म जैसी बाहुनको छोरी भएर जन्मिएँ। म हुर्किंदै गर्दा घर नजिकै उपाध्याय बाहुनको परिवारहरु थिए। ती घरमा मैले छोए उनीहरुको भान्छा चल्दैन थियो। त्यसैगरि मेरो घरमा पनि जातिय सवालमा मेरो बुवा त्योभन्दा पनि चर्को हुनुहुन्थ्यो। घरमा क्षेत्री, नेवार, गुरुङ थरका मेरा साथीहरुलाई भान्छामा लैजानु हुँदैन भन्ने कुरा कानून जत्तिकै कडा थियो। उपाध्यायको परिवारमा मैले छोएको नखाँदा मलाई जति पिडा हुन्थ्यो, त्यति नै गर्व मेरो बुवालाई जैसी बाहुन भएर क्षेत्री वा अरु जातले छोएको नखाँदा हुन्थ्यो। ब्राह्मणवादको यो अन्तरद्वन्द्वमा हामी सबै गिजोलिएका थियौं।
पछि मेरो बिहे उपाध्याय घरमा हुने तय भयो। यो निर्णय मेरो आफ्नो थियो। मेरो निर्णयमा घरमा कुनै आपत्ति त थिएन तर उहाँहरुमा छोरी उपाध्याय बाहुनको परिवारमा गएर अपमानित हुने हो कि भन्ने डर थियो। जुनकुरा बिहेको बेलामा पटक-पटक उठ्यो तर सकारात्मक कुरा बिहेपछि घरमा जैसीको छोरी भन्ने कहिले बहसमा नै आएन। मैले बिहे गरेर गएपछि घरमा जैसीको छोरी भनेर सोच्नु परेन। म जैसीको छोरीभन्दा पनि उपाध्याय बाहुनकै बुहारी भनेर भित्रिएँ र सम्मान पाएँ। तर घरले सम्मान दिए पनि समाजले पटक–पटक जैसी बाहुनको छोरी होस् भनेर घोचिरह्यो। बिहे भएको केहि समयमा एक जना आफन्तले तिमीहरुबाट जन्मिने बच्चा जैसी हुन्छ भनेर सुनाउनु भयो। हाम्रो समाजलाई बच्चा नजन्मदै जात छुट्याउन कति हतार हुन्छ?