सैनिक हवाई महानिर्देशनालयका पूर्वमहानिर्देशक श्रेष्ठसहित ९ जनाले अनियमितता गरेको ठहर

बिएल संवाददाता

काठमाडाै‌ं

सैनिक हवाई महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा सेनाका अवकाश प्राप्त प्राविधिक उपरथीसहित ८ अधिकृत कारबाहीमा परेका छन्।

अनियमिततामाथि अनुसन्धान सुरु भएपछि मंसिरमा राजीनामा दिएका उपरथी सुधीर श्रेष्ठलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको हो। 

उनीहरुले जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर सैनिक अदालतको छ। 

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार श्रेष्ठले महानिर्देशक रहँदा कानूनतः पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरी ५८ लाख ९५ हजार पाँच सय ९० रुपैयाँ अनियमितता गरेको देखिएको छ। त्यसैले सो रकम असुल उपर गर्न अदालतले आदेश दिएको छ।

अदालतले यो प्रकरणमा ९ जना सैनिक अधिकृतलाई सचेत गराउने फैसला सुनाएको छ। 

सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथी शरद गिरीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड २०७६ साल चैत ४ गते गठन गरिएको थियो ।

उक्त बोर्डको रायसहितको प्रतिवेदनको आधारमा महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी श्रेष्ठसहित १९ जनामाथि सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले जेठ १४ मा फैसला सुनाएको थियो । सो फैसला शुक्रबार सम्बन्धितहरुलाई सुनाईको सेनाले जनाएको छ ।

दोषी ठहरिएका व्यक्तिले पुनरावेदनका लागि ३५ दिनभित्र विशेष अदालतमा निवेदन दिनसक्ने व्यवस्था पनि छ। 

प्रकाशित मिति: : 2020-05-29 21:42:32

प्रतिकृया दिनुहोस्