धर्मसंकट

म अहिले

धर्मसंकटमा छु।

 

हो

यतिबेला

म धर्मसंकटमा छु

चिन्नु अनि नचिन्नु

हितको र अहितको

किनकि

उसले भित्रभित्रै कुट्छ

मार्मिक प्रहार गर्छ मनमा

लुकाएर छोपेर

कसैलाई नदेखाई

अनि

बाहिरचाहिँ

माया गरिरहेको हुन्छ।

 

रहस्यमय छ

उसको आगमन

मेरो आगनमा

हाँसेर आउछ

आलिङ्गन गर्छ छाती कुटाएर

तर उसको छातीले

डाह र आरिसको

तातो वाफ दिएर जान्छ।

 

मलाई डेढ अक्कली

सोचेको होला उसले

मेरो दिमागलाई

दिमाग सोचेको हुँदैन

काखमा सुतेर

दुध माग्दा ति कोमल हत्केलाले

पटक पटक आमाको छातीमा घुसा हान्ने दुधे बालक जस्तै

मेरो आवेगसँग उसले स्वाङ गर्छ।

 

हो

यतिबेला म

धर्मसंकटमा छु

उसले अंगालोमा बेरे तापनि

शंका हुन्छ नै

कतै चाकु लुकाएको हुन सक्छ

विश्वास गरौं कसरी

अंगालो मार्ने निहूँले

मेरो डँडेल्नो नै रक्तामै पार्छ कि।

 

उसको देखावटी चाल

घातक साबित हुन्छ

मलाई डर छ

त्यसैले

विश्वास र अविश्वासको दोधारमा छु।

 

हो

आजभोलि म

यस्तै धर्मसंकटमा छु।

प्रकाशित मिति: : 2020-06-06 18:08:00

प्रतिकृया दिनुहोस्