दीपकराज सापकोटा
बन्दाबन्दीको ७१ औं साँझको ९ बजे । बन्दाबन्दीको मूल ध्येय कोभिड –१९ नामक तीव्र गतिमा सर्ने भाइरसबाट नेपाली जनतालाई कसरी बचाउने भन्ने थियो । जति बेला यसको संक्रमणको पहिचान भयो यसको तस्बिर अत्यन्त भयावह तथा क्रूर रुपमा प्रस्तुत गरियो । हो ! यो खतरनाक छ तर मानवजातिलाई समूल नष्ट गर्ने प्रकृतिको चाँहि होइन । यो सामन्ती प्रकृतिको चाँहि रहेछ । किनभने यसले कमजोर प्रतिरक्षा प्रणली भएकालाई मर्ममै घातक आक्रमण गर्दो रहेछ । यो भाइरस ज्याद्रो पनि रहेछ जुन निकै लामो समयसम्म मानव शरीर बाहिर सतहमा रहे पनि सरेर संक्रमित गर्ने ताकत राख्दो रहेछ ।
यस्तो ज्याद्रो भाइरसबाट बच्ने अहिलेसम्म थाहा भएको सबैभन्दा प्रभावकारी उपाय मानव आवागमन नियन्त्रित गरेर भाइरस रहेको वस्तु वा स्थानमा पहुँच सीमित गर्ने र मानिसहरूबीचको प्रत्यक्ष सम्पर्क कम गराउने नै हो । यसका लागि संसारभर प्रयोगमा ल्याइएको पहिलो उपाय बन्दाबन्दी (लकडाउन) नै हो । यसले उल्लेख्यरुपमा भाइरसको विस्तार रोकेको मानिएको छ । पहिलो चरणमा कोरोना आक्रान्त मुलुकहरु अधिकांश विकसित भनिएका राष्ट्र थिए । नेपालजस्ता मुलुकमा संक्रमण आइपुग्दा यहाँ पनि बन्दाबन्दीको उनीहरुको विधि नै अपनाइयो । ठीकैे पनि हो । नयाँ चुनौती आउँदा अनुभवीबाट नै सिक्ने हो । बन्दाबन्दीपछिको परिणाम मोटामोटीरुपमा यस्तो देखिएको छ ।