हर रोगका एक दबा चइना टाइगर बाम

रातोपाटी

काठमाडौँ

खगेन्द्र संग्रौला

नवोदित कवि खड्गप्रसाद ओलीको स्वभावगत विशेषता विशिष्ट छ ।  आफ्नो विशेषता झल्काउँदै उनी आज भन्लान्— यो कवितामा भावको विरोधाभाष छ, र छन्दको विचलन छ । तसर्थ यो कविताको रचनाकार म किमार्थ होइन । उनै कवि खड्गप्रसाद ओली भोलि भन्लान्— अचेल मलाई पलपल कविता फुर्छन् । शायद कुनै बेहोसीको क्षणमा मेरो भावलोकबाट यो कविता कतै खस्यो कि ! चञ्चल चित्तको भावुक नर्तन आसु कविको सामथ्र्य पनि हो, कमजोरी पनि ।

यस घडीमा देश–दुनियाँ दुईथरी आतङ्कबाट आक्रान्त छ । कोरोना महामारीको आतङ्कबाट । र, सत्तासिर्जित भ्रष्टाचार, भोक र मृत्युको आतङ्कबाट । कोरानोबाट आजका दिनसम्म चौध जनाको ज्यान गयो । संवेदनाशून्य शासकको लकलाडनकालमा एघार सय पाँच जनाको आत्महत्याले ज्यान गयो । कति दोजिया नारी, डायलसिस वञ्चित दुःखी, किमो थेरापी वर्जित क्यान्सर–पीडित र झाडापखाला पीडित कतिको ज्यान गयो, यसको हिसाब बेहिसाब छ । लकडाउनको नाउँमा नरनारीहरुलाई घरभित्र थुनेर कति कमिसन र घुस खाइयो, यसको अदृश्य हिसाब झनै बेहिसाब छ । यो नेकपा डबलको ओलीराजको यथार्थ कथा हो— निर्मम, विद्रूप र विकराल !  

प्रकाशित मिति: : 2020-06-10 18:33:11

प्रतिकृया दिनुहोस्