जेठ महिनाको टन्टलापुर घाम। दिउँसोको समय। घरको दैलो छोड्दा कुमार, फर्किँदा बेहुला बनेर आउने सपना देखेर हिँडेको थिए, एक लक्का जवानले। सँगै थिए बालसखाहरू। १९ जनाको टोली हिड्यो सोतीतिर।
रूकुम पश्चिमको चौरजहारी–८ को सोती गाउँमा दिलका राजकुमार नवराजसहित जन्तीहरूको प्रतिक्षामा थिइन् ‘ठकुरानी’ सुष्मा। दिउँसो १२ बजे रानागाँउबाट शुरू भएको थियो, एथलेटिक्सको मायारूपी दौड। करिब पाँच घण्टाको उकाली, ओरालीपछि गन्तव्य सोती पुग्न खोज्दै थियो।
‘सोचे जस्तो हुन्न जीवन’ भने जस्तै भयो। निष्ठुरी समयको एक सेकेण्डले धोका दियो उसलाई। एथलेटिक्सका खेलाडी उनी (नवराज) र साथिहरू घेरिए जातीय विभेदको जन्जिरमा। सबैजना कथित जात व्यवस्थाका अन्धा मनुष्यहरूको चंगुलमा फसे। अनि शुरू भयो, हिन्दी सिनेमा ‘सोले’ का पात्र गब्बरसिंहको जस्तै पारा। रिल भित्रको त्यो पात्रले गाउँमा गएर लुट्न, कुट्न सके जति गर्छ। तर रियल गब्बरसिंहहरूले कथित तल्लो र माथिल्लो जातका नवराज र किशोरीको पवित्र माया छुटाउन जातपातको सुटिङ सुरू गरे। एक्सन कट शुरू भयो, किशोरीकी आमा ‘प्रकाशी मल्ल’ बाट। सिंगो मानव समाजले गिज्याइएरहेको अहिलेको उत्पन्न परिस्थितिकी खलनायिका उनी नै हुन्।
एकै पटक सय जनाभन्दा बढी हातहतियारसहित ढुंगामुढा गर्न थाले। गिजोल्यो भोको सिंहलेझैं पटकपटक। नवराज सहितको टोली त्यत्रो हुलका अगाडि निरीह भए। उताबाट निरन्तर आक्रमण भइरहयो। भौतिक आक्रमण, ढुंगामुढा र हतियारको प्रयोग र प्रहारले तत्रेका उनीहरुलाई बाँधेर भेरीमा फालिदिए नवराज लगायत अरू पाँच जनालाई मारेर भेरी नदिमा फालियो भिडले कोही भाग्न सफल भए। १२ जनालाई प्रहरीले नियन्त्रणमा लियो।
यसरी एक मायाको पूजारी कथित तल्लो जातको केटा र कथित माथिल्लो जातकी ‘सुष्मा’ बीचको अन्तरजातीय प्रेम कहानी निन्दनीय, अमानवीय र गम्भीर अपराधिक मानसिकताबाट नरसंहारमा परिणत भयो। परिणाम पाँच जनाले ज्यान गुमाए। भेरी नदिमा नवराजहरूको लास मात्रै बगेन जातीय विभेदको पराकाष्ठा सिंगो देशको मानवीय संवेदना बग्यो। सँगै बग्यो विश्वकै उत्कृष्ट भनिएको संविधानको खोष्टो। गोविन्द शाहीको अवस्था अझै अज्ञात छ। तीन वर्ष अघिदेखि झांगिएको सम्बन्धको दुःखत अन्त्य भयो। त्यो पनि कथित अन्तरजातीय प्रेम समन्धका कारणले।
उनीहरू बीचको पहिलो प्रेम एक मेलामा जादा शुरू भयो। दुबैजना त्यो प्रेमलाई विवाहमा परिणत गराउन चाहन्थे। जात नमिलेका कारण सफल हुन सकेन। उसो त उनीहरूको अजर माया प्रेमको श्रृंखला कम संघर्षशील थिएन।
तीन वर्ष पहिला दुई जनाको चिनजान भएको थियो, खेलकुद प्रतियोगिताको क्रममा। कुराकानी हुन थाल्यो। मन पराउन थाले एक अर्कालाई। त्यो दिनको सुन्दर मिलनले सायदै कहिल्यै सोचेको पनि थिएन होला। कि यस्तो दुःखत विछोड हुन्छ भनेर। युवक र किशोरी दुबैजना घर आउजाउ गर्न थाले।
