हामीलाई जति आफ्नो घाउ दुख्छ त्यति अरूको दुख्दैन। भनाइ नै छ ‘जहाँ ठोकिन्छ त्यहीँ दुख्छ’। जहाँ चोट पर्छ त्यहीँ पीडा हुन्छ। यो भनाइ व्यक्तिको हदसम्म स्वीकार गर्न सकिन्छ तर राज्यको अर्थमा यो अस्वीकार्य रहन्छ। राज्य हुनुको अर्थ र परिभाषाले आफ्नो नागरिकको दुःखमा राज्यको मलमपट्टि र औषधोपचार एक व्यक्तिले पनि अपेक्षा गर्दछ। जुन राज्यको दायित्व हो। राज्यरूपी शरीरमा रहेका विभिन्न अवयब हुन्छन्। ती अवयव मध्ये यो देशका नागरिक पनि महत्वपूर्ण अवयव अर्थात राज्यको मुटु र मस्तिष्क नै हुन्। राज्यरूपी शरीरमा जहाँ दर्द भए पनि त्यसको असर समग्र शरीरमा पर्छ। घाउ शरीरको जुन भागमा भए पनि त्यसको पीडाले राज्यलाई पोल्नुपर्छ। दुख्नुपर्छ। पीडानुभूति हुनुपर्छ। अन्यथा एक अङ्गको क्यान्सर शरीरले थेग्न सक्तैन शरीर निस्प्राण र निरर्थक हुन्छ।
हाम्रो राज्यसत्ताको चरित्र यस्तो भै दियो कि जयस्थिति मल्लले कामको आधारमा निर्धारण गरेको पहिचान जात व्यवस्थाको क्यान्सर भएर फैलिएको छ। हिन्दु धर्ममा वर्णित बौद्धिक उच्चता र निचता कर्मसँग जोडीएर हेय र अपमानित भएर आएको छ। शुद्र मान्छेको चरित्र र स्वभाव अर्थात दुस्कर्मको परिचायक हुनुपर्ने हो तर बिडम्बना हाम्रो देशमा पनि जात भैदियो जसको कारण लगभग ६० लाख जनसंख्या अपहेलित र हेय नागरिक अझ दोस्रो दर्जाको नागरिक सम्झने सामाजिक व्यवस्था छ। ब्राह्मण भनेको बुद्धि, विवेक, लेखपढद्वारा निर्मित असल चरित्र र प्रवृति हो तर यो प्रवृत्ति जात भैदियो र जन्मदै कोही ब्राह्मण र कोही सुद्रको रूपमा बुझियो। मान्छेको श्रेष्ठता उसको कर्म अर्थात ऊ द्वारा सम्पादित कार्यको आधारमा नभएर जन्मजात उसको श्रेष्ठ सम्झने समाजशास्त्र बन्यो। कानुन र संविधानको ठेलीमा जे लेखिए पनि सबै नागरिकको स्वतन्त्रता र समानता भनिए पनि व्यवहारिकताको कसीमा पशुभन्दा तल्लो र घृणित कर्म जारी छ।
१९१० मा कानुनी रुपमा नै उँचो निचो भनेर जात व्यवस्थाको कुरुप पक्षलाई जङ्गबहादुरले संस्थागत गरे त्यो निरन्तरता राजा महेन्द्रले २०२० को मुलुकी ऐनमा जातीय भेद र छुवाछूतको अन्त्यको कानुन बनाएर भङ्ग गर्न खोजे। त्यसपछि पनि विभिन्न व्यवस्था परिवर्तन सँगसँगै ३०६३ को अन्तरिम संविधान होस या २०६८ को नयाँ कानुनी बन्दोबस्ती या २०७२ को नेपालको गणतान्त्रिक संविधान होस या नयाँ कानुन भनेर २०७५ को कानुनी बन्दोबस्ती यी सब सुन्दर गाताको सुन्दर किताबमा र नेताहरको कर्णप्रिय भासणमा सुनियो, देखियो तर व्यवहारको कसीमा कहिल्यै खरो उत्रन सकेन। समाजमा कुरितिको रूपमा घीनलाग्दो व्यवहारको रूपमा आज पर्यन्त जिवित छ। जसको कारण ज्यान जाने जस्तो अत्यन्तै पासविक हत्या र अमानवीय हर्कत भइरहेको छ। जात जातको विभाजन, सिमा