द्वितीय विश्वयुद्ध पश्चात एशियाका दुई ठुला मुलुक चीन तथा भारतले साम्राज्यवादी अतिक्रमण र अधिनस्थ स्थितिको अन्त्य गरे। पराजित साम्राज्यवादले चीन घेर्न ताइवान, जापान, कोरिया प्रायद्वीप र भियतनाममा सैन्य अखडा स्थापित गर्ने रणनीति अघि बढायो। भियतनामले रुस र चीनको प्रत्यक्ष सहयोगमा युगीन संघर्ष छेड्यो। र, अन्ततः भियतनाम युद्धमा अमेरिका नराम्रोसँग पराजित भयो। कोरिया प्रायद्वीप विभाजित गर्दै दक्षिण कोरियामा अमेरिकी सैन्य अखडा स्थापित भयो। ताइवान र जापान पनि अमेरिकी सैन्य अखडामा रुपान्तरित गरिए। त्यो स्थिति अहिलेसम्म पनि यथावत कायम छ। भियतनामले जस्तै राष्ट्रिय एकीकरणको युद्ध अहिलेसम्म उत्तर कोरियाले लडिरहेको छ।
यस्तै, भारत स्वतन्त्रतासँगै धार्मिक रणनीतिमा विखण्डन गरियो। हिन्दू वाहुल क्षेत्र भारत र मुस्लिम वाहुल क्षेत्र पाकिस्तान बन्यो। विभाजित भई नामाङ्कित गरिएका भारत र पाकिस्तानको लाइफलाइनका रुपमा रहेको कश्मिर राज्य जलश्रोतका कारण दोहोरो हस्तक्षेपमा पर्यो र अन्ततः सार्वभौमसत्ता गुमाउँदै विभाजित भयो। यस विभाजनलाई सहज बनाउन भारतले धारा ३७० को संवैधानिक घोषणा गर्दै अतिक्रमित भूभाग समेट्यो। यस्तै, पाकिस्तानले आजाद कश्मिरको फ्रेममा आफूले कब्जा गरेको भूभागलाई समाहित गर्यो। यी दुवै राज्यले आ-आफ्नो अतिक्रमणलाई सुनिश्चित गर्न सिमला सम्झौता गरे। अहिले कश्मिरको स्वतन्त्र अस्तित्त्व विश्व मानाचित्रवाटै विलुप्त भएको छ।