजी अस्पताल नै उनीहरुको रोजाइमा पर्नेगर्छ। वैदेशिक रोजगारिमा जाने परिवारको आन्तरिक आप्रवासनले प्रत्यक्ष रुपमा सदर मुकाम र सहर केन्द्रित निजी शैक्षिक संस्था र अस्पतालको व्यापारको प्रवर्धन गर्ने गरेको छ। सहर केन्द्रीत निजी शैक्षिक संस्था र अस्पतालका लगानीकर्ता, व्यापारीलाई विप्रेषणबाट प्रत्यक्ष लाभ पुग्दै आएको छ। जुन नेता लगायतका नवधनाढ्य, माफियाहरुको समेत लगानीको प्राथमिकतामा पर्ने गरेको छ। बैदेशिक रोजगारीको निरन्तरताले उनीहरुको लगानी र लाभ दुवै सुनिश्चित र सुरक्षित बनिरहेको देखिन्छ।

सहर केन्द्रीत व्यासायको प्रर्वधनः खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा कूल विप्रेषणको २३.९ प्रतिशत खर्च हुने गरेको छ। विवाह, व्रर्तबन्ध लगायतका सामाजिक कार्यमा ३.५ प्रतिशत र ५.५ प्रतिशत अन्यमा। यो खर्चको प्रतिशतले सहरी क्षेत्रको समग्र व्यापार व्यवसायलाई प्रत्यक्ष रुपमा चलायमान बनाउने गरेको छ। बैंक बित्तिय क्षेत्रमा तरलता थप्ने गरेको छ। साना किराना पसलदेखि ठूला सुपर मार्केट अनि सपिङ्ग मलसम्मका व्यापारमा विप्रेषणको प्रभाव रहदै आएको छ। पार्टी प्यालेस, रेष्टुरेन्ट, सिनेमा हल, सडक, हवाइ यातायात लगायत समग्र आन्तरिक पर्यटन क्षेत्रमा समेत यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदै आएको छ। टेलिभिजन, मोवाइल, सावारी साधन लगायतका विलासी बस्तुको वजार पनि फराकिलो हुँदै आएको छ विप्रषाण कारण। मुलुकको लगानी र व्यपारमा केही सीमिति वर्गकै प्रभुत्व रहदै आएको छ। शिक्षा देखि अस्पताल, बैंक, बित्तिय क्षेत्र, चुरोट, रक्सिीदेखि औषधी, निमार्ण सामग्री, मोबाइल, होमएप्लाइन्सेस देखि सवारी साधनसम्मको लगानी र व्यापारमाथि त्यही सीमित वर्गको वर्चस्व छ। जुन उत्पादन र व्यापारको उपभोक्ताको रुपमा निश्चित परिवारले आर्जित अधिकांश विप्रेषण खर्चिन विवस छन्। तिनका दैनिकी चले पनि न त बचत छ, न त जीवनस्तरमा नै सुधार। फाइदा छ त सीमित ठूला लागनीकार्ता र व्यापारी वर्गलाई जसले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विपे्रषणको बचतको हिंसा थुपार्ने गर्छन्। साना लगानीकर्ता र व्यापारीलाई समेत चुस्ने गर्छन्। त्यही व्यापारीको चंगुलमा छ सरकार। अनि किन लिन्छ युवाशक्तिलाई बिदेश पलायनबाट रोक्ने नीति?

यसरी समग्र मुलुक विप्रेषणबाट उठ्न सक्ने अवस्थै छैन्। जबसम्म अदक्ष श्रम र कच्चा पदार्थको निर्यात गरेर आर्जित विप्रेषणबाट तयारी र विलासी वस्तुहरुको उपभोगको परम्परा रहिरहन्छ। जहिलेसम्म देशमा उद्योग स्थापना गरेर उपलब्ध श्राम र कच्चा पदार्थको उपयोगद्धारा आयातलाई प्रतिस्थापन गर्न सकिदैन्। श्राम र कच्चा बस्तुको ठाउँमा तयारी वस्तु निर्यातमा मुलुक संक्षम हुदैन। तवसम्म बैदेशिक रोजगारीका कारण सृजना हुने बाह्या तथा आन्तिरिक आप्रवासनले गाउ‘का उर्वर भूमि बॉझै रहिरहन्छ। देशमा खाद्यन्न आयातमा तिव्र बृद्धि भइरहन्छ। गाउ‘ विकासको हिसावले झन पछाडि धकेल्लिरहन्छ। यूरोप, अमेरिका लगायतका विकसित मुलुकमा रोजगार केही परिवारले वैभव हाँसिल गरे पनि अधिकांश खाडी मुलुकमा रोजगार परिवार कालन्तरमा झन संकटग्रस्त बन्न पुग्छन्। चर्को ऋणका कारण भएको थोरै जिमीजग्गा पनि गुम्छ। उमेर ढल्दै जादा हमेसा शारीरिक श्राम गर्न सक्ने अवस्था पनि रहदैन्। कमाएको पैसा ऋण तिरोतारे र परिवारको पालन पोषणमै सकिन्छ। परिवार सहरको सुविधामा अभ्यस्त भइसकेका हुन्छन्। गाउ‘ गएर खोर्सने शरीरमा शक्ति र जमिनको टुक्रा दुबै हुदैन। सहरमा रोजगारीको अवस्था अझै पनि सहज बनेको हुदैन। पारिवारिक जिम्मेवारी झनै थपिदै गएको हुन्छ। तसर्थ बैदेशिक रोजगारीले देशलाई बाह्य र आन्तिरिक दुवै आर्थिक दुष्चक्रमा फसाउछ। हाम्रा पसिना र कच्चा पर्दाथले धनी मुलुक झनझन धनी बन्छन्। आन्तरिक रुपमा पनि आर्जेको विप्रेषण विविध क्षेत्रमा खर्च भएर सीमित वर्गकै पोल्टोमा पुग्छ। एउटा वर्ग देश भित्रै टन्न अघाउछ, गरिवीमा झन भासिन्छ त्यो वर्ग जो विदेश चाहरेर पसिना बगाउँछ। 

 

 यो पनि हेर्नुहोस् 

विद्धान शिक्षक प्रकृतिको लद्दु विद्यार्थी हामी मान्छे 

सांकेतिक भषामा मान्छेलाई वातावरण मैत्री व्यवहार र दिगो विकासको नीति अवलम्लन गर्न सचेत गराइरहेको छ। तसर्थ अव सिक्नलाई ढिलो नगरौं, रतिभर हेल्चक्रयाईं नगरौं– यो महामारीले प्रतिकात्मक सजाय र दण्ड दिएर प्रकृति र वातावरण प्रेमी बन्न विश्वकै मान्छेलाई सम्झाइरहेको छ। नत्र कुनै दिन हामीले हाम्रा आफन्त गुमाउने होइन पुरै अस्तित्व गुमाउने छौं। पुरा पढ्नुहोस्

समकालीन दुई फरक सत्य 

नेपालीलाई केरोनाले छुँदैन,’ आजभोलि धेरैले धेरैबाट सुनेको भनाइ हो यो। कसैले सामान्य ठट्टामा लिन्छन् यो आँटलाई। कोही भूपी शेरचनको ‘हामी’ शीर्षकको कविताको ‘हामी वीर छौं, तर बुद्धु छौं, हामी बुद्धु छौं, र त हामी वीर छौं’ भन्ने हरफ सम्झेर मनमनै खिस्स मुस्काउँछन्। पुरा पढ्नुहोस्

प्रकाशित मिति: : 2020-06-12 07:08:00

प्रतिकृया दिनुहोस्