भारतको नाकाबन्दीपछि राजा महेन्द्रले दिल्लीमा इन्दिरा गान्धीसमक्ष ‘बोर्डर सिल’ गर्ने प्रस्ताव राखेका थिएः नवराज सुवेदी

२०२६ सालमा भारतसँगको पारवहन तथा वाणिज्य सन्धिको समय समाप्त हुँदा म उद्योग तथा वाणिज्य मन्त्री थिए। यति बेला हाम्रो (नेपाल) भनाइ थियो– अन्तर्राष्ट्रिय मान्यताअनुसार छुट्टाछुट्टै पारवहन तथा वाणिज्य सन्धि गरौं। उनीहरू (भारतीय पक्ष) भने ‘होइन, बेग्ला बेग्लै किन गर्ने पहिले जस्तो एउटै सन्धि गरे भइहाल्छ नि’ भन्ने।  

यसअघि नेपाल र भारतबीच व्यापार सम्झौंता हुँदा पारवहन तथा वाणिज्यलाई एउटै ‘बास्केट’ मा हालेर सन्धि भएको थियो। यो अन्तर्राष्ट्रिय मान्यता अनुसार थिएन। त्यसैले मेरो जोड अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै होस् भन्ने थियो। उनीहरू होइन, पुरानै गरौं भनिरहेका थिए। यसैबीच उनीहरूले अर्को खिचलो निकाले– नेपालका कारण ‘डिफ्लेक्सन अफ ट्रेड’ भयो अर्थात् भारतको व्यापारमा विचलन आयो। 

उनीहरूले यसै बहानामा वार्ता बिथोल्ने विभिन्न उपाय निकाले। नेपालले तेस्रो मुलुकबाट ल्याएको सामान नेपालमा खपत नहुँदा भारत प्रवेश गरेर हाम्रो अर्थतन्त्रलाई घाटा लाग्यो। त्यो रोक्नुपर्‍यो भन्न थाले। 

बिस्तारै हामीलाई सुझाव दिन थाले– वास्तवमा तिमीहरू (नेपाल) किन तेस्रो मुलुकबाट व्यापार गर्छो? तिमीहरूलाई जे जति चाहिन्छ सामान, हामी दिन्छौं। तिमीहरूलाई डलर चाहिन्छ भने के कति, हामीसँग माग, त्यो पनि दिन्छौं। तिमीहरूले तेस्रो मुलुकबाट व्यापार नगर।  

नेपाल सार्वभौम देश भएको हुनाले तेस्रो मुलुकबाट व्यापार नगर्ने भन्ने कुरा आउँदैन्थ्यो। एउटै देशसँग ‘डिपेन्डेन्ट’ भएर बस्ने कुरा पनि भएन। मुख्य यही दुई कुरालाई लिएर झगडा सुरु भयो। २०२६ र २०२७ साल गरेर करिब डेढ वर्ष भारतले नेपालमाथि नाकाबन्दी लगायो। यो नेपाली इतिहासमा छिमेकी देशले लगाएको पहिलो नाकाबन्दी थियो। भारतले हामीलाई दिनुसम्म दुःख दियो। 

भारतको नाकाबन्दीकै कारण पहिलो पल्ट हामीले चीनसँग हात पसार्नु पर्‍यो। सिंगापुरबाट पेट्रोल, मट्टितेल प्लेनबाट ल्यायौं। चीनबाट सामान ओसार्न निकै गाह्रो थियो। अहिले जस्तो सहज थिएन। एउटै नाका थियो, कोदारी राजमार्ग। कोदारीबाट तिब्बत भएर चीन पुग्नै गाडीलाई सात दिन लाग्छ भन्थे। त्यति लामो रुटबाट सामान ल्याउन निकै कठिन र चुनौतिपूर्ण थियो। 

भारतले नाकाबन्दी लगाउँदा हामीहरू अफ्ठेरोमा त पर्‍यौं। तर, त्यसले एउटा गजबको काम गरेको थियो। सम्पूर्ण नेपालीमा राष्ट्रिय भावना जागृत गरायो। र, अरुसँग भरपर्दा गाह्रो हुने रहेछ भनेर केही उद्योग पनि खुल्यो। जस्तो कि नेपाल आयल निगम, त्यही बेला खुलेको हो। कपडा उद्योग खुल्यो। साना उद्योगहरूलाई प्रोत्साहन गर्न साना औद्योगिक निगम स्थापना भयो। 

