भयंकर नोवेल कोरोना भाइरसले पछिल्लो जनवरीदेखि पुरा विश्वका २ सय १३ राष्ट्रमा फैलिएर मानव जीवनलाई तहसनहस पारिदियो।
मानव जीवनको तमाम गतिविधि प्रायः ठप्प छन्। यो निश्चय नै मानव जीवनको बाटोमा भयंकर चुनौती थियो। यसको सामना मानवले वीरतापूर्वक गर्नुपर्ने थियो। एकाइसौं शताब्दीसम्म आइपुग्दा प्रकृतिमा मानव नयाँ प्राणी होइन। विकास क्रममा उसले कैयन चुनौतिको सामना वीरतापूर्वक गरि आएको दृष्टान्त जगजाहेर छ।
मानवको आदिपुरूष प्लीओपिथीकस्, प्रोकोंसुल, ड्रीओपिथीकस, ओरियोपिथीकस, रामापिथीकस, होमो इरेक्टस तथा होमो सेपिएन्ससम्म आइपुग्दा शुरूवाती दिनमा राम्ररी हिँड्न पनि सक्दैन्थ्यो, खाना थिएन, बस्न सक्ने आरामदायी आवास थिएन, जीवन धान्न कुनै सुगम साधन उपलब्ध थिएन। प्रकृति मानवको लागि मित्रवत् न भइ झन क्रुर थियो। आगो चाहिएको बेला पानी पाउँथ्यो, पानी चाहिएको बेला आगो पाउँथ्यो। प्रकृतिमा अमृत पनि थियो, विष पनि थियो। दुर्दान्त आदमखोर जनावरले मानवलाई मारेर खाइ दिन्थे, मित्रवत् पाल्तु जानवरले दूध, मासु तथा श्रम पनि दिन्थे। सहसह घिस्रीने विषधारी सर्पहरू तथा मानवको सहज आहारको रूपमा बथानमा हिँड्ने चौपायाको सहअस्तित्व थियो। जीवनको बाटोतिर अघि बढ्ने क्रममा प्रत्येक पाइलामा कष्टकर तगाराहरू विद्यमान थिए, मान्छे ताक्थ्यो मुढ़ो तर बञ्चरो ताक्थ्यो घुँड़ो। त्यस्तो विषम परिस्थितिमा पनि अविकसित, अन्जान र मूढ़ मानव विकास गर्दै आजको शताब्दिसम्म आइपुग्दा रोग, शोक र भोकमाथि विजय प्राप्त गरि सकेर आफू खुशी गर्न सक्ने सामर्थ्य प्राप्त गर्न सफल भइसकेको सुखमय अवस्था छ।
आजको सुखद स्थितिमा आइपुग्दासम्म मानवले प्रकृति प्रदत्त विभिन्न आपद, विपद तथा कठिनाइ पार गर्दे आइरहेको छ। मानव समाजले भयंकर प्लेग, हैजा, विफर, स्वाइन फ्लू, एच.आइ.भी. एड्स, इबोला आदि महामारीहरुको सामना वीरता पूर्वक झेल्दै वर्तमानसम्म अस्तित्वमान छ।
विगतमा फैलिएका यस्ता महामारीमा मानवले धेरै क्षति बेहोर्नुपरेको थियो। लाखौं करौड़ौ जन जीवनको आहुती होम्नुपरेको थियो। प्लेग नामक भयंकर महामारीको बेला छिमेकी भारतमा मात्रै करौडौं जना मानिसको ज्यान गुमेको तथ्याङ्क इतिहासमा दर्ज रहेको छ।
गाउँका गाउँ तथा जिल्लाका जिल्ला पनि सखाप भएको थियो अरे! विफरको प्रकोप पनि प्रायः त्यस्तै थियो, हैजा पनि त्यस्तै रड़ाको मच्चाउने गर्दथ्यो। इबोला र एच. आइ. भीको प्रकोप त झनै दुर्दान्त थियो। त्यस प्रकारका भयंकर महामारीमा मानव जनजीवन निश्चय नै आतंकित तथा भयग्रसत भएको थियो।
भयाक्रान्त मानव निडर भएर ती महामारीहरुको प्रकोपको वीरतापूर्वक सामना गरेको थियो, उपाय, अनुसन्धान र निदान गरेको थियो र ती महामारीहरुमाथि विजय प्राप्त गरेको थियो। जीवनको सहज बाटोमा तगाराहरू आइ पर्दा त्यस विरूद्ध संघर्ष गर्नु मानव मनको सहज प्रवृति हो, दुर्गमतामाथि सुगमताको अनुसन्धान गर्नु मानवीय कौतुहलता हो। समस्याको डटेर मुकाबिला गर्नु मानवीय शौर्य हो। निडरतापूर्वक आपदाको सामना गर्नाले नै समस्याको समाधान हुन्छ, समस्यामाथि विजय प्राप्त हुन्छ। महाआपत, कोभिड–१९ नामक महामारी विश्वभरिमै भयंकर रूपमा एक्कासि आइ पर्दा विश्वभरिकै मानव समाज र सरकार आफ्नो सहज ज्ञान तथा जानकारी अनुसार विभिन्न किसिमको सावधानीका नियम तथा राजनीतिज्ञहरुको आदेशाानुसार जीवन यापन गर्न बाध्य भयो।
