संसदमा संविधान संशोधन विधेयक पेश, पारित हुने निश्चित जस्तै

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेश गरेको छ। 

आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले दोस्रो संशोधन विधेयक पेश गरेकी हुन्। नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन पेश गरिएको संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन। 

‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिक व्यवस्था भएको बमोजिक नेपाल सरकारले हालै जारी गरेको राजनीतिक तथा प्रशासनीक नक्सा स्वीकृत गरी नेपालको बास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसुची ३ को निशान छापभित्र अंकित नेपालको नक्सा नेपालको बास्तविक सीमा अनुरुप मिलाउनुपर्ने भएकोले अनुसूची ३ मा संशोधन गर्नुपर्ने भएकाेले यो विधेयक पेश गरिएको हो।

संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ। 

संशोधन विधेयकमा कांग्रेसको समेत समर्थन रहेपछि पारित हुने निश्चित जस्तै छ। यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न खोजेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेका थिए। 

शनिबार बसेको कांग्रेस केन्द्रीय समितिले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको पक्षमा रहने निर्णय गर्दै आफ्ना सांसदहरुलाई पनि सोही अनुसार निर्देशन दिइसकेको छ। 

प्रकाशित मिति: : 2020-05-31 12:13:38

प्रतिकृया दिनुहोस्