दुवै पक्षका परिवारले थाहा पायो। नवराजको परिवारले सुष्मालाई भनेको थियो, ‘नानी तिमी माथिल्लो जातकी छोरी हामीलाई समाजले अछुत भन्छ। भोलि कसैले पनि राम्रो मान्दैन। छोडिदेउ मेरो छोरोलाई,’ नवराजको प्रेममा लिप्त उनले त्यो कुरालाई बुझेर वा नबुझेर गम्भीरता पुर्वक लिइनन्। एकोहोरो माया मात्रै गरिरहिन्। नवराज पनि केटीको घरमा जाउने जाने गर्थे।
केही महिना अघि पहिलो पटक बेहुला हुने सपना अधुरो भयो। उल्टो केटी पक्षले झ्यालखानासम्म पुर्याइदिए। केही सर्तसहित उनी छुटे। परिवार जति टाढा बनाउन चाहन्थे। उनीहरु झन् नजिकिन थाले।
राज्य सत्ताको सौतेनी व्यवहार गरेको कर्णाली। विकासका दृष्टिले पछि रहेको जाजरकोट, भेरी नगरपालिकाको रानागाउँ, आन्दोलित छ। आक्रोशित छ। निर्दोष कलिला युवाहरुले बेकसुर ज्यान गुमाएका छन्। कुटिकुटी, लखेटीलखेटी अत्य गरिएको छ। त्यसै होइन कथित दलित भएका कारण। उनीहरु दलित भएर जन्मिनु अपराध जस्तै बन्यो। अहिले पनि जातीय विभेदको चिन्तन बोकेको सोतीले कथित उपल्लो जातकी केटीसँग माया प्रेम लगाउनु महापाप बनाइदियो, २१ औं शताब्दीमा पनि।
यही कुराले इतिहासमा सँधै प्रश्न गरिरहने छ। के हिजो वर्गसंघर्षको नाम दिइएको जनयुद्व सत्ता प्राप्तिका लागि मात्रै थियो? के रूकुम पश्चिम जनयुद्वलाई जन्माउने थलोमै खोट थियो? कि जनयुद्व प्रारम्भको पृष्ठभूमिमा नै खोट थियो? वा जनयुद्व ‘सिरोगेसी मदर’ बाट जन्मेको थियो। समयको माग थिएन र? पक्कै थिएन। के ‘जातिवाद, ब्रमह्मणवाद र अहंकारवादबाट प्रेरित मात्रै थियो त? कि जनार्दन शर्मा जस्ता जात पक्षधर नेताहरुले विवेकहीन आवेग थियो?
यसले सोतीको नांगो चित्र देखायो। निवस्त्र भयो माओवादीको कथित जनयुद्व, माटोमा सिमिएको छ १७ हजार नेपालीको बलिदान र सोच्न बाध्य बनाएको छ, सिंगो मानवजातिलाई। कसरी बसिरहेका होलान् कथित दलितहरू, विभेद, असमनता, थिचोमिचो सहेर? त्यहाँ मानव बस्छन् कि दानव? दुर्भाग्य, उही जातीय छुवाछुतमुक्त घोषणा भइसकेको छ।
कागजमा आउने परिणामले प्रतिफल दिँदैन भन्ने योभन्दा अर्को उदाहरण दिइरहनु पर्दैन। जसले त्यहाँको सदियौंदेखिको सामाजिक चिन्तन बोलेको छ। प्रेम र युद्वमा सबै कुरा जायज हुन्छ भनिन्छ। कस्तो प्रकारको सीमा नाघेका थिए उनीहरू दुबैजनाले र जातीय नरसंहार भयो। सोती गाउँ मिलेर गरेको यस्तो घृणित कुकर्मलाई त शब्दले गाली गर्ने ठाउँ पनि छैन। अझै कहिलेसम्म हारिरहने नवराज जस्ता मायाका पूजारीहरूले प्रेमयुद्व? कतिञ्जेलसम्म भोगिरहने ‘रानागाउँ’ हरूले यस्तो नियती? अनि सेती गाउँहरुले कहिलेसम्म चलाउने नरसंहार?