देशभित्र राष्ट्रियताको यति ठूलो भावना जागेर आयो। गाडी चढ्ने नेपालीले गाडी चढ्न छोडे। ‘गाउँ फर्क अभियान’ का अध्यक्ष विश्वबन्धु थापा साइकल चढेर अफिस जानु हुन्थ्यो। भारतीय नाकाबन्दीले दुःख त भयो तर त्यसले राष्ट्रिय चरित्रमा भने फाइदै गर्‍यो।

***

भारतले नेपालमाथि नाकाबन्दी लगाउनुको उद्देश्य खाली ‘डिफ्लेक्सन अफ ट्रेड’ मात्र कारण हो जस्तो मलाई लाग्दैन। अरु राजनीतिक कारण पनि हुनसक्छ। भारतले नेपालमा नाकाबन्दी लगाइरहेको बेला लुसाकामा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन चलिरहेको थियो। यसमा भाग लिन राजा महेन्द्र सवारी हुने तय भयो। यो थाहा पाएपछि भारतले अनुरोध गर्‍यो– राजा महेन्द्र दिल्ली हुँदै लुसाका जाँदा हामी स्वागत गर्न तयार छौं।

यति बेला महेन्द्र सरकारको पाकिस्तान हुँदै लुसाका जाने कार्यक्रम बन्दै थियो। मैले नै अनुरोध गरे– सरकार भारतसँग व्यापार सम्झौता पनि अड्किएको छ। दिल्ली हुँदै सवारी हुँदा सायद केही कुरा बन्छ कि?’

राजा महेन्द्रलाई अरुले पनि भने होला, उहाँ दिल्ली हुँदै लुसाका जान राजी हुनुभयो र दिल्लीमा पाँच दिन राज भयो। 

यसबीच राजा महेन्द्र र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको लामो कुराकानी भयो। २–३ राउण्ड नै। राजा महेन्द्रले अन्तिममा उहाँहरुकै वार्ताबाट निस्किएकाे मुख्य कुरालाई बुँदागत गरेर इन्दिरा गान्धीलाई एउटा नाेट पठाइबक्सियो–‘तिमी र मेरोबीच भएको कुराकानी निम्न लिखित छ भनेर।’
जसमा राजा महेन्द्रले पठाइबक्सेको नाेटकाे अन्य बुँदामा भारतीय पक्षलाई खासै आपत्ति भएन। तर, एउटा बुँदालाई लिएर भने उनीहरू रिसाए। त्यो बुँदा थियो–नेपाल–भारत ‘बोर्डर सिल’ गर्ने। 

उनीहरूसँग यसअघि वार्तामा बस्दा मैले पनि पटकपटक यो कुरा उठाएको थिए। म भन्थे–‘ठिकै छ, हाम्रो कारणले ‘डिफ्लेक्सन अफ ट्रेड’ भएको छ भने बोर्डर सिल गरौँ।’ उनीहरू कुराकुरामा हुन्छ, गरौँ भन्थे। तर, लिखित प्रस्ताव लिएर गएपछि नमान्ने। पन्छिन खाेज्ने। रिसाउने। 

यस्तो अवस्थामा राजाले नै ‘बोर्डर सिल’ गरौँ भनेपछि भारतीयहरूको पारा छुट्यो। 

लगत्तै लुसाकामा अर्को घटना भयो। राजा–महाराजाहरूलाई बस्नका लागि अगाडि सिट राखिएको रहेछ र प्रधानमन्त्री–मन्त्रीहरूलाई पछाडिको सिट। प्रोटोकल अनुसार राजा महेन्द्रको सिट अगाडि पर्‍यो। इन्दिरा गान्धीको पछाडि। 

राजा अगाडि नै कन्फ्रेन्स हलमा पुगेर आफ्नो सिटमा बस्नुभयो। केही समयपछि इन्दिरा पनि कन्फ्रेन्स हलमा पुगेर पछाडिको आफ्नो सिटमा बस्दा राजा महेन्द्रलाई अगाडि देख्नु भएछ। उहाँ जुरुक्क उठेर राजा महेन्द्र बसेको सिटको पछाडि आएर हात मिलाउन पछाडिबाटै हात अगाडि लैजानु भयाे। त्यति बेला महेन्द्र अगाडिको दृश्य हेर्न मस्त हुनुहुन्थ्यो। उहाँले थाहा पाउनु भएन, पछाडिको सिटबाट इन्दिराले हात दिइरहनु भएको छ भनेर। 

परराष्ट्रमन्त्री गहेन्द्रराज राजभण्डारी पनि भ्रमण दलमा सँगै हुनुहुन्थ्यो। उहाँले नै राजा महेन्द्रलाई अवगत गराउनु भयो–सरकार मिस गान्धीले हात मिलाउन पछाडिबाट हात दिइरहनुभएको छ।’

