आइसोलेसन कक्षको अभाव

रासस

जलेश्वर

महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ।

 जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि  हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ।

 कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० पुगेको छ। पिसिआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन्। अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ।
    
भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ। कोरोना सङ्क्रमण पुष्टि भइसकेकालाई क्वारेन्टिनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमासमेत सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ। सङ्क्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अस्पतालमा आइसोलेसन कक्ष निर्माणमा तदारुकता नदेखाइएका कारण अहिले आएर सङ्क्रमितलाई राख्ने स्थानको अभाव भएको हो।

 कोरोना सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने देखिएको छ। पिपिई, कीट, भिटिएम, आइसोलेसन श्यया, पिसिआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन नै स्वास्थ्यकर्मीको जनशक्ति पनि अपुग छ ।

जथाभावी खर्च दुरुपयोग बढ्यो

क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढेपछि महोत्तरीका स्थानीय तहहरुले क्वारेन्टिनका नाममा मापदण्डबिना नै जथाभावी खर्च गरिरहेका छन्। पछि बिलभर्पाइअनुसार भुक्तानी गर्ने गरी खर्च भएकाले दुरुपयोगको सम्भावना बढेको हो। क्वारेन्टिनमा मानिसको सङ्ख्या बढेकाले नगरप्रमुख तथा वडाध्यक्षले पछि बिलभर्पाइ पेश गर्ने नाममा अहिले जथाभावी खर्च गरिरहेका छन्।

स्थानीय तहले जथाभावी खर्च देखाए पनि बजेट सक्न आधारभूत पूर्वाधारबिनै क्वारेन्टिन निर्माण गरेको, क्वारेन्टिनमा चिसो भुइँमा त्रिपालमाथि फम र तन्ना ओच्छ्याएर सुताउने गरिएको, खानाको प्रबन्ध राम्रोसँग नगरिएको पाइएको छ। पङ्खा, झुल, शौचालय र बिजुलीको अभावले समेत व्यवस्थापन भद्रगोल छ।

क्वारेन्टिनको खाना गुणस्तरहीन भएको गुनासो धेरै आएपछि क्वारेन्टिनमा बसेकाले घरका परिवारले ल्याइदिएको खाना खाने गरेका छन् । महामारीका बेला भैपरी आउने कामका लागि खर्च गरिनु स्वाभाविक भए पनि त्यही नाममा रकम दुरुपयोग हुने सम्भावना पनि बढेको छ ।  

प्रकाशित मिति: : 2020-06-01 11:55:05

प्रतिकृया दिनुहोस्