करिब ६७ वर्षअघि उनी ९ वर्षकी थिइन्। उनी अर्थात् बिना बराल। उनको बिहेको कुरो चलिरहेको थियो त्यतिखेर। कास्की जिल्लाको तत्कालीन आर्बा गाउँका शेखरनाथ बराल उनका बुबा। विवाहको कुराले उनको कुनै काम रोकिएको थिएन। रनवन डुल्थिन्। जेठको महिना थियो। सधैँ झैँ एक दिन बाख्रालाई खरबारीमै छाडेर चौतारामा साथीसँग गोटी खेल्न थालिन्।
माइली छोरी भए पनि सबैले मायाले कान्छी भन्थे उनलाई। खेल्दाखेल्दै चिट चिटगर्दै दुईटा फट्याङ्ग्रा नजिकैको पातीको टुप्पामा बस्न खोज्यो। पातीको बोटले धानेन। त्यो किरा भुईँमा बजारियो। पातीको बोट हल्लिरह्यो। गोटी खेल्न बसेका उनीहरु दुवैले रमाइलो माने त्यो दृष्य। गर्मीले पसिनापसिना भएका बेला हावा चलेजस्तो भयो।
‘कति ठूलो हो यो फट्याङ्ग्रा?,’ कान्छीले भनिन्, ‘यो त हाम्रोतिर पाउने जस्तो पनि छैन। रङ पनि अर्कै छ त।’