प्रधानमन्त्रीद्वारा नयाँ नक्साबमोजिम पाठ्यपुस्तक फेर्न शिक्षामन्त्रीलाई निर्देशन, अघि बढ्यो काम

काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको भारतले मिच्दै आएको भूभागसमेत समेटेर नयाँ नक्सा जारी गरेपछि शिक्षा मन्त्रालयले त्यही अनुसार पाठ्यक्रम संशोधन गर्ने तयारी अघि बढाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीेले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई परिवर्तित नक्साबमाजिम पाठ्यक्रम संशोधन गर्न निर्देशन दिएपछि उक्त काम अघि बढेको हो ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बिएल नेपाली सेवासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले शिक्षामन्त्री पोखरेललाई पाठ्यपुस्तकमा परिवर्तित नक्साबमोजिम संशोधन गर्न निर्देशन दिएको र सोही बमोजिम मन्त्रालयले काम निकै अघि बढाइसकेको जानकारी आफूलाई प्राप्त भएको बताए । 

शिक्षा मन्त्रालय स्रोतका अनुसार, सार्वजनिक विद्यालयतर्फ कक्षा १ देखि १२ कक्षासम्मका सबै विषयका पाठ्यपुस्तकमा यसअघि नेपालको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्गकिलोमिटरको साटो अब एक लाख ४७ हजार ५१६ वर्ग किलोमीटर बनाइने छ । साथै, पुरानो नक्साको साटो २०७७ साल जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नयाँ नक्सा राखिने छ । 

शिक्षा, विज्ञान तथा प्रविधि यसका लागि पाठ्यक्रम विकास केन्द्रलाई यो निर्देशन दिइसकेको छ भने विश्वविद्यालय र निजी विद्यालयका पाठ्यपुस्तकलाई पनि सोही बमोजिमको पाठ्यक्रम बनाएर पठनपाठन गराउन निर्देशन दिने तयारी गरेको छ । यही आर्थिक वर्षदेखि नेपालको नक्सा र क्षेत्रफल नयाँ पढाउने गरी मन्त्रालयले काम अघि बढाइरहेको छ ।

मन्त्रिपरिषद्ले जेठ ५ गते पारित गरेको उक्त नक्सा जेठ ७ मा सार्वजनिक गरेको थियो । नेपालको नयाँ नक्सालाई संसद्बाट पारित गराउन सरकारले विधेयक समेत दर्ता गरिसकेको छ । 

प्रकाशित मिति: : 2020-05-26 08:11:18

प्रतिकृया दिनुहोस्