र बार बन्देजको कारण हामीले मानवता गुमाएका छौं। सभ्यता हराएका छौं। तसर्थ नैतिकता, धर्म, मानवीय मुल्य स्खलित भएर आँसुरी प्रवृति प्रवृत्त भएको छ। जातको नाममा, प्रेमको नाममा विजातिय सम्बन्ध भनेर कैयन होनहार युवा युवती मारिएका छन्। आत्महत्या गर्न बाध्य पारिएका छन्। जात व्यवस्थाको नियतले राज्यको नीति प्रभावित भएको छ। कानुनहरु छन्, तिनले स्वतन्त्रता र समानताको कुरा भन्छन् तर व्यवहारमा तिनको प्रयोग र कार्यन्वयन एकदम फितलो निस्प्रभावी र झारा टार्ने जस्तो मात्रै देखिएको छ। देशमा मृत्यु दण्डको कानुन छैन। कानुन पालन गराउने निकायको समेत हक नरहेको परिस्थितिमा एउटा समुदाय अर्को समुदायको ज्यान हरण जस्तो जघन्य अपराधमा उद्दत बन्छ र देशको नियम कानुन भन्दा माथि आफूलाई सम्झन्छ।
अराजकता र उत्शृङ्खल गतिविधि कसैलाई गर्न छूट छैन गरेमा नियमको बरियोले कस्ने र बाँध्ने कानुन छ तर व्यक्ति या समूह मिलेर समूहको कत्लेआम गर्ने विशेष अधिकार कुनै कथित उच्च जात र धर्मलाई छैन। त्यस्तो प्रवृति र घटनाको राज्यले नियन्त्रण गर्नुपर्छ। कानुनी दायरामा ल्याउनुपर्छ। अपराध कुनै जात, धर्म र समुदायको खोल ओढाएर, अनेकन बहानाबाजी गरेर, ढाकिन्न छोपिन्न। नवराजको अल्लारे उन्माद र प्रेमिका घर लैजाने शैलीलाई अपहरण गर्न आएको र बलात्कारको षडयन्त्र भनेर विषयान्तर गर्न खोजीएको पनि पाइन्छ। मानवीय संवेदना भुलेर जे भयो ठिक भयो जस्ता तुच्छ वचनहरु, अराजक टिप्पणी पनि आएको देखिन्छ ती खेद जनक छन्। अतिरन्जना र अतिरन्जित गर्नु कुनै पक्षबाट पनि शोभनीय छैन।
एक हप्ता अघि रुकुम र जाजरकोटमा जुन घृणित मानवता विरुद्धको अपराध भयो, घट्यो त्यो हाम्रो समाजको जात व्यवस्थाको सग्लो चित्र र चरित्र हो। नवराज वि.क लगायत ६ जना युवाको भेरीमा सहादत क्रुर र क्रुद्ध रुप जात अभिमानको नग्न तस्बिर हो। यो अपराधलाई सुक्ष्म रुपले नियाल्दा हामी कस्तो सभ्यता र समाजमा छौं अनि हाम्रा दलित दाजुभाइ दिदीबहिनीको सामाजिक मर्यादाको स्थान कहाँ र कति निर्मम छ बुझ्न सकिन्छ। विभेदी समाजको शैलीले समाजमा नर बलीलाई आज पनि छूट दिने दुस्साहस गर्छ। मानवीय जीवनको मूल्य भन्दा जातीय अभिमान र अहंकारलाई स्थान दिन्छ। यो स्वीकार गर्न नसकिने कुनै पनि मानेमा सहानुभूति प्रकट गर्न नसकिने घटना हो। पवित्र प्रेम अबान्छित र अमानवीय कसरी हुन सक्छ ? प्रेममा बलात्कार होइन समर्पण र त्याग हुन्छ। त्याग र समर्पणको कहालीलाग्दो दुर्दान्त इतिहासको साक्षी बन्यो भेरी नदि। रुकुममा बलिदान गर्ने यूवाहरु साँस्कृतिक रूपान्तरणको लागि जीवन अर्पण गर्ने योद्धाको रूपमा सधैं स्मरणमा रहन्छन्। भेरीले त्यो गाथा कहन्छ। यो घाउ त्यस्तो घाउ हो जुन मानव सभ्यताको खिल बनेर दुखिरहन्छ। पोली रहन्छ। तर्साइ रहन्छ। परिवर्तन र समाजमा रहेको जातको कुचक्र तोड्नेहरुले श्रद्धा पुर्वक ती महान योद्धाहरुको रगतको मुल्य खेर जान दिने छैनन्।
