प्रत्येक १९ जेठ आउने बित्तिकै १९ वर्षअघि २०५८ सालको त्यो त्रासदी आज पनि मस्तिष्कमा आउँछ, असाध्यै नमिठो अनुभूति हुन्छ।
बूढापाकाहरु भन्थे– दरबार र तरबारको धेरै नजिक नबस्नू । दरबारको कुदृष्टि र तरबारको धार सोझिएमा विनाश हुन्छ भन्ने धारणामा आधारित थियो, त्यो भनाइ । नभन्दै हतियारबाटै राजदरबार हत्याकाण्ड भयो, राजा वीरेन्द्र शाहको वंशविनाश भयो ।
अहिले त मुलुकमा राजतन्त्र समाप्त भएको पनि १३ वर्ष पुगिसकेको छ । राजपरिवारका शान र शौकतको राजदरबार यतिबेला इतिहास बनिसकेको छ, मिथक र कथा झैं लाग्न थालेको छ । हिजो आम नागरिकले फर्केर हेर्न समेत डर मान्ने नारायणहिटी दरबार आज संग्रहालयमा परिणत भइसकेको छ । संग्रहालय बाहेक दरबारका अन्य भागहरु कुरुप बनिरहेका छन् । बरु भर्खरै तयार गणतान्त्रिक स्मारकले केही शोभा बढाउने सम्भावना देखिन्छ । सामाजिक सान्दर्भिकता परिवर्तन भएपनि नारायणहिटी दरबार देशको साझा सम्पदा हो, लामो इतिहास बोकेको स्मारक हो ।