डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा, अमेरिकाले दिँदै आएको आर्थिक सहयोग विश्व पब्लिक हेल्थमा लगाउने

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन्।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा गरेका हुन्।  ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं। तर आफूलाई सुधार गर्न असफल भयो। आजबाट हामीले डब्ल्यूएचओसँगको सबै नाता तोड्दैछौं।’

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए।

अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो। अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो।

अब डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताएका छन्।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको ट्रम्पले आरोप लगाउँदै आएका छन्। चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको र डब्ल्यूएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ।

ट्रम्पले कोरोना भाइरसलाई चीनको खराब उपहार भन्दै आलोचना गरेका छन्। उनले विश्वका लागि चीनले दिएको खराब उपहार भन्दै ट्विट गरेका छन् जसमा कोरोनाले मार्च गरिरहेको र त्यो राम्रो नभएको जनाएका छन्। उनले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्ल्यूएचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएका छन्।

ट्रम्पले शुक्रबार पनि डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप दोहोर्‍याए। उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ। जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ।’ चीनले डब्ल्यूएचओमा केबल चार करोड डलर दिन्छ।

२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपन्छी बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो। तर कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ। 

यता अमेरिका भने कोरोना भाइरसबाट विश्वमै बढी प्रभावित देश बनेको छ। अमेरिकामा संक्रमणले सबै उमेर समूहमा प्रभाव पारेको छ। एसियन मूलका अमेरिकीमा ४.५ प्रतिशत संक्रमण देखिएको छ भने काला अमेरिकनमा २६.३ प्रतिशतमा संक्रमण देखिएको छ। 

अमेरिकामा कोरोना संक्रमण (काेभिड–१९) का कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ। यस्तै १७ लाख ४५ हजार ६ सय ६ जना संक्रमित छन्।

प्रकाशित मिति: : 2020-05-30 07:21:20

प्रतिकृया दिनुहोस्