डा. पुण्यसागर मरहट्टा
हामीले पढेको नेपालको इतिहास अपूर्ण छ ।
नेपाली राजतन्त्रका सम्बन्धमा विभिन्न किंवदन्ती सुनिन्छ । पहिलो र अलि मिथकजस्तो लाग्ने किंवदन्ती बालक पृथ्वीनारायण र गोरखनाथ बाबासम्बन्धी छ । त्यस किंवदन्तीमा बालक पृथ्वीनारायण खेल्दै गुरु गोरखनाथकहाँ पुगेका, गोरखनाथले दही खान मागेका, बालकले दही खुवाएका, गोरखनाथले त्यो दही खाएर बालकलाई अँजुली पार्न लगाएका प्रसंग छन् । सोही किंवदन्तीअनुसार गोरखनाथले बालक युवराजको अञ्जुलीमा बमन गरेर त्यो खान भनेका तर युवराजले घीन मानेर नखाएका कुरा छन् । त्यही वस्तु बगेर युवराजको खुट्टामा परेपछि ‘‘खाएको भए बोलेको ठाउँ जित्नेथिइस्, खुट्टामा परेकाले टेकेको ठाउँ जति जित्लास्’ भनेर गोरखनाथले आशीर्वाद दिएका प्रसंग छ ।
पृथ्वीनारायणले आफैँले रोसी पूर्व गएर टिस्टासम्म टेके नटेकोमा इतिहास स्पष्ट छैन र त्यसमा केही विवाद पनि छन् । गोर्खाली राजाले जालझेल गरेर वल्लो, माझ र पल्लो किराँत आफ्नो सिमानामा पारे भन्ने गरिन्छ । तर, नुवाकोट र नेपाल खाल्डो त उनले पटकपटक टेकेकै थिए । त्यस्तै, सिन्धुलीमा त्यसबखतको गोर्खाली सेनाले किनलक नेतृत्वको अंग्रेज सेनालाईलाई दपेटेको इतिहास साक्षी छ । उनीहरु त्यहाँबाट लखेटिई तराईका बारा, पर्सा, रौतहट कब्जा गरेर बसेका थिए । उक्त क्षेत्र पनि पृथ्वीनारायणले टेके टेकेनन् तर ती उनको ससुराली राज्यअन्तर्गत थिए र मकवानपुर सर हुँदा ती स्वतः नेपाली सिमानाभित्र गाभिए ।
नेपाली इतिहासमा अन्य कैयौं किंवदन्ती पढिएको छ । लेखमा तिनले यथोचित स्थान पाउने नै छन् । हामीले १७ धार्नी नाककानका कथा पनि पढेका छौँ, राजाले कुमारी ढोगेको र बाह्र वर्षे पञ्चदानमा पृथ्वीनारायण सरिक भएको पनि पढेका छौँ । तसर्थ, लेख त्यतातिर लगिएन । नेपालको सिमाना काठमाडौं खाल्डो र त्यसको वरिपरीबाट पुनः वैदिक नक्सामा पुर्याउने हेतु थियो थिएन थाहा भएन । पृथ्वीनारायणले आफुभन्दा अघि जुटिसकेको तर प्रकारान्तरले टुक्राटुक्रामा फुटिसकेको नेपाललाई गाँस्ने अभियान चालेकै हुन् ।