नेपाल सरकारले अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न देशलाई नै लकडाउन गरेको अबस्था छ। यस्तो बेलामा हामी सबैजना सुरक्षित साथ घरमै बसी यस विषम परिस्थितिलाई संबेदनशील भई धैर्यताका साथ सामना गर्न आवश्यक छ। यो लकडाउन अरू कसैको लागी नभएर यो सम्पूर्ण हामी नेपाली जनताको जीवन रक्षाका लागि नै हो भनेर मैले बुझेको छु। यस्तो बेलामा हामीले घरमै बसी नेपाल सरकारको सूचनाहरू बिभिन्न सञ्चार माध्यमहरूको सहायता लिएर त्यसलाई फलोअप गरिराख्नुपरेको छ।
यस्तो बेलामा सञ्चार माध्यमहरूको भूमिका निकै महत्वपूर्ण रहन्छ। सञ्चार माध्यमहरूले विभिन्न तरिकाले आम जनसमुदायलाई सही सूचना र जानकारी दिने काम गरिरहेका हुन्छन्। जसरी भएपनि सञ्चार माध्यमहरूले सूचना सम्प्रेषण, प्रकाशन/प्रशारण त गर्छ नै तर यहाँ कुरा आउँछ, ती प्रसारण गरेको सूचना/जानकारीको प्रभावकारिताको। यहाँ प्रभावकारिताको अर्थ आम जनसमुदायले कुन कुन तरिकाले, कसरी सूचना प्राप्त गर्ने काम भइराखेको छ भन्ने हो।
देशमा बिभिन्न किसिमका अपाङ्गता भएका ब्यक्तिहरू रहेको पाइन्छ। तीमध्ये सुस्त श्रवण भएका व्यक्तिहरू पनि एक हो। सुनाइ अपाङ्ताको कारणले उनीहरूलाई सही सूचना र जानकारी पाउनको लागि कुनै पनि सूचना वा समाचार लिखितरुपमा दिन अति आवश्यकता हुन्छ। साथै टेलिभिजनमा गरिने कुनै पनि समाचारसँगै आएको क्याप्सनिङ्ले सुस्तश्रवण भएका ब्यक्तिहरूको उक्त समाचारको पहुँचको प्रभावकारिता निर्धारण गर्दछ। त्यही अनुसार उनीहरुले सूचना ग्रहण गरिरहेका हुन्छन्। तर विडम्बना, नेपालका कुनै पनि सञ्चार माध्यमसरूमा क्याप्सनिङको ब्यवस्था भएको पाइँदैन।