भारतबाट स्वदेश फर्कने नेपालीसँग बस व्यवसायीले चर्को भाडा असुली गरे: अन्तर्राष्ट्रिय साझा सद्भाव समूह, भारत

अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले यहाँ रहेको नेपाली स्वदेश फर्कने क्रममा बस व्यवसायीहरुले चर्को भाडा असुली गर्दै आएको गुनासाेप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।  

शुक्रबार अन्तर्राष्ट्रिय साझा सद्भाव समूह, भारतका संयोजक गंगाप्रसाद भट्टराईले एक विज्ञप्ति निकाल्दै भारतमा बन्दाबन्दीले थला परेका प्रवासी नेपालीहरुबाट स्वदेश फर्किने क्रममा चर्को भाडा असुल गरेको विषयमा नेपाली दूतावास दिल्ली चुपचाप देखिएको आरोप लगाएको छ।

‘चर्को भाडा असुली गर्दै आएको यात्रीहरुले गुनासो गरिरहेका छन्। यो खबर जताततै फैलिएपनि सम्बन्धित निकाय भारतका लागि नेपाली दूतावास कार्यालय दिल्ली चुपचाप देखिन्छ। यस विषयमा अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतको गम्भीर ध्यानाकर्षण भएको छ। यदि, यो यथार्थ हो भने अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले यसको घोर भत्र्सना गर्दछ,’विज्ञप्तिमा भनिएको छ। 

यस्तै सद्भाव समूहले व्यवसायमार्फत आर्थिक लाभ लिने अधिकार सबैलाई सुनिश्चित गरिएपनि यस्तो जटिल अवस्थामा मानवीय समवेदनाको ख्याल गर्दै त्यही अनुसारको बस भाडा निर्धारण गर्न व्यवसायीसँग अनुरोध गरेको छ। 

‘व्यवसायमार्फत आर्थिक लाभ लिने अधिकार सबैलाई सुनिश्चित गरिएको छ। त्यो विषयमा साझा सद्भाव समूहको कुनै आपती छैन। तर, यो जटिल अवस्थामा मानवीय समवेदनाको ख्याल गर्दै त्यही अनुसारको बस भाडा निर्धारण गर्न र चर्को शुल्क नअसुल्न बस व्यवसायीसँग हार्दिक अनुरोध गर्दछौं। साथै, यो विषयका सन्दर्भमा सम्बद्ध निकायको ध्यानकर्षण गराउँदछौं,’विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2020-05-29 22:20:49

प्रतिकृया दिनुहोस्