नदिहरु सभ्यता र संसकृतिका प्रारम्भ बिन्दु हुन तर भेरीले २१ औं शताब्दीमा रताको साक्षी बस्नु प¥यो र नवराज विकहरुको स्वासलाई आफ्नो गर्भमा समाहित गर्नुप¥यो। मान्छेरुपी राक्षसहरुको नरभक्षी स्वभावले भेरी स्वयंले सर्मिन्दा बनेको महसुस गरेकी छ्न। निर्दोष र निरपराध प्रेमको पवित्र रगतले आफू धमिलिदा अब कहिल्यै यस्तो पाप कर्मको साक्षी बस्नु नपरोस् भनेर कसम खाएकी होलिन्। यदि कसैले जातको कारण र बहाना देखाएर पापिस्टकर्म गर्नेलाई भुलेर पनि माफी दिने छैनन्।
कुनै जात, धर्म, कुल, वंश, खान्दान, क्षेत्र, भूगोल केवल जन्म संयोग मात्रै हो। विशेषाधिकार र योग्यता होइन। हुनुहुँदैन र बनाइनु गलत छ। जात आधारित योग्यता र अयोग्यताको मापदण्ड किमार्थ स्वीकार्य छैन। जन्म संयोगलाई लघुताभाष र उच्चताभाषको नजरले नहेरौं। जन्महरु फगत संयोग हुन। जुनसुकै कुल वंश र परम्परामा जन्मनु जन्मने र जन्माउनेको दोष भित्र पर्दैन। फरक यति हो वाल्यकालमा हाम्रो दिमागमा आफ्नो समाज र परिवार अनुकुल प्रोग्र्यामिङ भरिदिएको हुन्छ। त्यसैले तिमी म जस्तो नहुन सक्छौं म तिमी जस्तो नहुन सक्छु। जसलाई हठात ,बलात डिलिट गर्न सम्भव हुन्न तर डिलिट नै गर्न नसकिने चाहिँ होइन। अनावश्यक र आउट डेटेड फाइल र भाइरस डिलिट गर्न सक्दो प्रयास गरौं। हाम्रो संविधान नियम र कानुनले पनि यस्ता भाइरसरुपी फाइल प्रोग्राम र विशाक्त कुरालाई बर्जित र बन्देज गरेको छ।
निषेधित कुरालाई चलन र प्रचलन भन्दै प्रयोगमा ल्याउनु र असंवैधानिक कार्य गर्नु दण्डनीय छ। दण्डहीनतालाई सामाजिक र व्यवहारिक जीवनमा प्रविस्ट गराउनु मानवीयता बिरोधि अपराध हो। अपराधलाई ढाकछोप नगरौं, यसैमा हाम्रो कल्याण छ। मनमा आगो बोकेर होइन आगो निभाएर शान्ति र खुशी पाउन सकिन्छ। समाजको वैमनस्यता, विभेद, छुवाछूतको खाडल पुरौं। खाल्डाखुल्डी बनाएर आगो सल्काएर होइन पानी छर्केर सभ्य र समुन्नत समाज निर्माण गरौं। कतै आफ्नो कामले आफू समान अर्को मान्छेको मर्यादा, स्वतन्त्रता र नैसर्गिक अधिकारमा बाधा अवरोध गर्यो कि? साझा धर्तीका साझा सन्तति कसैको पनि छुट्टै र विशिष्ट पाहिचान र चिनारी जन्म कुलको आधारमा हुन्न, छैन। जन्म संयोग श्रृष्टि प्रक्रिया मात्रै हो। संसारमा हरेक प्राणी श्रृस्टि चलाउन जन्मेका हुन। श्रृस्टि खलबल्याउन र धमिल्याउन होइन। नर संहार जस्तो मानवताविरोधी अपराध कुनै पनि बहाना र तर्कको आधार बन्दैन, हुँदैन। मान्छेलाई पसुले समेत गर्न नसक्ने निचता गर्ने छूट छैन। मानवअधिकार उलंघनको घोर आपत्ति गरौं।