यो सुनेपछि राजा महेन्द्रले कहाँ? भनेर हेर्दा हात पछाडिबाट आइरहेको देख्नुभयो। उहाँ उठ्न खोज्नु भएको थियो। तर, उहाँ बसेको सिट भित्रसम्म छिरेको थियो। भित्र गएको सिट बाहिर आउन समय लाग्यो। राजाले बसेरै इन्दिराको हात समात्नु भयाे। इन्दिरा हात मिलाएपछि आफ्नो सिटतर्फ लागिहाल्नु भयो। 

यो निकै सामान्य कुरा थियो। तर, इन्डियनहरूले यसलाई निकै ठूलो कुरा बनाए। ‘ठूलो देशको प्रधानमन्त्री, त्याे पनि महिला प्रधानमन्त्रीलाई राजाले उठेर पनि हात मिलाएन’ भनेर भारतीय अखबारले ‘प्रोपोगण्डा’ सुरु गरे। अखबारको भित्ता ठूल्ठूलाे अक्षरले र‌ंगियाे। नेपालको राजाले सामान्य शिष्टाचार पनि नदेखाएको भन्दै उछितो काट्ने काम भयो। 

भारतले नाकाबन्दी लम्ब्याउन यो दुई वटा घटनाले पनि काम गरेको छ भन्ने मेरो बुझाई छ। 

***

२०२७ सालमा मेरो मन्त्रालयका सचिव पुस्करनाथ पन्तको अगुवाईमा एउटा टोली तिहारको बेला वार्ताका लागि दिल्ली गएको थियो। ३–४ दिनपछि उहाँले दिल्लीबाटै मलाई फोन गर्नुभयो– वार्ता यसपालि पनि सफल भएन। हामी भोलि फर्किउँ कि?’ 

त्यति बेला पाँच जना मात्र मन्त्री नियुक्त थिए। र, क्याबिनेट बैठक राजा महेन्द्रको अध्यक्षतामा दरबारमा बस्थ्यो। मैले बैठकमा मेरा सचिव पन्तले दिल्लीबाट गरेको फोनको व्यहोरा दिँदै भने– अहिले सन्धि नहुने भयो सरकार।’

मेरो कुरा सुन्ने वित्तिकै राजा महेन्द्रले भन्नु भयो– होइन, तिमी, भेकबहादुर थापा र यदुनाथ खनाल आजै दिल्ली गएर एक पल्ट प्रयास गर।’

बैठक दिउँसो २–३ बजे बसेको थियो होला। तुरुन्तै हामी तीन जनाको टिकट कन्फर्म भयो र लैनचोरमा भएको भारतीय दूतावासलाई पनि यसको जानकारी दिने काम भयो। राती ७–८ बजे दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा हामीलाई लिन भारतका वाणिज्य राज्यमन्त्री आइपुगेका रहेछन्। उनले नै हामीलाई अशोका होटलमा लगेर राखे। 

तीन दिनसम्म म र मेरा समकक्षी ललितनारायण मिश्रबीच लामो कुराकानी भयो। तेस्रो दिन हरि तिहार थियो, दिउँसो ललितनारायण आइपुगे र भन्न थाले– ल भैगों। अहिलेलाई वार्ता स्थगित गरौं। तिहारपछि म नै काठमाडौं आउँछु र त्यही कुरा गरौंला। 

उनले यति भनेपछि मलाई अर्को कोठामा लगे, गोप्य गर्नुछ भनेर। मलाई अब यिनले के गर्ने भए भन्ने लागिरहेको थियो। उनले भने, ‘मिसेस् गान्धीले तपाईसँग भेट्न खोज्नु भएको छ। म लिएर जान्छु।’

उनको यो कुरा सुनेपछि मैले प्रश्न गरे, ‘ठिकै छ। मिसेस् गान्धीलाई भेटेपछि सन्धि हुन्छ त?’ उनले उत्तर दिँए–‘त्यो त अहिले हुँदैन।’

यसपछि मैले भने–‘सन्धि हुँदैन भने यति व्यस्त प्रधानमन्त्री, यत्रो मुलुकको प्रधानमन्त्री। उहाँलाई अहिले किन ‘डिस्टर्ब’ गर्ने। म अर्को पटक सन्धि भएपछि आफै आएर समय माग्छु। मन्त्री जीले नै समय मिलाइदिने म भेट्छु।’ याे कुरा भएपछि हामी छुट्टियाैं।

