हिंसालाई प्रशंसा गरेको भन्दै ट्विटरले गर्‍याे ट्रम्पकाे ट्विट हाइड’ !

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्विट ट्विटरले ‘हाइड’ गरेको छ।

ट्रम्पले गरेको ट्विट जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्विटर एकाउन्टबाट केही घण्टापछि ट्विट गरिएको थियो। त्यो ट्विट पनि ट्विटरले ‘हाइड’ गरेको हो।

ट्रम्पले हिंसालाई प्रशंसा गरेको वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेकाले ‘हाइड’ गरिएको ट्विटरले जनाएको छ।

‘हाइड’ गरिएको ट्विट क्लिक गरेर हेर्न भने सकिन्छ, तर त्यसमा चेतावनीको संकेत राखिएको छ। सार्वजनिक विचार साचो हुन सक्ने भएकाले ट्विट पहुँचमा राखिएको ट्विटरले जनाएको छ।

ट्विटर र राष्ट्रपति ट्रम्पबिच पछिल्ला दिनमा तनाव उच्च भएको छ। उनको सबैभन्दा प्रिय माध्यम ट्विटरबाट तथ्य–जाँचको चुनौति सामना गर्नु पर्ने नयाँ चुनौति थपिएको छ। 

ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनका बारेमा गरेको भ्रामक ट्विट डिलिट गर्न नमानेपछि ट्विटरले उनका ट्विटमा तथ्य–जाँच राख्न थालेको हो।

अब भने ट्विटरले ट्रम्पले गर्ने ट्विटमा सो विषयको तथ्य–जाँच पनि राखेको छ ट्रम्पले नेपाल समय अनुसार मंगलबार बेलुका गरेको ट्विटमा पहिलो पटक ट्विटरले तथ्य–जाँच प्रस्तुत गरेको हो।

ट्रम्पले लगातार ट्विटरलाई आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन्।

ट्विटरले तथ्य–जाँच राख्न थालेपछि ट्रम्प अति आक्रोशित बनेका छन्। उनले लगातार ट्विट गरेर वाक स्वतन्त्रताको ट्विटरले हनन् गरेको आरोप लगाएका छन्। उनले आफू राष्ट्रपतिका हैसियतमा वाक स्वतन्त्रतामाथि आक्रमण हुन नदिने भन्दै ट्विटरलाई नै चेतावनी दिएका छन्।

उनले यो वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा अब ट्विटरले दखल दिन थालेको समेत गम्भीर आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2020-05-30 09:00:21

प्रतिकृया दिनुहोस्