कोरोना कहर : क्वारेन्टिनमा राख्नै सकस

भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ।

जिल्लामा भएका एकीकृत क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। 

उक्त क्वारेन्टिनमा अहिले ६३० जनालाई राखिएको बताउदैं उनले भने, 'थप क्वारेन्टिन बनाउन स्थानीय तहहरू लागिपरेको छ।' 

यसअघि निर्माण व्यवसायी सङ्घको भवनमा बनाउने भनिएको क्वारेन्टिन स्थानीयवासीले अदातलमा मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन। 

निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार अदालतले हाललाई क्वारेन्टिन नबनाउन अन्तरिम आदेश दिएको छ। 

'क्वारेन्टिन बनाउने जिम्मेवारी पालिकाको हो। हामीले सुरक्षा दिने हो। हामीले दिएकै छौँ' उनले भने, 'क्वारेन्टिन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन, प्रशासनले मात्रै केही गर्न सक्दैन।' स्थानीयवासीले बस्तीछेऊ क्वारेन्टिन बनाउन अवरोध गर्ने गरेका छन्। 

प्रकाशित मिति: : 2020-06-02 08:50:38

प्रतिकृया दिनुहोस्