बाहिर आएपछि मैले यो कुरा नेपाली टोलीलाई सुनाए। दिल्लीमा भएका हाम्रा राजदूत सरदार भीमबहादुर पाँडेलाई बडो चिन्ता लागेछ। उहाँले भन्न थाल्नु भयो, ‘मिसेस् गान्धीको प्रस्ताव अस्विकार गर्नु भएछ। अब नेपालमा बडो समस्या पर्छ। मिसेस् गान्धीलाई मन्त्रीले नभेटिदिने। यो कस्तो जमाना आयो।’ 

उहाँ छटपटिएको देखेर मैले भने, ‘मलाई जे लाग्यो त्यही गरे। मलाई केही चिन्ता छैन। मैले राष्ट्रको निम्ति भलाई नै गरेको छु।’

तर,उनको कुरा सुनेपछि राती होटलमा भने मलाई अलिकति डर लाग्यो। भेकबहादुर जीलाई सोधे, ‘ये भेकबहादुर जी, अब के–के लेखेर दरबार पठाउने हुन्। राजा रिसाउने भए। मेरो मन्त्री पद पनि जान्छ कि क्या हो?’

उहाँले उल्टै भन्नु भयो, ‘तपाईले ठिकै गर्नु भा’ छ नि। किन जाने?’ 

त्यही पनि मैले राजीनामा लेखेर खल्तीमा हाले। राजाले मागिहाले भने तुरुन्त दिनलाई। नेपालको एयरपोर्टमै माग्छन् भन्नेमा पुगिसकेको थिए, म। 

तर, काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जब उत्रिए, गहेन्द्रबहादुर पहिलो मिनिस्टर थिए, त्यति बेला। सबै मन्त्रीहरू। फर्स्ट क्लास अफिसरहरू, सचिव, उपसचिवहरू स्वागत गर्न माला लिएर बसेको।

म त छक्क परेँ। यही गहेन्द्रबहादुरले भन्नुभयो, ‘दरबारमा सरकारले क्याबिनेट बोलाउनु भएको छ। सिधै जाउँ हजुर।’

म बैठक हुने कोठाका लागि दरबारमा प्रवेश गर्दा राजा महेन्द्र कोठाबाट निस्किबक्स्यो र भर्‍याङको मुखमा आएर मेरो तारिफ गर्दै भनिबक्स्यो, ‘स्याबास् नवराज। ठिक गर्‍यौं।’ उहाँलाई इन्दिरा गान्धीसँग भेट नगरेकाे कुरा थाहा भइसकेकाे रहेछ।

मेरो विचारमा नेतृत्व भनेको त्यस्तो हुनुपर्छ। नेतृत्वले त्यसरी ‘प्रोटेक्सन’ गर्नुपर्छ। उहाँले म भारत जाँदा पनि भन्नु भएको थियो, ‘तिमी एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रको मन्त्री हौं। नझुकि राम्रोसँग सन्धि गरेर आउँ।’ 

त्यही भरोसाले मैले इन्दिरा गान्धीलाई नभेटी आएको हो। 

***

पछि भारत गल्दै आयो। विदेशीको दबाब पनि पर्‍यो होला। अन्तर्राष्ट्रिय नियमअनुसार उनीहरूले दुई वटा सन्धि गर्नुपर्ने नै थियो। फेरि त्यही बेला सरकार पनि परिवर्तन भयो। कीर्तिनिधि बिष्ट प्रधानमन्त्री हुनुभयो। यसपछि भारतीय राजदूत आएर कुरा मिलाउ भन्न थाले। यसपछि ललितनारायण मिश्र काठमाडौं आए र म नै भएको बखत सन्धि भयो। 

उनीहरूले भने जस्तै ‘डिफ्लेक्सन अफ ट्रेड’ मा केही भएन। पारवहन र वाणिज्य छुट्टा–छुट्टै हुनपर्छ भन्ने नेपालको मागमा भने एउटा सहमति बन्यो, हालको लागि एउटै गर्ने। निकट भविष्यमा अलग–अलग गर्ने भनेर। अहिले दुबै सन्धि अलग–अलग छ। आखिर भारतले नाकाबन्दी लगाउनुकाे कुनै तात्पर्य नै देखिएन।

(नवीन अर्यालसँग वार्तामा आधारित)

यो पनि हेर्नुहोस्

१. राजा वीरेन्द्रले भारतीय दूतलाई भनेका थिए– देश बेचेर मलाई राजा भइरहनु छैन : नवराज सुवेदी
२. राजा महेन्द्रले कालापानीबारे चीनसँग २०१८ सालमै पाँच बुँदे सम्झौता गरेका थिए : राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी (भिडियाे) 

प्रकाशित मिति: : 2020-06-09 17:32:00

प्रतिकृया दिनुहोस्