अमेरिकामा १६ राज्यका २५ सहरमा कर्फ्यु, ८ राज्यमा नेशनल गार्ड तैनाथ

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

अमेरिकामा पाँचौ दिन पनि हिंसात्मक प्रदर्शन जारी छ। प्रदर्शन नियन्त्रण गर्न १६ राज्यका २५ सहरमा कर्फ्यु लगाइएको छ भने ८ राज्यमा नेशनल गार्ड भनिने सैनिक टुकडी परिचालन गरिएको छ। तर, रंगभेदजस्तो संवेदनशील विषयमा भड्केको हिंसाको ज्वाला त्यति सहजै निभ्ने संकेत देखिएको छैन। 

शनिबार अमेरिकाको राजधानी वासिङ्टन डीसीमै प्रदर्शन भएका छन्। प्रदर्शनका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउस नै बन्दाबन्दी गरिएको छ। ह्वाइट हाउस नै बन्दाबन्दी गर्नुपर्ने अवस्था सिर्जना हुनु सामान्य परिस्थिति हुँदै हैन। 

अमेरिकाको राजधानी वासिङ्टनसहित आठ राज्यमा सैनिक प्रहरी भनिने नेशनल गार्ड खटाइएका छन्। नेशनल गार्ड खटाइएका राज्यमा मिन्नेसोटा, जर्जिया, ओहायो, कोलोराडो, विस्कन्सिन, केन्टकी, उटाह र टेक्सास रहेका छन्।

यसैगरी हिंसा भड्केका १६ राज्यका कम्तिमा ३५ सहरका स्थानीय निकायले कर्फ्यु आदेश जारी गरेका छन्। कर्फ्यु जारी गरिएका सहरमा क्यालिफोर्नियाको वेभर्ली हिल्स र लस एञ्जलस, कोलोराडोको डेनभर, फ्लोरिडाको मियामी, जर्जियाको एटलान्टा, इलिनोयको शिकागो, केन्टकीको लुइसभिल, मिन्नेसोटाको मिनियापोलिस र सन्ट पल, न्युयोर्कको रोचेस्टर, ओहायोको सिन्सिनाटी, क्लिभल्याण्ड,कोलम्बस, डेटन र टोलेडो, ओरेगनको युजिन र पोर्टल्याण्ड, पेन्सेल्भेनियाको फिलाडेल्फिया र पिट्सवर्ग, साउथ क्यारोलाइनाको चार्ल्टन र कोलम्विया, टेनेसीको नासभिल, उटाहको साल्ट लेक सिटी, वासिङ्टनको सियाटल र विस्कन्सिनको मिल्वाउकी रहेका छन्। 

 तर, प्रदर्शनकारीको आक्रोशको पारो यति चढेको छ कि उनीहरू केही मान्ने र कसैलाई सुन्ने पक्षमै छैनन्।  

अमेरिकाका ठूला सहरका डाउन टाउनमा कालो रङका मानिसहरू पोखिएका छन्। उनीहरूमा आक्रोश यति चुलिएको छ कि जे भेट्छन् त्यसमा आगो झोसिरहेका छन्। उनीहरूलाई नियन्त्रण गर्न लाखौं सुरक्षाकर्मी तैनाथ गरिएको छ। उनीहरूमाथि अश्रुग्याँस छोडिने क्रम जारी छ। रबरका गोलीहरू चलिरहेका छन्। तर, पनि उनीहरू भनिरहेका छन्, जर्ज फ्लोइडलाई न्याय देऊ ... ब्लाक लाइभ्स म्याटर। मानिसहरू अचम्ममा परिरहेका छन् र आफैंलाई सोधिरहेका छन्, हैन यो अमेरिका त हो ?

प्रदर्शनमा शान्ति भड्काउने अतिवादी समुहको घुसपैठ भएकोले परिस्थिति काबु बाहिर गएको बताइएको छ। हिंसा भड्किएका अधिकांश सहर डेमोक्रेट बहुल सहर रहेका छन्। प्रदर्शनले स्थानीय डेमोक्रेट सत्तालाई असर गर्ने आँकलन ह्वाइट हाउसमा भैरहेको राजनीतिक पण्डितहरू बताइरहेका छन्। उनीहरूको आरोप छ, राष्ट्रपति ट्रम्प सुरूदेखि नै फुटाउ र शासन गर भन्ने मनसायले प्रेरित रहेकाले उनी या त रमिता हेरिरहेका छन्, या त भड्काउ ट्विट गरिरहेका छन्। 

उता, राष्ट्रपति ट्रम्पले भने यो सबै अयोग्य डेमोक्रेट नेतृत्वका कारण भैरहेको आरोप लगाएका छन्।  उनले भनेका छन्, 'यो सबै आफूलाई चुनाव जित्न नदिने प्रपञ्च हो। तर, उनीहरूको चाहनालाई अमेरिकी जनताले असफल पारिदिने छन्।'  

मिन्नेसोटा राज्यको मिनियापोलिसमा अफ्रिकी मुलका अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएपछि अमेरिकामा हिंसा भड्केको हो। हिंसामा परी एक प्रदर्शनकारी र एक प्रहरी अधिकृतको मृत्यु भएको छ भने तोडफोड, आगजनी र लुटपाटबाट खर्बौ डलरको नोक्सानी भैसकेको छ। 

कोरोना महामारीसँग जुधिरहेको अमेरिकाका लागि यो अर्को दुर्भाग्य आइलागेको छ। यो दुर्भाग्यको श्रृंखला कम बेसी मात्रामा कम्तिमा पनि आगामी नोभेम्बर ३ को राष्ट्रपति निर्वाचनसम्म जारी रहने निश्चित छ। त्यसपछि चुनावमा कसले जित्ने हो?, त्यसले पनि धेरै हदसम्म यो दुर्भाग्यको भविष्य निर्धारण गर्ने बताइन्छ।  

प्रकाशित मिति: : 2020-05-31 08:58:46

प्रतिकृया दिनुहोस्