५.६ म्याग्निच्युडको भूकम्पले हल्लायो तर न्यूजिल्याण्डकी प्रधानमन्त्री अन्तर्वार्ता दिइरहिन् (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले संकटका बेला पनि नआत्तिएको भन्दै चौतफी वाहवाही बटुलेकी छिन्। सोमबार बिहानै एक टेलिभिजनको लाइभ अन्तरवार्तामा बोलिराख्दा न्यूजिल्याण्डको उत्तर आइल्याण्डमा भूकम्प आएको थियो। 

स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे (नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे) प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा थिइन्।

सोही क्रममा वेलिङ्गटनबाट ९० किलोमिटर उत्तरमा रहेको लेविन नजिकै केन्द्रविन्दू भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको युएस जिओलोजिकल सर्वेले जनाएको छ। भूकम्पको ठूलै धक्का वेलिङ्गटनमा पनि महसुस भएको थियो। भूकम्प १५ सेकेन्डसम्म रहेको थियो ।

ज्यासिन्डाले अन्तर्वार्ता दिँदै गर्दा त्यहाँ पनि धक्काले महसुस भयो, तर उनी शान्त रहिन्। उनले अन्तर्वार्ता दिइरहेको भवन भूकम्प प्रतिरोधी हो।

अन्तर्वार्ता लिँदै गरेका टेलिभिजन प्रस्तोता रायन ब्रिजलाई प्रधानमन्त्री ज्यासिन्डाले भनिन् ,‘हामीले यहाँ भूकम्पको सानो धक्का महसुस गर्यौं।’

उनले सिलिङ र आफ्नो वरिपरि हेरिन्। यद्यपि, उनी आफ्नो स्थानमै अडिग रहिन्। उनले मुस्कुराउँदै भनिन्, ‘सारै सभ्य धक्का महसुस भयो, सामानहरु केही हल्लिरहेका छन्।’ 

लगत्तै अन्तर्वार्ता उही लयमा अघि बढ्यो।  ‘धक्का रोकियो। हामी सबै ठीक छौँ।  म ‘ह्याङ्गिङ लाइट’ को मुनि छैन। संरचनागत रुपमा उपयुक्त ठाउँमा छौँ,’ आफू अन्तरवार्ताको लागि पुनः तयार भएको संकेत गर्दै उनले भनिन्।

न्यूजिल्याण्ड भूकम्पीय गतिविधि अति सक्रिय रहेको क्षेत्रमा पर्छ। त्यहाँ वर्षको १५ हजार भन्दा बढी भूकम्प जान्छ, मात्रै १००–१५० वटा भूकम्प मात्रै महसुस हुने खालका हुन्छन्। भूकम्पले केही क्षती नपुर्याएको बताइएको छ।

प्रकाशित मिति: : 2020-05-25 09:21:32

प्रतिकृया दिनुहोस्