प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले सोमबार साँझ ५ : ३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्।  त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। 

भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ। ओलीले नयाँ नक्साको कार्यन्वयन र अतिक्रमित भूमी प्राप्तिका लागि आवश्यक राजनीतिक वार्ता र कुटनीतिक पहलमा जोड दिँदै नेपाल-भारतबीचको सम्बन्धका बारेमा महत्वपूर्ण अभिव्यक्ति दिने बुझिएको छ।

थापाका अनुसार प्रधानमन्त्रीले साढे ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लागेका हुन्।

सरकारले कोरोना संक्रमण विस्तार हुन दिन देश लकडाउन गरेको आज ६३ दिन पुगेको छ। आउँदो २० जेठसम्म लकडाउन यथावत् रहने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

लकडाउन शुरू भएपछि यसअघि पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशैभर लकडाउन लागू गरेको थियो। पछिल्लो अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमतिको संख्या ६७५ पुगेको छ। संक्रमितमध्ये ९८ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

यसअघि २०६७ चैत ७ गते पनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2020-05-25 15:48:36

प्रतिकृया दिनुहोस्