कोरोना नामक भाइरसको संक्रमण तथा सञ्चारबाट जोगिन सोसल डिस्टेन्सिङ (एक मान्छेसित अर्को मान्छेले कुनै पनि व्यवहार गर्नु पर्दा छव फिटको दूरी कायम राख्ने), सेनटाइजर प्रयोग गर्ने, साबुन पानीले हात मिची मिची कम्तिमा बीस सेकेण्डसम्म धुने तथा थुक्दा र हाच्छिउ गर्दा मुखबाट निस्किने बाच्छिटा प्रसार हुनबाट रोक्न तथा आफूलाई जोगाउन ती अङ्गलाई बचाउन मास्क लगाउनुपर्ने सावधानीका नियम हुन्।
वस्तुतः अज्ञात तथा प्रबल शत्रुबाट वीरतापूर्वक भिड्ने कारागर हतियारहरू यी नै हुन्। यी हतियारको दृढ़तापूर्वक संचालन हुनुपर्ने हो, थियो पनि तर विश्वभरिका हामी मानव जाति यसको इमान्दारीपूर्वक प्रयोग गर्यौं त? निश्चय नै गरेनौं, एकाइसौं शताब्दिसम्म आइपुग्दा हामी आफूलाई महामानव ठानेर आफू खुशी गर्न थाल्यौं।
जसको परिणामस्वरूप विश्वभरिमा चार लाखको हाराहारीमा मानव जीवनको क्षति भइसक्यो, आधि कोटी मानव जीवन संक्रमित छ, अझै के हुने हो? भन्न सकिने स्थिति छैन। महान विकासवादी जीववैज्ञानिक अलवर्ट डार्विनले आफ्नो सम्पूर्ण जीवन प्रकृतिको व्यवहार अध्ययनमा खपाएका थिए। त्यस अध्ययनको फलस्वरूप उनले केही प्राकृतिक सिद्धान्तको निर्क्यौल पाएका थिए। अर्थात् जो सक्षम छ त्यो बाच्दछ, अर्थात् प्रकृतिको वरण सिद्धान्त। कवि भूपि शेरचन अनुसार–हुदैन विहान दुई चार ताराहरु मरेर न गइ..!
यस्तो स्थितिमा बहुमतबाट निर्वाचित भएका फुलौरे नाक भएका राजनेताहरुले आफ्ना आसे–पासे र द्रव्यशिचे आफन्तहरुका सर सल्लाहले एउटा नयाँ सिद्धान्तको निरूपण गरेर साढ़े डुक्र्याइको रूपमा सम्पूर्ण विश्वभरिमा एकै चोटि लकडाउनको घोषणा गरे।
लकडाउनले सम्पूर्ण विश्वको सम्पूर्ण गतिविधि र क्रियाकलाप एक्कासि ठप्प पारिदियो। विश्व समाजले अपूरणीय क्षतिको सामना गर्नुपर्यो। सम्पूर्ण विश्व उल्टो प्रवाहमा फसेर सयौ वर्ष पछाडि धकेलिन पुग्यो तथा मानव शौर्यमाथि एउटा टड्कारो कलंक लाग्यो।
यस लकडाउनको आदेशबाट सुखद परिणाम के भयो? हरे! कोरोना भाइरसको प्रसार सम्पूर्ण विश्वभरिमै एकै चोटि दिन दूना–रात चौगुणाको दरले प्रसार हुँदैछ।
हामीले यसबारे अरूलाई न भइ आफैंप्रति पनि इमान्दार न भएर सरकारी आदेशको पालना मात्र गर्यौं। वस्तुतः हामीले यस शत्रुसित वीरतापूर्वक भिड्न इमान्दारीपूर्वक सावधानी रूपक हतियारको प्रयोग र संचालन गरेनौं।
मानव इतिहासले पनि यसका लागि वर्तमान मानव समाजलाई निश्चय नै धिक्कार्नेछ। हाम्रा आगामी सन्ततीले आफ्ना साथी भाइसित गफ गर्दा निश्चय नै भन्ने छन–एकाद हाम्रो समाजमा कोरोना नामक भयंकर आपत आइपरेको थियो, त्यस बेला हाम्रा बाबु–बराजे तथा पुर्खाहरु (हाम्रा पुर्खाहरु भने होइनन्) तर्सि घर भित्र लुकेर बस्नु भएको थियो अरे..!
अब त्यति बेला –बाबु त्यति बेला दिमागको सोच्ने भाग ‘कोर्टेक्स’ बाट निर्देशित भइ द्रव्य पिशाच हाम्रा राज नेताहरुले सद्भावनाका साथ डण्डाले हाम्रो ढाड़मा हिर्काएर हामीलाई घरमा हुलेका थिए–भन्न सक्ने छैनौं, किनकि हामी यसै पनि त्यति बेलासम्म यस धरामा हुनौं।