पीसीआर रिपाेर्ट नआउँदै शव बुझाउने नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस

काेराेना भाइरस संक्रमितकाे पीसीआर रिपाेर्ट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कारबाही गर्ने जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको छ। 

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।

नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ।
७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।  

पीसीआर जाँचको लागि स्वाब संकलन गरिएकोमा पीसीआर नतिजा नआउँदै शव आफन्तलाई जिम्मा लगाइएको र मृतकको संस्कारसमेत गरिएको थियो। 

यो घटनामा थप छानबिन एवं कारबाही प्रक्रिया अघि बढाउन संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए।

वृद्धको सम्पर्कमा आएका ६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । 

मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको देवकोटाको भनाइ छ । 

यसैबीच वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सी कक्ष सिल गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँ कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ । 

प्रकाशित मिति: : 2020-05-25 18:36:06

प्रतिकृया दिनुहोस्